मकवानपुर । राष्ट्रिय सभाको निर्वाचनको लागि बागमती प्रदेशमा उम्मेदारी दर्ता सुरु भएको छ । निर्वाचन कार्यालयले दिएको समय अनुसार २ वटा दलले उम्मेदारी दर्ता गराएको छ ।
एमालेबाट महिलाबाट राेजकुमारी चाैलागाई (दाेलखा) अन्यबाट विवेक देवकाेटा (काठमाडौ) दलितबाट ध्रुव विश्कर्मा (धादिङ) अपाङ्गताबाट त्रिलाेचन निर्मल पाैडेल (चितवन)को मनोनयन दर्ता गरेका छन् ।
यसैगरी नेमकिपा अपाङबाट हिमालयश्वर मुल (भक्तपुर) अन्यबाट श्रीकृष्ण महर्जन (काठमाडौ) दलितबाट संगिता नेपाली (भक्तपुर) महिलाबाट कृष्ण लक्ष्मी दुवाल (भक्तपुर) ले मनिनयन दर्ता गरेको मकवानपुरका जिल्ला न्यायाधीश तथा राष्ट्रिय सभा निर्वाचन अधिकृत श्रीप्रसाद संजेलले बताए ।
गठवन्धनबाट नेपाली कांग्रेस विष्णुदेवि पुडासैनि (काठमाडौ,महिला) नेपाली कांग्रेसबाट जितजंग वस्नेत (ललितपुर, अन्य) माओवादीकेन्द्रबाट श्रीकृष्ण अधिकारी (नुवाकोट) नेकपा एसबाट घनश्याम रिजाल (दोलखा) ले मनोनयन दर्ताको लागि निर्वाचन कार्यालय परिसरमा रहेका छन् ।
यसैगरी राप्रपा नेपालबाट हेमजंग गुरुङ बालकुमारी डल्लाकोटी(महिला), भरतमणी भट्ट (अपाङ्ग) र पुर्णबहादुर बिश्वकर्मा (दलित) उम्मेदवार रहने पार्टी जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त निर्वाचन अधिकारी तारा प्रसाद आचार्यका अनुसार बागमती प्रदेशमा ३ सय ३७ जना मतदाता रहेका छन् । हेटौंडामा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राविधिक शिक्षालयको भवनमा मतदान केन्द्र तय गरिएको छ ।
यस्तो छ मतभार
आउँदो माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी तीब्र बनाइएसँगै मतपरिणाममा प्रभाव पार्न दौडधुपमा जारी छ ।
१९ सिटका लागि हुन लागेको निर्वाचनमा बागमती प्रदेशमा चार सिटको निर्वाचन हुनेछ । एमालेबाट २, एकिकृत समाजवादीबाट १ र स्वतन्त्रबाट १ वटा पद रिक्त हुँदैछ । प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद फागुन २० गतेबाट रिक्त हुदैछ ।
यस अघि नै निर्वाचन हुनुपर्ने व्यवस्था अनुसार माघ ११ मा निर्वाचन हुँदैछ । रावल महिला, राई अपांगता/अल्पसंख्यक, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए। अब ती चार वटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।
सत्ता गठबन्धन दलको दबदबा रहेको बागमतीमा राष्ट्रिय सभामा पनि यिनै दलका मतदाताहरूको संख्या धेरै छ। प्रदेश सभातर्फ हेर्ने हो भने पनि ११० सांसदमध्ये सत्ता गठबन्धन दलमा आवद्ध तीन दलको संख्या मात्रै ६५ सिट छ । अहिले बागमती प्रदेशमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्।
हाम्रो नेपाली पार्टीका २ सांसद्को साथ पनि प्रदेश सरकार अर्थात् सत्ता गठबन्धनलाई नै छ। यो दलको समेत संख्या जोड्ने हो भने बागमतीमा सत्ता गठबन्धनको ६७ प्रदेश सभा सदस्य छन्। यसैगरी यि बाहेक विपक्षी दल नेकपा एमालेको २७, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ३ सिट छ ।
