मकवानपुर । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सहयोगको लागि ३३ करोड ७३ लाख उपलब्ध गराएको छ ।
मन्त्रालयको तर्फबाट चालु आवको हालसम्मको प्रगती विवरण सञ्चारकर्मीमार्फत सार्वजनिक गर्दे यो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले बढदै गएको चिसो मौसमलाई मध्यनजर गर्दै विभिन्न स्थानीय तहका सिमान्तकृत समूदायलाई न्यानो फाईबर सिरक वितरणदेखि भुकम्प पीडितलाई अन्तरप्रदेश सहयोगसम्मको काम गरेको दाबी गरेको छ ।
मनसुनजन्य विपद् प्रभावित नीजि आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यविधि, २०७७ र आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना कार्यविधि, २०७८ बमोजिम प्रदेश सरकारको हिस्सा वापत जम्मा १ हजार ३३७ लाभग्राहीलाई ३ करोड १७ लाख १० हजार प्रदान गरिएको मन्त्री गंगानारायण श्रेष्ठले बताए ।
यसैगरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई राहत वितरण प्रयोजनार्थ १० लाख र सिन्धुलीकै गोलन्जोरमा वेश स्थापना सहयोगको लागि ५ लाख ९६ हजार प्रदान गरिएको छ ।
प्रदेश सरकारले बहुवर्षीय आयोजना (विपद् गुल्म भवन निर्माण, सुरक्षाकर्मी आवास गोदामघर काभ्रे) को निर्माण अन्तिम चरणमा रहेको,बागमती प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० तयार गरि स्वीकृत भएको, विपद् व्यवस्थापन सम्बन्धी सचेतना फैलाउने उदेश्यले चितवनको रत्ननगर नगरपालिकामा आगलागी सम्बन्धि सैद्धान्तिक र प्रयोगात्माक कक्षा मार्फत सामुदायिक विद्यालय र स्थानीय वासीहरुसँग सचेतनामुलक कार्यक्रम गरिएको जनाएको छ।
यसै गरी अन्तरप्रदेश सहयोग स्वरुप कर्णाली प्रदेशमा प्रभावित भुकम्प पीडितलाई खोज उद्धार, उपचार, राहत तथा पुनस्र्थापनाको लागि १ करोड ५० लाख प्रदान गरिएको मन्त्री श्रेष्ठले बताए । विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय तहहरुलाई २ करोड ३५ लाख प्रदान गरिएको छ ।
यो अवधिमा प्रदेश सरकारले ऐन २, कार्यविधि ७, नियमावली २ (संशोधन सहित), मापदण्ड २, आदेश १ (संशोधन) गरी १४ ओटा कानून राजपत्रमा प्रकाशन गरिएको छ । १९ वटा क्रमागत र ५ वटा नयाँ प्रहरी ईकाई भवनको बहुवर्षीय सुनिश्चिता पश्चात निर्माणका लागि जम्मा २६ करोड ५५ लाख रुपैंया बागमती प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी एकाईहरुलाई अख्तियारी प्रदान गरिएको उनले बताए ।
यसैगरी यसै आवमा ८ वटा प्रहरी भवनको उद्घाटन गरिएको उनले बताए । द्वन्द्वपीडितका लागि सवलिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सन्चालन सम्वन्धी कार्यविधि २०८०, जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८० यूवा सचेतना कार्यक्रम सन्चालन कार्यविधि २०८०, स्थानीय न्यायीक सहजकर्ता नियुक्ति तथा परिचालन सम्वन्धी कार्यविधि, २०८० तर्जुमा गरेको छ ।
यस्तै प्रदेशका ४ सय ४० जना पत्रकारहरुको सामुहिक दुर्घटना बीमा लागु गरेका छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सञ्चार रजिष्ट्रार कार्यालय तर्फ ८ लाख ८० हजार २ सय ४ रुपैया राजस्व संकलन भएको कार्यक्रममा श्रेष्ठले बताए ।
मन्त्रालयमले सिन्धुलीको घ्याङलेख गाँउपालिका वडा नं. २ को सिमान्तकृत थामी जातीको ९३ घर परिवारलाई १ सय ८६ थान, कमलामाई नगरपालिका वडा नं. १ का लोपोन्मुख १ सय २० हायु परिवारलाई २४० थान, मरिण गाँउपालिका वडा ७ मा अतिसिमान्तकृत थामी जातिका ५१ घर परिवारलाई १ सय २ थान, सुनकोशी गाउँपालिका वडा २ का लोपन्मुख हायु जातिका २३ घरधुरीलाई ४६ थान, मनहरी गाउँपालिका वडा ४ वनकरिया जातिका २२ घरधुरीलाई ४४ थान, हरिहरपुरगढी गाउँपालिका वडा नं. २ सिमान्तकृत पहरी समुदायका ४८ घरधुरीलाई ४८ थान गरी ६ स्थानीय तहका ३ सय ५७ घरधुरीलाई ६ सय ६६ थान सिरक सहयोग गरेको हो ।

