मकवानपुर । साहित्यकार, मुक्तककार प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह’चुटुक्क’ शनिबार सार्वजनिक भएको छ । शनिवार राजधानीको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त मुक्तक संग्रहको लोकार्पण गरिएको हो ।
नेपाली शिक्षा परिषद् (लेखनाथ साहित्य सदन) सोह्रखुट्टे, काठमाडौंमा शनिबार डा. रेणुका सोलु, ममता मृदुल, ज्ञवालीकी आमा मुक्तककार ज्ञवाली लगायतले मुक्तक संग्रहको विमोचन गरेका हुन् । नेपाल वेद विद्याश्रमका पाँच वटुकहरूको स्वस्ति वाचनबाट शुरू भएको कार्यक्रममा कल्पना काफ्लेले ‘चुटुक्क’ बारे समीक्षा गरेकी थिइन् ।
हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन प्रसाद नेपालले समूह सार्वजनिक कृति बारे जानकारी गराएका थिए । साहित्यिक संघ संस्थाका प्रतिनिधिसहित सम्मिलित कार्यक्रमको सञ्चालन साहित्यकार भुवन सिवाकाेटी चौघरेले गरेका थिए । सर्जकलाई कृतिगत शुभकामना सहित साहित्यिक सर्जकहरुले विमोचित कृति चुटुक्कबाट केही मुक्तक वाचन गरेका थिए ।
ज्ञवालीको यस अघी गत साल भाद्र ११ गते कविता संग्रह “अनुभूतिको इन्द्रेनी” सार्वजनिक भएको थियाे । उनका गीतहरू “आफ्नो त मन छ माइतीघरतिरै (तीज गीत २०७५) ” र “तिमी मेरो पूजा (प्रणय गीत २०७७)” युट्युबमार्फत प्रसारित छन् । उनका बिबिसि, साहित्यपोस्ट, हिमालय टाइम्स, कान्तिपुर, नेपाल समाचारपत्र, नेपालनाम्चा, सहीखबर, संसारन्यूज, वैजयन्ती साहित्यिक पत्रिका, हाम्रो पुरुषार्थ, नारी, कल्पतरु, दायित्व आदि विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा विभिन्न समसामयिक विषयसित सम्बन्धित लेख रचनाहरू प्रकाशित भएका र हुँदै गरेका छन् ।
कम्बोडियालाई कर्मभूमि बनाएकी आत्रेय प्रवासमा रहेर साहित्यसँगै ज्योतिष फलादेशको माध्यमबाट पनि समाजसेवा क्रियाशील छिन् । उनी नेपालकै पहिलो नारी राशिफल लेखिका पनि हुन् । हामी र हाम्रो कृति समूहकी आजीवन सदस्य रहेकी उनको पछिल्लो कृति ‘चुटुक्क’ समूहको नवौं कृतिका रूपमा सार्वजनिक भएको हो ।

