मकवानपुर । मकवानपुरकाे मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीलाई प्राेत्साहन गर्दै काेदाे र धानकाेदाे तथा फापर र जुनेलोको मूल्य निर्धारण गरेपछि खरिद संकलन सुरु गरेकाे छ ।
गाउँपालिकाकाे वडा नम्बर ८ स्थित बुढिचौर स्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्था लिमिटेडले आइतबारबाट कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद गरि संकलन गर्न शुरुवात गरेको हाे । गाउँपालिकाले प्रति केजी एक सय मूल्य तोकिएकाे फापरमा सहकारी संस्थाले १ सय १० मा खरिद गरिएको हाे । जसमा अनुदान रकम समेत थप गरि प्रति केजी १ सय १६ रुपैंयाको दरले कृषकहरुबाट फापर खरिद गरिएको सहकारीका व्यवस्थापक गुन्जरत्न लुङ्वाले जानकारी दिए।
आइतबारबाट खरिद गर्न सुरु गरिएकाेमा पहिलो दिन २१ जना कृषकहरुबाट २ हजार १ सय ७४ केजी फापर खरिद भएको सहकारीका सचिव अजय योन्जनले बताए। सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले यस वर्षदेखि कृषकहरुबाट फापर संकलन शुरुवात गरेकोमा अनुमानित १० मेट्रिक टन खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए ।

गत वर्ष कृषकहरुले प्रति केजी ९० रुपैयामा विक्री गरेको फापर यस वर्ष गाउँपालिकाको अनुदान समेत थप गरि प्रति केजी १ सय १६ रुपैया पाएकोमा स्थानीय कृषक चन्द्र बहादुर लुङ्वाले खुशी व्यक्त गरे । फापर विक्री गर्ने कृषकहरु मध्ये बुढिचौरका लुङ्वाले सबैभन्दा बढी २ सय ६८ केजी फापर विक्री गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नं. ८ का वडा अध्यक्ष कुमार सिं घिसिङ, वडा सदस्यद्वय गोकुल प्रसाद देवकोटा, सूर्यमाया दोङको उपस्थितिमा फापर खरिद तथा संकलनको कार्य शुरुवात गरिएको हो । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीलगायतकाे उपस्थिति रहेको थियो ।
रैथाने बालीकाे समर्थन मुल्य ताेकेर गाउँपालिकाले दियाे अनुदान
मकवानपुर । मकवानपुरकाे हेटौडामा आइचरकाे रिसेल मेला सुरु भएकाे छ । बतास एमए डब्लु कमर्सियल भेइकल प्रालिले आफ्ना ग्राहक लक्षित गर्दै हेटौंडामा रिसेल मेलाको आयोजना गरेको छ ।
बतास एमए डब्लु कमर्सियल भेइकल प्रालि नेपालका लागि आइचर कमर्सियल भेइकलको एकमात्र आधिकारिक वितरक हाे । मेला औपचारिक रुपमा आइतबाटबाट सुरु भएको हो । नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, प्रालिका पूर्व एरिया प्रमुख विजय पुडासैनी र प्रालिकै रिसेल प्रमुख परीक्षण धिमालले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा श्रेष्ठले आइचर ट्रकको विशेषताले ग्राहकले रुचाएकाे बताउँदै विशेष माइलेज र पावर उत्कृष्ट रहेको जानकारी दिए । यस्ता मेलाहरुले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भइ आत्मनिर्भर हुन सक्ने श्रेष्ठले बताए । उनका अनुसार चालकलाई लक्षित गरी २५ लाखको आकस्मिक थप उर्जा दिइने छ । कार्यक्रम आइतबार ८ पुषबाट पुष १० गतेसम्म संचालन हुने छ । ‘प्रालिले ग्राहकहरुको आवश्यकता महसुस गर्दै यस्ता कार्यक्रम समयसमयमा गर्ने गरेकाे छ’ पूर्व एरिया प्रमुख पुडासैनीले भने ‘जसका कारण नेपाल सहित विश्व बजारमा आइचर ग्राहकहरुको रोजाइमा पर्ने गरेको हाे ।’
यसअघि आइचरले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको उनले बताए । क्यासलेस योजनामार्फत् दुर्घटना भएको अवस्थामा आइचर मोटरका खरिदकर्ताहरुले बतास एमएडब्लु आधिकारिक सर्मिस सेन्टरहरुमा पुगेर गाडि मर्मत वा बीमा रकम दावी गर्न सक्ने उनको भनाई छ ।
क्यासलेस इन्स्योरेन्स अन्तरगत ग्राहकहरुले सवारी साधन दुर्घटनामा परेको खण्डमा सोझै आइचरको ओर्क सपमा गई मर्मत गराउन सक्ने र ग्राहकले बीमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने जनाइएको छ । बाँकी रकम बीमा कम्पनी र प्रालिबीच कारोबार हुने छ । तीनदिनसम्म सञ्चालन हुने मेलामा ५ सय भन्दा बढी ग्राहकहरुले अवलोकन गर्ने आयोजकले जनाइएको छ ।
मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिका अपाङ्गता भएकाे व्यक्तिकाे घरै नागरिकता पुर्याइएकाे छ । योसँगै १ जना मानसिक तथा शारीरिक अपाङ्गता भएका व्यक्तिले नेपाली भएकाे पहिचान पाएका छन् ।
नागरिकता पाए पछि ती व्यक्तिले सरकारबाट पाउने अन्य सुविधा लिन सहज हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मानसिक तथा शारीरिक अपाङ्गता भएका बागमती गाउँपालिका ४ का १ जना पुरुषकाे घरमै पुगेर नागरिकता प्रदान गरेकाे हाे । बागमती ४ का १७ वर्षीय मानसिकरूपमा पूर्ण अपाङ्ग भएका एक पुरुषलाई उनको घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरिएकाे मकवानपुरले जनाएकाे छ ।
