हेटौंडामा क्षेत्रीको एकल कविता वाचन
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा कवि अमृत क्षेत्रीको एकल कविता वाचन कार्यक्रम भएको छ ।
फर्क साहित्यिक अभियानको आयोजनामा शुक्रबार पोखराका युवा कवि तथा निबन्धकार क्षेत्रीको एकल कविता वाचन तथा उनको निबन्ध संग्रह यादको कोलाजमाथि चर्चा भएको हो । अभियानले हेटौंडामा गरेको यो पहिलो कार्यक्रम हो ।
युवापुस्ताको बलशाली कवि क्षेत्रीले एक दर्जन कविता सुनाएका थिए । फर्क अभियानका अभियान्ता क्षेत्रीले कार्यक्रमको पहिलो सत्रमा १ दर्जन कविता सुनाए । अर्को सत्रमा उनको निबन्ध कृति “यादकाे काेलाज” माथि समिक्षात्मक टिप्पणी समेत गरिएको थियो । सर्जक संजाल मकवानपुर संयोजक निमेष निखिलले क्षेत्रीको निबन्ध संग्रह यादको कोलाजमाथि समिक्षात्मक टिप्पणी गरेका थिए ।
फर्क अभियानले कार्यक्रम बिना अध्यक्ष, बिना अतिथिपनि संचालन गर्न सकिन्छ भनेर पहिलो कार्यक्रम त्यसरी शुरुआत गरेका अभियान्ता बैकुण्ठ लामिछानेले बताए । पछिल्लो समय केही युवाहरूको सहभागितामा फर्क साहित्यिक अभियान चलिरहेको छ । फर्क अभियानमा कवि अमृत क्षेत्री स्वयम् एक अभियन्ताका रुपमा सक्रिय रहेका छन् ।
कार्यक्रममा अभियान्ताहरु सागर तिमल्सिना, सम्प्रस पौडेल, सानू खनाल, रमेश रसिक,स्वस्तिका बानियाँ, अजर फुयाल,अमृता लामिछाने, सुवास सजलको उपस्थिति रहेको थियो ।
मकर काव्य यामिनीले जुराएको देवघाटधाम दर्शन
Tags: No Comments

आपटारी, जहाँबाट देवघाटको यात्रा सुरु भयो
हरेक वर्ष मकर संक्रान्ति अर्थात माघे संक्रान्तिमा पवित्र धार्मिकस्थल एवम् आध्यात्मिक क्षेत्र देवघाटधाम धार्मिक मेला परापूर्व कालदेखि लाग्दै आएको छ । यस दिन देवघाटमा सबै देवताहरु आउँछन् भन्ने धार्मिक मान्यता छ, विश्वास छ । त्यसैले पनि उक्त धार्मिक क्षेत्रमा देशै भरका भक्तजन स्नाननार्थ, पुजापाठ र मेला भर्न आउँछन् ।
सानो छदाँ बुबासँग साथ लागेर १ पटक गएको मात्रै याद छ, त्यो पलको स्मरण अहिले धेरै छैन । बुझ्ने भएपछि १५ वर्ष अघि म र मेरी जीवन साथी (सरिता दाहाल) माघ १ गते विहान पुगेथ्यौ । बिहान हेटौंडाबाट छुटेर दिउँसो फर्किएका थियौ, त्यो पल पनि खासै घुमघाम र ज्ञान आर्जन गर्न भ्याइएन । तर, यसपालीको यात्रा अली फरक रह्यो ।पुसको अन्तिम साता चितवनका साथी लेखराम सापकोटाले मकर काव्य यामिनी २०८० को निमन्त्रणा फेसबुक मार्फत पठाउनु भयो । सुरुमा त परिवार छोडेर एक्लै के तिर्थस्थल जानु लागेको थियो । साना छोराछोरीको लागि रात्री कालिन बसाइ व्यवस्थापन गर्न समस्या हुने भएपछि सपरिवार देबघाट पुग्ने रहर पूरा हुन सकेन (सायद कुनै दिन जुर्नेछ) ।
