मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाँउसभाकाे १५ औं अधिवेसनमा २ जना पत्रकारसहित दर्जन बढी व्यक्ति र संघसंस्थालाई सम्मान गरेकाे छ ।
सोमबार भएकाे गाउँसभाकाे अधिवेशनमा गाउँपालिकामा बसाेबास गर्ने चेपाङ समूदाय र राक्सिराङको समग्र विकासको विषयमा सञ्चारक्षेत्र मार्फत पुर्याएकाे याेगदानकाे कदर गर्दै पत्रकारद्वय पोष्टराज अधिकारी (नयाँपत्रिका) र सुनिता विष्ट (नेपाल खबर डटकम) सम्मान गरेको हाे ।
हरेक वर्ष हिउँदे अधिवेसनमा दुई जना सञ्चारकर्मीलाई सम्मान गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए । गर्तौलाका अनुसार विभिन्न सामाजिक क्षेत्रका सक्रिय रहेकालाई पनि पालिकाले सम्मान गर्दै आइरहेका छ । पालिकाले कलाकारतर्फ हिमाल घिमिरे, खेलाडीतर्फ विक्रम मुक्तान, भाषा साहित्यतर्फ प्रदीप बालाचन, महिला उद्यमी तर्फ विनिता दोङलाई समेत सम्मान गरेकाे थियो ।
गाउँसभामा कर्मचारीतर्फ महिला विकास निरीक्षक गोमा पन्थी, प्राविधिक कर्मचारी नरबहादुर गाहा, वडा सचिव भावना कंडेल, कार्यालय सहयोगी प्रदीप थिङ, अवकाश प्राप्त कर्मचारी निशिथ प्रसाद शर्मालाई सम्मान गरिएको थियो । त्यस्तै, स्वास्थ्यतर्फ कर्मचारी स्वास्थ्यकर्मी अन्जना प्रजा, कार्यालय सहयोगी सविना घलान, स्वंमसेविका अनिता थिङ, अवकाश प्राप्त स्वंमसेविका वीपीमाया मुक्तान, गंगा कुमारी ठकुरी र तोकसानी थिङ, शिक्षा क्षेत्रतर्फ विद्यालय व्यवस्थापन समितिमा आधारभूत विद्यालय, शिक्षक तर्फ दित बहादुर घलान, एसईई उत्कृष्ट छात्रा सोनी मगर र छात्र लवोन दोर्जे दोङलाई सम्मान गरिएको गर्तौलाले जनाकारी दिए ।
सामाजिक संघसंस्थातर्फ कुडुले महिला कृषि तथा श्रम सहकारी संस्था, दुईचोक डाँडा पर्यटन प्रवर्द्धन उपभोक्ता समिति, जन्मभूमि एकीकृत कृषि तथा पशुपन्छी फर्म, राष्ट्रिय जन वकालत मञ्च नेपाल, राक्सिराङ आईटीएफ तेक्वान्दो डोजाङ सम्मानित भएका छन् ।
मकवानपुर । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सहयोगको लागि ३३ करोड ७३ लाख उपलब्ध गराएको छ ।
मन्त्रालयको तर्फबाट चालु आवको हालसम्मको प्रगती विवरण सञ्चारकर्मीमार्फत सार्वजनिक गर्दे यो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले बढदै गएको चिसो मौसमलाई मध्यनजर गर्दै विभिन्न स्थानीय तहका सिमान्तकृत समूदायलाई न्यानो फाईबर सिरक वितरणदेखि भुकम्प पीडितलाई अन्तरप्रदेश सहयोगसम्मको काम गरेको दाबी गरेको छ ।
मनसुनजन्य विपद् प्रभावित नीजि आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यविधि, २०७७ र आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यविधि, २०७८ बमोजिम प्रदेश सरकारको हिस्सा वापत जम्मा १ हजार ३३७ लाभग्राहीलाई ३ करोड १७ लाख १० हजार प्रदान गरिएको मन्त्री गंगानारायण श्रेष्ठले बताए ।
यसैगरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई राहत वितरण प्रयोजनार्थ १० लाख र सिन्धुलीकै गोलन्जोरमा वेश स्थापना सहयोगको लागि ५ लाख ९६ हजार प्रदान गरिएको छ ।
