मकवानपुर । माध्यमिक तहस्तरीय मुक्तक प्रतियोगितामा स्वरुपा गुरागाईं प्रथम भएकी छिन् । मुक्तक मञ्च मकवानपुरले मंगलबार आयोजना गरेको मुक्तक प्रतियोगितामा हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयकी स्वरुपा गुरागाईं प्रथम भएकी हुन ।
हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा भएको
प्रतियोगितामा हेटौंडा-५ स्थित जीएस निकेतनकी नित्यश्री अधिकारी द्वितीय र हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयकी रोशिका भट्टराई तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा हेटौंडा-१० स्थित तुलसीमेहर मेमोरियल स्कूलकी अनसुया खनाल र अमर माध्यमिक विद्यालयकी समृद्धि बर्तौलाले सान्त्वना स्थान हासिल गरेका छन् । सान्त्वना हुने दुबै जनाले १/१ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले ‘असल समाज निर्माणमा विद्यार्थीको दायित्व एवम् जिम्मेवारी’ विषयलाई आधार मानी लेखेका मुक्तक वाचन गरेका थिए । मुक्तक मञ्चको ३४ औं मुक्तक वाचन श्रृङ्खलाअन्तर्गत माध्यमिक तहस्तरीय मुक्तक प्रतियोगिता आयोजना गरिएको मञ्च मकवानपुर अध्यक्ष सागर तिमल्सिनाले बताए ।
मुक्तक मञ्च अध्यक्ष तिमल्सिनाको सभाध्यक्षता तथा हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
मकवानपुर । सुर्तीजन्य पदार्थको प्रयोगको कारण नेपालमा हरेक वर्ष करिब ३९ हजार मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अधिकृत लक्ष्मण घिमिरेले विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिनुभएको हो।
सुर्तीजन्य पदार्थ सेवनका कारण हुने मृत्युमध्ये करिब २८ प्रतिशत मृत्यु मुटु सम्बन्धी रोगका कारण हुने गरेको बताउनुभयो। उहाँका अनुसार धूम्रपान सुरु गर्ने औसत उमेर १७.७ वर्ष रहेको छ, जसले युवापुस्तामा बढ्दो जोखिमलाई संकेत गर्छ।
यस वर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको नारा “सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं” रहेको जानकारी दिँदै उहाँले बजारमा उपलब्ध करिब १६ हजार प्रकारका स्वादयुक्त निकोटिन तथा धूम्रपानजन्य उत्पादनले विशेषगरी युवालाई आकर्षित गरिरहेको बताउनुभयो।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट विश्वभर हरेक वर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये करिब १२ लाख व्यक्तिले आफैं धूम्रपान नगरे पनि अरूले गरेको धूम्रपानको धुवाँका कारण ज्यान गुमाउने गरेका छन्।
हालको अवस्था कायम रहे सन् २०३० सम्म सुर्तीजन्य पदार्थका कारण हुने वार्षिक मृत्यु संख्या एक करोड पुग्ने अनुमान गरिएको छ।
नेपालले सुर्तीजन्य पदार्थका प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश लागू गरेपछि Bloomberg Philanthropies Award प्राप्त गरेको उल्लेख गर्दै हाल २०८२ भदौ १ गतेदेखि १०० प्रतिशत चेतावनीमूलक सन्देश लागू गरिएको छ।
घिमिरेले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐनअनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ती सेवन निषेध गरिएको सूचना टाँस्नुपर्ने व्यवस्था भए पनि कार्यान्वयन पक्ष अझै प्रभावकारी बन्न नसकेको बताउनुभयो।
मकवानपुर । विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज हेटौंडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिर जाने बाटो क्षेत्रमा विरुवा रोपिएको छ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातका १०० भन्दा बढी फूलको विरुवाहरू रोपिएको हो।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको उपस्थितिमा हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, हेटौंडा उपमहानगरपालिका वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, वातावरण शाखा प्रमुख हिमप्रसाद पौडेल, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारी, उपमहासचिव एवं कार्यक्रम संयोजक देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ का अध्यक्ष यज्ञ बहादुर आचार्यलगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नगर प्रमुख मिना कुमारी लामाले वृक्षारोपण केवल विरुवा रोप्ने कार्य मात्र नभई भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने महत्वपूर्ण अभियान भएको बताइन्। उनले वातावरण संरक्षणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै रोपिएका विरुवाको संरक्षणमा स्थानीय समुदाय, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरूले विशेष जिम्मेवारी लिनुपर्ने बताइन्।
नगरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने अभियानमा उपमहानगरपालिका निरन्तर लागिरहेको उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष एवम् टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई केवल औपचारिकतामा सीमित नगरी व्यवहारिक रूपमा वातावरण संरक्षणका गतिविधिहरू सञ्चालन गरिएको बताए। उनले गत वर्ष विश्व वातावरण दिवस तथा अन्य अवसरहरूमा यस क्षेत्रमा रोपिएका बिरुवाहरू स्थानीय समुदायको संरक्षण र अपनत्वका कारण राम्रो अवस्थामा रहेको उल्लेख गर्दै यस वर्ष थप क्षेत्रमा वृक्षारोपण गरिएको जानकारी दिए।