निर्वाचनको लागि तयारी तिव्रता बनाइदै गर्दा उम्मेदवारी दर्ता नभएसम्म प्रत्येक समूहबाट निर्वाचित हुनका लागि कति उम्मेदवार हुन्छन्, त्यो अहिल्यै आकलन गर्न सकिँदैन। तर कुल मतभारको बहुमत अर्थात् ५ हजार १७७ मत भए जित सुनिश्चित हुन्छ। जसका लागि प्रदेश सभामा रहेका हाम्रो नेपाली पार्टीका २ सांसद बाहेक पनि ६५ सांसदको ५३ मतभारले प्रदेशतर्फ मात्रै ३ हजार ४४५ मतभार हुन आउँछ ।
यता, सत्ता बाहिर रहेका एमाले, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ४५ सांसद छन् । बागमती प्रदेश सभातर्फ ५३ मतभारले प्रतिपक्षी दलहरुको कुल मतभार २ हजार ३८८ मात्रै हुन आउँछ। प्रदेश सभा तर्फ कुल ११० सांसदको ५ हजार ८३० मतभार छ।
यता बागमती प्रदेशमा रहेका ११९ स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २३८ हो । प्रदेशको दोलखाको गौरीशंखर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते हृदयाघातका कारण मृत्यु भएपछि यो सङ्ख्या पनि घटेको छ ।
अब एक मतदाता संख्या कम हँदा बागमती प्रदेशको कुल मतदाता २३७ छ । मतभार १९ रहेको स्थानीय जनप्रतिनिधिको बागमतीमा ४ हजार ५०३ मतभार हुन आउँछ ।
जसमा स्थानीय तहतर्फ सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका १०७, माओवादी केन्द्रको ५७, नेकपा एकीकृत समाजवादीका ९ जनप्रतिनिधि छन्। सत्ता गठबन्धनमा आवद्ध १७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभारले ३ हजार २८७ मतभार हुन आउँछ।
यसबाहेक प्रतिपक्षमा रहेका नेकपा एमालेका ६०, र अन्य ४ दलका जनप्रतिनिधि गरी ६४ जना छन्। जसमा प्रतिपक्षी दलहरूको १ हजार २१६ मतभार हुन आउँछ। यसरी बागमती प्रदेशको ११९ स्थानीयतहको कुल मतभार ४ हजार ५०३ रहेको छ।
प्रदेशको ५ हजार ८३० र स्थानीय तहको ४ हजार ५०३ मतभार गरेर यहाँ कुल मतभार १० हजार ३३३ हुनेछ। बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ। उनीहरूले साझा उम्मेदवार तय गरेमा उक्त उम्मेदवारले जित्ने सम्भावना बलियो देखिन्छ । किनकी, उल्लेखित तीनवटा पार्टीसँग मात्रै ६ हजार ७७० मत छ ।
प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमाले र अन्य दल मिलेर उम्मेदवार तय गरेपनि कुनै सिट जित्ने मतभार छैन । एमालेको मात्रै पनि बागमती प्रदेशसभामा २७ सांसदको १ हजार ४३१ मत छ भने स्थानीय तहका ६० जनप्रतिनिधिको १ हजार १४० गरी कुल बागमती प्रदेशमा २ हजार ५७१ मात्रै मत छ। त्यसमा राप्रपालगायतका दलहरुको साथ रहदाँ समेत जितकोे सम्भावना कम रहेको विश्लेषकहरु बताउँछन् ।
तर यो निर्वाचनका केन्द्रमा सत्ता गठबन्धनसँगै प्रतिपक्षी एमालेले समेत मिलेर जाने आन्तरिक गृहकार्य गरिरहेको छ । राष्ट्रिय सभा निर्वाचनमा दलहरू कसरी जान्छन्, त्यो भने अझै हेर्न बाँकी छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सर्वदलीय बैठक, सुरक्षा व्यवस्थालगायतको तयारीलाई तिव्रता दिइएको छ ।