प्रदेश सरकारले बहुवर्षीय आयोजना (विपद् गुल्म भवन निर्माण, सुरक्षाकर्मी आवास गोदामघर काभ्रे) को निर्माण अन्तिम चरणमा रहेको,बागमती प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० तयार गरि स्वीकृत भएको, विपद् व्यवस्थापन सम्बन्धी सचेतना फैलाउने उदेश्यले चितवनको रत्ननगर नगरपालिकामा आगलागी सम्बन्धि सैद्धान्तिक र प्रयोगात्माक कक्षा मार्फत सामुदायिक विद्यालय र स्थानीय वासीहरुसँग सचेतनामुलक कार्यक्रम गरिएको जनाएको छ।
यसै गरी अन्तरप्रदेश सहयोग स्वरुप कर्णाली प्रदेशमा प्रभावित भुकम्प पीडितलाई खोज उद्धार, उपचार, राहत तथा पुनस्र्थापनाको लागि १ करोड ५० लाख प्रदान गरिएको मन्त्री श्रेष्ठले बताए । विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय तहहरुलाई २ करोड ३५ लाख प्रदान गरिएको छ ।
यो अवधिमा प्रदेश सरकारले ऐन २, कार्यविधि ७, नियमावली २ (संशोधन सहित), मापदण्ड २, आदेश १ (संशोधन) गरी १४ ओटा कानून राजपत्रमा प्रकाशन गरिएको छ । १९ वटा क्रमागत र ५ वटा नयाँ प्रहरी ईकाई भवनको बहुवर्षीय सुनिश्चिता पश्चात निर्माणका लागि जम्मा २६ करोड ५५ लाख रुपैंया बागमती प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी एकाईहरुलाई अख्तियारी प्रदान गरिएको उनले बताए ।
यसैगरी यसै आवमा ८ वटा प्रहरी भवनको उद्घाटन गरिएको उनले बताए । द्वन्द्वपीडितका लागि सवलिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सन्चालन सम्वन्धी कार्यविधि २०८०, जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८० यूवा सचेतना कार्यक्रम सन्चालन कार्यविधि २०८०, स्थानीय न्यायीक सहजकर्ता नियुक्ति तथा परिचालन सम्वन्धी कार्यविधि, २०८० तर्जुमा गरेको छ ।
यस्तै प्रदेशका ४ सय ४० जना पत्रकारहरुको सामुहिक दुर्घटना बीमा लागु गरेका छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सञ्चार रजिष्ट्रार कार्यालय तर्फ ८ लाख ८० हजार २ सय ४ रुपैया राजस्व संकलन भएको कार्यक्रममा श्रेष्ठले बताए ।
मन्त्रालयमले सिन्धुलीको घ्याङलेख गाँउपालिका वडा नं. २ को सिमान्तकृत थामी जातीको ९३ घर परिवारलाई १ सय ८६ थान, कमलामाई नगरपालिका वडा नं. १ का लोपोन्मुख १ सय २० हायु परिवारलाई २४० थान, मरिण गाँउपालिका वडा ७ मा अतिसिमान्तकृत थामी जातिका ५१ घर परिवारलाई १ सय २ थान, सुनकोशी गाउँपालिका वडा २ का लोपन्मुख हायु जातिका २३ घरधुरीलाई ४६ थान, मनहरी गाउँपालिका वडा ४ वनकरिया जातिका २२ घरधुरीलाई ४४ थान, हरिहरपुरगढी गाउँपालिका वडा नं. २ सिमान्तकृत पहरी समुदायका ४८ घरधुरीलाई ४८ थान गरी ६ स्थानीय तहका ३ सय ५७ घरधुरीलाई ६ सय ६६ थान सिरक सहयोग गरेको हो ।
मकवानपुर । राष्ट्रिय सभाको निर्वाचनको लागि बागमती प्रदेशमा रिक्त रहेको ४ पदको लागि १५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
जसमा दलितबाट १ पदको लागि ३ जनाको उम्मेदवारी परेको छ भने, महिला, अपाङ्ग र अन्य कोटाबाट १/१ पदका लागि ४/४ जनाको उम्मेदवारी परेको छ । राप्रपाले दलित कोटामा उम्मेदवार बनाएन ।