नागरिकता प्रमाणपत्र लिनकाे लागि ती पुरुषलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यालयसम्म ल्याउन नसिकने अवस्था भएकाले उनकाे घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलले बताए । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत पौडेल, नायब सुब्बा मदन श्रेष्ठ सहितको टोली उनको घरमै पुगेर नेपाली नागरिकताकाे प्रमाणपत्र प्रदान गरेका हुन् ।
मकवानपुर । विभिन्न प्रलोभनमा भारत पुर्याइएका ८ जना बालक उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ । विभिन्न प्रलोभनमा परी बालश्रम गर्न भारत पुर्याइएकाे उनीहरुलाई ग्रामीण विकास केन्द्र रौतहट र सामुदायिक विकास तथा सचेतना नेपालकाे समन्वयमा उद्धार गरि शनिबार नेापलमा अभिभावककाे जिम्मा लगाइएकाे हाे ।
ग्रामीण विकास केन्द्र, रौतहट र सामुदायिक विकास तथा सचेतना नेपाल, मकवानपुरले, राष्ट्रिय बाल अधिकार परिषद र मिसन रेसक्यू अपरेशन इन्डीयाको समन्वयमा बालकलाई भारतबाट उद्धार गरी नेपाल ल्याएर अभिभावककाे जिम्मा लगाएकाे हो । उद्धार गरि ल्याइएका बालकहरु शनिबारनै जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरी प्रमुख, र राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधि लगायतका सरोकार वालाहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले बताए ।
उद्धार गरेका बालकहरु सवै रौतहटका छन् । जसमध्य राजपुर नगरपालिकाका २ जना, स्नाथ नगरपालिका २ जना, दुर्गा भगवती गाँउपालिकाका २ जना र गढीमाई नगरपालीकाका २ जना छन् । बालकहरु ६ देखि ८ महीना पहिले विभिन्न प्रलोभनमा परि चिनजानका आफन्तहरुबाट नै भारत पुगेका बानियाँले जानकारी दिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा मिसन रेसक्यू अपरेशन इन्डीयाले भारतीय प्रहरीको सहायतामा गत अगस्टमा उद्धार गरेको थियो ।
ग्रामीण विकास केन्द्र रौतहटका प्रतिनिधि कुमारी ममता झा र सामुदायिक विकास तथा सचेतना नेपालको कार्यकारी निर्देशक दिलिप कोइराला, सचिव अनन्त बानिया भारतको मुम्बई पुगी बाल कल्याण समीति मुम्बई शहर–२ र महिला तथा बालबालिका विभागसँग छलफल तथा समन्वय गरि बालकहरुलाई नेपाल ल्याई अभिभावकको जिम्मा लगाएका हुन् । १७ वर्ष मुनिका बालललाई १२ देखि १८ घण्टासम्म काममा लगाउने र काम गरे बापतको पैसा माग्दा रेल स्टेशनमा ल्याएर छोड्ने जस्ता शोषण गरिएकाे बताइएकाे छ ।
६ महीना अघि घरमा खबर नगरी सम्पर्क विहीन भएको छोरालाई खोजी गर्दै जादाँ १ महिना अघिमात्र भारतको बालगृहमा छ भन्ने खबर पाएका एक अभिभावक नुसरत बेगम छोरालाई भेट्दा खुसी हुदै अव घरमै राखेर पढाउने २५ वर्ष नपुगेसम्म बाहिर काममा नपठाउने बताउछिन् । सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी दिलीप कोइरालाका अनुसार अझै भारतका विभिन्न बालगृहमा बालश्रममा परेका ६ बालकहरु रहेको र उनीहरुलाई नेपाल फर्काउन कागजी प्रक्रिया पुरा गर्ने काम भइरहेकाेले चाडै नेपाल फर्काइने छ ।
मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएकाे छ । आजबाट पुष २८ गतेसम्म सडक बन्द रहने छ । बिहान १२ देखि दिउँसो ४ बजेसम्म सडकमा सवारी साधन चलाउन नपाइने भएको हाे ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएकाे छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । जसकाे कारण चितवन र तनहुँ जिल्लातर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान ११ : ३० बजेसम्म मात्र चलाउन पाइने छ । काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान ११:५५ सम्म तथा मालवाहक सवारी सधान ११ : ४५ सम्म मात्र चलाउन पाइने छ । यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान ११ : ५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान ११ : ४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ ।
उक्त सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । यसैगरी उक्त अवधीमा सवारी साधन चलाउँदा लेन अनुशासन कायम राख्न तथा जथाभावी ओभरटेक नगर्न समेत ट्राफिक प्रहरीले अनुराेध गरेकाे छ । उक्त अवधीमा ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।
