मकवानपुर । नेकपा एमाले मकवानपुरले कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । एमाले जिल्ला कमिटी मकवानपुरकाे पुष ११ देखि १३ सम्म हुने पूर्ण बैठक संग संगै प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरि कार्यकर्तालाई प्रशिक्षण गरिने भएको हो ।
पार्टी महासचिव शंकर पाेखरेलले पुस ११ गते पार्टीकाे दशाैँ महाधिवेशनकाे कार्यदिशा अनुसार जिल्ला कमिटीकाे पूर्ण बैठकलाई सम्बाेधन गर्दै प्रशिक्षण दिने एमाले जिल्ला कमिटी मकवानपुरका सचिव नवीन सिग्देलले जानकारी दिए । ३ दिन सम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले माक्र्सवादी दृष्टिकाेण, संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले संगठन निर्माण, व्यवस्थापन तथा परिचालन, स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठनबीतकाे अन्तरसम्बन्ध र परिचालन, स्थायी कमिटी सदस्य राजन भट्टराईले भू-राजनीतिक र परराष्ट्र सम्बन्धमा प्रशिक्षण दिने सिग्देलले बताए ।
यस्तै स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश ईञ्चार्ज गुरु वरालले समृद्व नेपाल र सुखी नेपाली, पाेलिटव्यूराे सदस्य तथा मकवानपुर ईञ्चार्ज देवि ज्ञवालीले समृद्व मकवानपुर सम्बन्धी अवधारणा, पाेलिटव्यूराे सदस्य ईश्वरी रिजालले मिसन ८४ काे कार्यभार, पाेलिटव्यूराे सदस्य तथा बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले पार्टी र जनप्रतिनिधिबीचकाे अन्तरसम्बन्ध, बालकृष्ण देउजाले सूचना प्रविधि प्रयाेग र महत्व/प्रशिक्षण शैलीबारे प्रशिक्षण दिने कार्यक्रम रहेको सचिव सिग्देलले बताए ।
जिल्ला कमिटी बैठकले संगठन सम्बन्धी विशेष कार्ययाेजना बनाउने र प्रशिक्षण कार्यक्रम पश्चात् पार्टी र जनसंगठनकाे विभिन्न तहमा जिल्लाव्यापी रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले बताए । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ४० जना सहभागी हुने बताईएकाे छ ।
खेलकुद तथा व्यापार महोत्सवः प्रमोदले नचाए हेटौंडेली दर्शक
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडामा सञ्चालन भैरहेको खेलकुद तथा व्यापार महोत्सवमा सोमबार गायक प्रमोद खरेलले हेटौडेलीलाई नचाएका छन् । खरेलकाे सांगीतिक प्रस्तुति सुन्न हेटौडामा दर्शकहरुको भीड लागेको थियो ।
युवा पुस्ताले निकै रुचाएका गायक खरेलले महाेत्सवकाे आफ्ना करिब एक दर्जन गीत गाएका थिए । महोत्सवका दर्शकहरुले नाच्दै र गाउँदै उनलाई साथ दिएका थिए । सोमबार खरेलसंगै गायिका सहिमा श्रेष्ठ, गायक असिमकुमार कटुवाल र जादुगर बलराम सरकारको प्रश्तुती रहेको थियो । महोत्सवमा मंगलबार लोक गायक पशुपति शर्मा, लोक गायिका ज्योति मगरसहित मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङ लगायतको प्रश्तुती रहने आयोजकले जनाएको छ ।
प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहँदै आएको महोत्सवमा दैनिक दर्शकको उपस्थिति बढ्दै गएकाे आयोजकले जनाएकाे छ । पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा २६० वटा विभिन्न स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्यान लगायत राखिएको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्ने बताइएकाे छ ।
बृहत् खेलकुद तथा व्यापार महोत्सवः राष्ट्रिय तेक्वान्दोमा ज्योति डोजाङ प्रथम
Tags: No Comments
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत सोमबार भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ज्योति तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
१२ वटा तौल समूहमा भएको प्रतियोगितामा ज्योतिले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित पहिलाे भएको हो । ३ स्वर्ण र एक काश्यसहित किरणचोक तेक्वान्दो डोजाङ द्वितीय भएको छ भने २ स्वर्ण, ४ रजत र एक काश्यसहित क्रियटिभ डोजाङ तृतीय भएको छ ।
पशुपति डोजाङले २ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ भने माउण्ट एभरेष्ट डोजाङले १ स्वर्ण र एक रजत जितेको छ । यस्तै टिसिएन डोजाङले एक स्वर्ण र एक रजत, जेनिथ डोजाङले ५ कास्य र ज्ञानोदय डोजाङले २ कास्य जितेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा मकवानपुरको ८ वटा डोजाङले सहभागिता जनाएका थिए ।
विजेता खेलाडीहरुलाई नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, ६ नम्बर वडा अध्यक्ष विष्णु दाहाल, ८ नम्बर वडा अध्यक्ष राम थापा, ९ नम्बर वडा अध्यक्ष शुकराम केसी, १० नम्बर वडा अध्यक्ष फुर्वादोर्जे लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्की, पूर्व अध्यक्ष सानु लामा लगायतले पुरस्कार वितरण गरेका हुन् । महोत्सवमा दैनिक विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भैरहेको छ ।
महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधाका खेलमा स्पर्धा सैचालन हुनेछ । महोत्सव आयोजक समितिका संयोजक तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजना भएको महोत्सवमा सबै क्षेत्रको सहयोग प्राप्त भैरहेको बताए ।
पर्सा । नेशनल मेडिकल कलेज विरगंजमा इण्डोमेट्रिओमाको सफल शल्यक्रिया गरिएकाे छ । मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको हाे ।
महिनाबारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रिओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको कलेजले जनाएकाे छ ।
कलेजका चिकित्सक डा.प्रविण शाह, डा.रुवी श्रेष्ठ, रेजिडेन्ट डा.सरोज यादव, डा.स्नेहा श्रेष्ठको टीमले लामो समयदेखि इण्डोमेट्रिओमाबाट पीडित युवतीको उपचार गरेको हो । कलैया घर भएकी ती युवती लामो समयदेखि अनियमित महिनाबारी हुने तथा महिनाबारीका समयमा अत्याधिक पेट दुख्ने समस्याबाट पिडित थिइन् । उनी ५ महिना अगाडी नै नेशनल मेडिकल कलेजमा उपचारका लागि आएकी थिइन् । उनले काठमाडौंमा समेत गएर स्वास्थ्य जाँच गराउँदा अप्रेसन गर्न सल्लाह दिइएको थियो । त्यसपछि उनी नेशनल मेडिकल कलेजमै उपचार गरेकी हुन् ।
‘उहाँ ५ महिना अगाडी नै आउनु भएको थियो । विचमा काठमाडौं पनि जानुभयो । नेशनल मेडिकल कलेजमै ल्याप्रोस्कोपी विधिबाट अप्रेसन हुन्छ भनेपछि उहाँहरु यहीँ आउनु भयो, हामीले ३ वटा प्वाल पारेर ८.८ समीको सिस्ट निकाल्यौं ।’ शल्यक्रियामा संलग्न डा.प्रविण साहले बताए । अप्रेसनमा कलेजका एनेस्थेसियाका डा.असिम गौडेल, रेजिडेन्ट डा.मेलिना असप्रित तथा ओटी स्टाफ इब्राहिम अन्सारीले सहयोग गरेका थिए ।
कुनैपनि महिलाहरुमा अनियमित महिनाबारी छ, महिनाबारी हुँदा अत्याधिक पेट दुख्न भने डिम्बासयमा इण्डोमेट्रिओमाको जोखिम हुन्छ । ‘महिनाबारी हुँदा अत्याधिक पेट दुखिरहन्छ, महिनाबारी गडबड छ भने दुखाई कम गर्ने औषधीमात्र खाएर बस्नु हुँदैन । विशेषज्ञ डाक्टरलाई देखाउनु पर्छ ।’ अनियमित महिनाबारी हुने सय जना महिनाहरुमा १० प्रतिशतलाई इण्डोमेट्रोमाको जोखिम हुने डा. साहले बताए ।
स्त्री तथा प्रसुति सेवाका लागि अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकहरु रहेको नेशनल मेडिकल कलेजकी डाइरेक्टर नुसरत जहाँ अन्सारीले बताइन् । मधेश प्रदेसकै टर्सरी स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

मकवानपुर । साहित्यकार, मुक्तककार प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह’चुटुक्क’ शनिबार सार्वजनिक भएको छ । शनिवार राजधानीको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त मुक्तक संग्रहको लोकार्पण गरिएको हो ।
नेपाली शिक्षा परिषद् (लेखनाथ साहित्य सदन) सोह्रखुट्टे, काठमाडौंमा शनिबार डा. रेणुका सोलु, ममता मृदुल, ज्ञवालीकी आमा मुक्तककार ज्ञवाली लगायतले मुक्तक संग्रहको विमोचन गरेका हुन् । नेपाल वेद विद्याश्रमका पाँच वटुकहरूको स्वस्ति वाचनबाट शुरू भएको कार्यक्रममा कल्पना काफ्लेले ‘चुटुक्क’ बारे समीक्षा गरेकी थिइन् ।
हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन प्रसाद नेपालले समूह सार्वजनिक कृति बारे जानकारी गराएका थिए । साहित्यिक संघ संस्थाका प्रतिनिधिसहित सम्मिलित कार्यक्रमको सञ्चालन साहित्यकार भुवन सिवाकाेटी चौघरेले गरेका थिए । सर्जकलाई कृतिगत शुभकामना सहित साहित्यिक सर्जकहरुले विमोचित कृति चुटुक्कबाट केही मुक्तक वाचन गरेका थिए ।
ज्ञवालीको यस अघी गत साल भाद्र ११ गते कविता संग्रह “अनुभूतिको इन्द्रेनी” सार्वजनिक भएको थियाे । उनका गीतहरू “आफ्नो त मन छ माइतीघरतिरै (तीज गीत २०७५) ” र “तिमी मेरो पूजा (प्रणय गीत २०७७)” युट्युबमार्फत प्रसारित छन् । उनका बिबिसि, साहित्यपोस्ट, हिमालय टाइम्स, कान्तिपुर, नेपाल समाचारपत्र, नेपालनाम्चा, सहीखबर, संसारन्यूज, वैजयन्ती साहित्यिक पत्रिका, हाम्रो पुरुषार्थ, नारी, कल्पतरु, दायित्व आदि विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा विभिन्न समसामयिक विषयसित सम्बन्धित लेख रचनाहरू प्रकाशित भएका र हुँदै गरेका छन् ।
कम्बोडियालाई कर्मभूमि बनाएकी आत्रेय प्रवासमा रहेर साहित्यसँगै ज्योतिष फलादेशको माध्यमबाट पनि समाजसेवा क्रियाशील छिन् । उनी नेपालकै पहिलो नारी राशिफल लेखिका पनि हुन् । हामी र हाम्रो कृति समूहकी आजीवन सदस्य रहेकी उनको पछिल्लो कृति ‘चुटुक्क’ समूहको नवौं कृतिका रूपमा सार्वजनिक भएको हो ।