सत्तागठबन्धन दल (नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी), नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराइएको हो ।
एमालेबाट रोजकुमारी चौलागाई (दोलखा जिल्ला महिला कोटा) विवेक देवकोटा (काठमाडौ जिल्ला अपाङ्ग कोटा) ध्रुब विश्कर्मा (धादिङ जिल्ला दलित कोटा) त्रिलोचन निर्मल पौडेल (चितवन जिल्ला अन्य कोटा) को मनोनयन दर्ता भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस विष्णुदेबी पुडासैनी (काठमाडौ जिल्ला,महिला कोटा) नेपाली कांग्रेसबाट जितजंग बस्नेत (ललितपुर जिल्ला, अन्य कोटा) माओवादीकेन्द्रबाट श्रीकृष्ण प्रसाद अधिकारी (नुवाकोट जिल्ला) नेकपा एसबाट घनश्याम रिजाल (दोलखा जिल्ला, दलित कोटा) ले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टीले पनि ४ जनाको उम्मेदवारी दर्ता गराएको छ । जसमा हिमालयश्वर लाल मुल (भक्तपुर जिल्ला, अपाङ्ग कोटा) श्रीकृष्ण महर्जन (काठमाडौ जिल्ला, अन्यकोटा) संगिता नेपाली (भक्तपुर जिल्ला दलित कोटा) कृष्ण लक्ष्मी दुवाल (भक्तपुर जिल्ला महिला कोटा) ले मनिनयन दर्ता गरेको मकवानपुरका जिल्ला न्यायाधीश तथा राष्ट्रिय सभा निर्वाचन अधिकृत श्रीप्रसाद संजेलले बताए ।
यसैगरी राप्रपा नेपालबाट हेमजंग गुरुङ (लमजुङ जिल्ला, अन्य कोटा), बालकुमारी डल्लाकोटी (मकवानपुर जिल्ला महिला कोटा), भरतमणी भट्ट (चितवन जिल्ला, अपाङ्ग कोटा) को उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त निर्वाचन अधिकारी तारा प्रसाद आचार्यका अनुसार बागमती प्रदेशमा ३ सय ३७ जना मतदाता रहेका छन् । हेटौंडामा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राविधिक शिक्षालयको भवनमा मतदान केन्द्र तय गरिएको छ ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले ३ जना मुक्तककारलाई सम्मान गर्ने भएकाे छ । मञ्चले मकवानपुरे मुक्तककार बिर्खे अन्जानसहित पाेखराका दीपक समीप, हरिकृष्ण काफ्लेलाई सम्मान गर्ने भएकाे छ ।
इन्दिरादेवी स्मृति मुक्तक सम्मान, २०८० बाट मकवानपुरकाे थाहा नगरपालिकाका बिर्खे अञ्जान सम्मानित हुने भएका छन् । उक्त सम्मानको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ। गत वर्ष उक्त सम्मानबाट माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगिता विजेता समर्पण न्यौपाने सम्मानित भएका थिए ।
मुक्तक मञ्च मकवानपुर अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित बहादुरानन्द स्मृति मुक्तक सम्मान, २०८० बाट पोखराका मुक्तककार दीपक समिपलाई सम्मानित गरिने भएकाे छ । उक्त सम्मानको राशि ७ हजार ७ सय ७७ रुपैया रहेको छ । गत वर्ष उक्त सम्मानबाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित भएका थिए ।
यसैगरी मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्ना बाबुको स्मृतिमा स्थापित तारा स्मृति मुक्तक सम्मान, २०८० रौतहटका मुक्तककार हरिकृष्ण काफ्लेलाई सम्मानित गरिनेछ । उक्त सम्मानको राशि ७ हजार ५ सय रुपैया रहेको छ । गत वर्ष सो सम्मानबाट मकवानपुरका देवराज खरेल सम्मानित भएका थिए ।