वातावरण संरक्षण सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै उनले रोपिएका विरुवाहरूको दीर्घकालीन संरक्षणका लागि स्थानीय बासिन्दा, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरूले प्रतिबद्धता व्यक्त गरेको बताए।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ नगर निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका विविध गतिविधिहरूले वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
वृक्षारोपण कार्यक्रमले पाथीभरा मन्दिर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न र हरियाली विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
मकवानपुर । मकवानपुरको ऐतिहासिक ढुङ्गेगढीमा गोरख बहादुर गण सुपारेटारले ढुङ्गेधारा निर्माण गरेको छ ।
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं. २ ढुङ्गेगढीमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटनहरूले पिउने पानीमा भोग्दै आएको समस्यालाई मध्ये नजर गर्दै गोरख बहादुर गणले ५ हजार लिटर क्षमताको पानी ट्याङ्की सहित आधुनिक ढुङ्गेधारा निर्माण गरेको हो ।
ढुङ्गेगढीको ऐतिहासिक महत्वलाई उजागर गरि आन्तरिक पर्यटनमा वृद्धि तथा स्थानीय समुदायको आवश्यकता पहिचान गर्दै सैनिक नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजना अन्तर्गत गणले उक्त कार्य गरेको गणपति प्रमुख सेनानी रविन्द्र कुमार श्रेष्ठले बताउनुभयो।
नव निर्मित ढुङ्गेधारा आज मध्य पृतना हेड क्वाटरका पृतनापति उपरथी विष्णु कुमार खड्काले मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, वडा अध्यक्ष बखान सिं पाख्रिनलाई सयुक्त रुपमा हस्तान्तरण गर्नुभयो।
हस्तानान्तरण कार्यक्रममा नम्बर ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विक्रम गुरुङ्ग, नम्बर ७ बाहिनी अड्डाका प्रमुख सेनानी झलक लामा, सशस्त्र प्रहरी बल नं. १४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निवन कुमार खड्का, ईलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी निरीक्षक धर्मेश कुमार यादवलगायतको उपस्थिति रहेको गणपति श्रेष्ठले बताउनुभयो ।

यस स्थानमा पिउने पानीको व्यवस्थापन भएपछि आन्तरिक तथा बाह्यपर्यटनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । सडक निर्माणमा समेत समन्वय गरिने लामाले बताउनुभयो ।
कार्यक्रममा ढुङ्गेगढी टोल विकास समितिका अध्यक्ष सुधारजित गोले, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, बागमती प्रदेश पत्रकार महासंघ संस्थापक अध्यक्ष प्रताप बिष्ट, मकवानपुरगाढी पत्रकार समाजको संस्थापक अध्यक्ष सरिता दाहाल समेतको उपस्थिति रहेको थियो ।
हेटौंडाबाट कान्तिराजपथ हुँदै झण्डै २० किलोमीटर यात्रापछि जितपुर पुगिन्छ । जितपुरबाट २ किलोमिटर कच्चि (ट्रयाकमात्रै खोलिएको) बाटोको यात्रापछि ढुङ्गेगढी पुग्न सकिन्छ । नेपाल ऐकिकरणको महत्त्वपूर्ण इतिहास बोकेको ढुङ्गेगढीसम्म पुग्ने सहज तथा व्यवस्थित सडकको लागि स्थानीय सरकारले कम चासो दिएको गुनासो छ।
मकवानपुर । विश्व वातावरण दिवस २०८३ को अवसरमा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएकाे हाे ।
कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवर्द्धक राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो। उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका नसर्ने रोगहरूलाई नियन्त्रण गर्न स्वस्थ खानपान, स्थानीय उत्पादनको प्रयोग र प्राकृतिक जीवनशैली आवश्यक रहेको बताउनुभयो। “भान्सा नै पहिलो औषधालय” भएकाेले भान्सामा प्रयोग हुने बेसार, अदुवा, लसुन, तुलसी, मेथी लगायतका सामग्रीहरू औषधीय गुणले भरिपूर्ण रहेको उहाँले बताउनु भयो ।
४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएकाले स्वस्थ खानपान, सरसफाइ र हरियाली प्रवर्द्धनलाई स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो। स्वस्थ नागरिक निर्माणका लागि जनचेतनामूलक कार्यक्रम अत्यन्त प्रभावकारी हुने उहाँले बताउनुभयो। समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सहभागी सबैलाई सिकेका कुराहरू व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवहारिक परिवर्तनसँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन र स्वस्थ जीवनशैली निर्माणमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । “स्वस्थ भान्सा, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणको आधार हो,” भन्दै उहाँले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ सहित नगरभित्रका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, गरी ४०० जनाभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान तथा अनुभवलाई आफ्नो दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार विश्व वातावरण दिवस २०८३ को अवसरमा वातावरण संरक्षण, सरसफाइ तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका विविध कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।