मकवानपुर । राष्ट्रिय सभाको निर्वाचनको लागि बागमती प्रदेशमा उम्मेदारी दर्ता सुरु भएको छ । निर्वाचन कार्यालयले दिएको समय अनुसार २ वटा दलले उम्मेदारी दर्ता गराएको छ ।
एमालेबाट महिलाबाट राेजकुमारी चाैलागाई (दाेलखा) अन्यबाट विवेक देवकाेटा (काठमाडौ) दलितबाट ध्रुव विश्कर्मा (धादिङ) अपाङ्गताबाट त्रिलाेचन निर्मल पाैडेल (चितवन)को मनोनयन दर्ता गरेका छन् ।
यसैगरी नेमकिपा अपाङबाट हिमालयश्वर मुल (भक्तपुर) अन्यबाट श्रीकृष्ण महर्जन (काठमाडौ) दलितबाट संगिता नेपाली (भक्तपुर) महिलाबाट कृष्ण लक्ष्मी दुवाल (भक्तपुर) ले मनिनयन दर्ता गरेको मकवानपुरका जिल्ला न्यायाधीश तथा राष्ट्रिय सभा निर्वाचन अधिकृत श्रीप्रसाद संजेलले बताए ।
गठवन्धनबाट नेपाली कांग्रेस विष्णुदेवि पुडासैनि (काठमाडौ,महिला) नेपाली कांग्रेसबाट जितजंग वस्नेत (ललितपुर, अन्य) माओवादीकेन्द्रबाट श्रीकृष्ण अधिकारी (नुवाकोट) नेकपा एसबाट घनश्याम रिजाल (दोलखा) ले मनोनयन दर्ताको लागि निर्वाचन कार्यालय परिसरमा रहेका छन् ।
यसैगरी राप्रपा नेपालबाट हेमजंग गुरुङ बालकुमारी डल्लाकोटी(महिला), भरतमणी भट्ट (अपाङ्ग) र पुर्णबहादुर बिश्वकर्मा (दलित) उम्मेदवार रहने पार्टी जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त निर्वाचन अधिकारी तारा प्रसाद आचार्यका अनुसार बागमती प्रदेशमा ३ सय ३७ जना मतदाता रहेका छन् । हेटौंडामा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राविधिक शिक्षालयको भवनमा मतदान केन्द्र तय गरिएको छ ।
यस्तो छ मतभार
आउँदो माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी तीब्र बनाइएसँगै मतपरिणाममा प्रभाव पार्न दौडधुपमा जारी छ ।
१९ सिटका लागि हुन लागेको निर्वाचनमा बागमती प्रदेशमा चार सिटको निर्वाचन हुनेछ । एमालेबाट २, एकिकृत समाजवादीबाट १ र स्वतन्त्रबाट १ वटा पद रिक्त हुँदैछ । प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद फागुन २० गतेबाट रिक्त हुदैछ ।
यस अघि नै निर्वाचन हुनुपर्ने व्यवस्था अनुसार माघ ११ मा निर्वाचन हुँदैछ । रावल महिला, राई अपांगता/अल्पसंख्यक, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए। अब ती चार वटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।
सत्ता गठबन्धन दलको दबदबा रहेको बागमतीमा राष्ट्रिय सभामा पनि यिनै दलका मतदाताहरूको संख्या धेरै छ। प्रदेश सभातर्फ हेर्ने हो भने पनि ११० सांसदमध्ये सत्ता गठबन्धन दलमा आवद्ध तीन दलको संख्या मात्रै ६५ सिट छ । अहिले बागमती प्रदेशमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्।
हाम्रो नेपाली पार्टीका २ सांसद्को साथ पनि प्रदेश सरकार अर्थात् सत्ता गठबन्धनलाई नै छ। यो दलको समेत संख्या जोड्ने हो भने बागमतीमा सत्ता गठबन्धनको ६७ प्रदेश सभा सदस्य छन्। यसैगरी यि बाहेक विपक्षी दल नेकपा एमालेको २७, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ३ सिट छ ।
निर्वाचनको लागि तयारी तिव्रता बनाइदै गर्दा उम्मेदवारी दर्ता नभएसम्म प्रत्येक समूहबाट निर्वाचित हुनका लागि कति उम्मेदवार हुन्छन्, त्यो अहिल्यै आकलन गर्न सकिँदैन। तर कुल मतभारको बहुमत अर्थात् ५ हजार १७७ मत भए जित सुनिश्चित हुन्छ। जसका लागि प्रदेश सभामा रहेका हाम्रो नेपाली पार्टीका २ सांसद बाहेक पनि ६५ सांसदको ५३ मतभारले प्रदेशतर्फ मात्रै ३ हजार ४४५ मतभार हुन आउँछ ।
यता, सत्ता बाहिर रहेका एमाले, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ४५ सांसद छन् । बागमती प्रदेश सभातर्फ ५३ मतभारले प्रतिपक्षी दलहरुको कुल मतभार २ हजार ३८८ मात्रै हुन आउँछ। प्रदेश सभा तर्फ कुल ११० सांसदको ५ हजार ८३० मतभार छ।
यता बागमती प्रदेशमा रहेका ११९ स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २३८ हो । प्रदेशको दोलखाको गौरीशंखर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते हृदयाघातका कारण मृत्यु भएपछि यो सङ्ख्या पनि घटेको छ ।
अब एक मतदाता संख्या कम हँदा बागमती प्रदेशको कुल मतदाता २३७ छ । मतभार १९ रहेको स्थानीय जनप्रतिनिधिको बागमतीमा ४ हजार ५०३ मतभार हुन आउँछ ।
जसमा स्थानीय तहतर्फ सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका १०७, माओवादी केन्द्रको ५७, नेकपा एकीकृत समाजवादीका ९ जनप्रतिनिधि छन्। सत्ता गठबन्धनमा आवद्ध १७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभारले ३ हजार २८७ मतभार हुन आउँछ।
यसबाहेक प्रतिपक्षमा रहेका नेकपा एमालेका ६०, र अन्य ४ दलका जनप्रतिनिधि गरी ६४ जना छन्। जसमा प्रतिपक्षी दलहरूको १ हजार २१६ मतभार हुन आउँछ। यसरी बागमती प्रदेशको ११९ स्थानीयतहको कुल मतभार ४ हजार ५०३ रहेको छ।
प्रदेशको ५ हजार ८३० र स्थानीय तहको ४ हजार ५०३ मतभार गरेर यहाँ कुल मतभार १० हजार ३३३ हुनेछ। बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ। उनीहरूले साझा उम्मेदवार तय गरेमा उक्त उम्मेदवारले जित्ने सम्भावना बलियो देखिन्छ । किनकी, उल्लेखित तीनवटा पार्टीसँग मात्रै ६ हजार ७७० मत छ ।
प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमाले र अन्य दल मिलेर उम्मेदवार तय गरेपनि कुनै सिट जित्ने मतभार छैन । एमालेको मात्रै पनि बागमती प्रदेशसभामा २७ सांसदको १ हजार ४३१ मत छ भने स्थानीय तहका ६० जनप्रतिनिधिको १ हजार १४० गरी कुल बागमती प्रदेशमा २ हजार ५७१ मात्रै मत छ। त्यसमा राप्रपालगायतका दलहरुको साथ रहदाँ समेत जितकोे सम्भावना कम रहेको विश्लेषकहरु बताउँछन् ।
तर यो निर्वाचनका केन्द्रमा सत्ता गठबन्धनसँगै प्रतिपक्षी एमालेले समेत मिलेर जाने आन्तरिक गृहकार्य गरिरहेको छ । राष्ट्रिय सभा निर्वाचनमा दलहरू कसरी जान्छन्, त्यो भने अझै हेर्न बाँकी छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सर्वदलीय बैठक, सुरक्षा व्यवस्थालगायतको तयारीलाई तिव्रता दिइएको छ ।