प्रिय मित्र लेखरामजीलाई ढिलो गरि २७ पुसमा कन्फ्रमेशन दिएँ ‘मेलामा म मात्रै आउंछु ।’ उहाँले खुसी प्रकट गर्नुभयाे । हरेक वर्ष पुष २९ गतेकाे रात्रीकालिन समयमा आयोजना हुँदै आएको मकर काव्य यामिनी फरक खालको काव्य प्रस्तुती रहेको मनले ठहर्यायो साथमा भोलीपल्ट त्रिशुली र कालिगण्डकीको संगम वेणीमा स्थान गर्न पाइने हुँदा साहित्यसँगै पुण्य कर्म गर्न पाइने भएपछि मकर संक्रान्तीको लागि २९ गते बेलुका ५ बजेसम्म नारायणगढ पुग्ने पक्कापक्की गरें। सोही कुरा लेखराम जीसँग गरेको उहाँले त्यो भन्दा १ घण्टा छिटो नारायणगढ आइपुग्न सुझाउनु भयो । नारायणघाटबाट पैदलै देवघाटसम्म जाने उहाँको मनसाय रहेछ । म पनि हिड्न रुचाउनु भएकोले अब यात्रामा हामी दुई मात्रै होइनौ भन्ने लाग्यो ।
एउटा छुट्टै रमाइलो हुने कल्पना गर्दै यात्रामा लागे पुस २९ गते आइतबार । हेटौंडाबाट २ बजे चितवनको यात्रा सुरु गरें । माघे संक्रान्तिको कारण बस निकै भिड थियो । यात्राभर बसले बाटोबाट सकेजती यात्रु चढाउदै अघि बढ्यो । म भने बसमा चढ्ने यात्रुभन्दा पनि मन भरी मकर काव्य यामिनी अनि मकर स्नानको कल्पना गर्दै पैदल जाने समुहको चित्र बनाउदै रमाइलो मान्दै रहे । करिब २ घण्टाको यात्रापछि भरतपुरको पारस बसपार्क बसले गन्तव्य सोझिए । म ओर्लिए । त्यहाँबाट भरतपुर लायन्सचोक बालकुमारी मार्गमा रहेको लेखराम जीको कर्म थलो ठम्याउदै पुगे ।
करिब ३० मिनेट उहाँले आफ्नै सम्पुर्ण किताब पसलबाट देवघाट जाने साथिहरुलाई सम्पर्क गरि ब्यबस्थापन गर्नु भयो। निमन्त्रणा धेरैकोमा पुगे पनि हाम्रो समुहमा पैदल जानेमा भानु सापकोटा सर आइपुग्नु भयो । त्यहाँबाट ३ जना २ वटा मोटरसाइकलमा वसन्त पराजुलीकोमा पुग्यौ । पराजुली मोम्चो कथा सग्रहका कथाकार र पत्रकार (गोरखापत्र)। अब सोचे यात्रा गजब हुने भो । वसन्त पराजुली, प्राध्यापक भानु सापकोटा, लेखराम सापकोटा (कायाकैरन दैनिक र कायाकैरन डटकम साथै सम्पुर्ण किताब पसल सन्चालक) र म ४ जनाको पैदल टोलीले वसन्तजीको घर भरतपुर २ आँपटारीबाट ५ बजे देवघाटको बाटो समात्यौ ।

देवघाटधामकाे बाटोमा रहेकाे ढुंङ्गेधारा
साझ ५ बजे सुर्य करिब अस्ताउनै लागेको थियोे । जाडोको मौसममा हिड्नु शरीरको लागि लाभदायी, तर गन्तव्यमा पुगेर केही समयपछि पसिना ओभाउदै जादा अझै जाडो हुने पो हो कि भन्ने चिन्ताले सारो सताउदैथ्यो । लेखराम जी धेरै अघिको चिनजान वसन्त र भानु जी पहिलो चोटि भेटिएका भए पनि धेरै अघि कै झै आत्मिय भए । आपटारीबाट देवघाट जाने मुख्यमार्ग हामीले समात्यौ । अलिक पर पुगेपछि साथीहरुले अलि छोटो हुन्छ गोरेटो बाटो जाउ भन्दै हुनुहुन्थ्यो । तर साझको समय भएकोले म सहमत नहुदा त्यो सम्भावना रहेन । उज्यालो समयमा भएको भए म पहिलो समर्थक हुन्थ्ये गोरेटो बाटो हिड्ने । बाटो भरी केही आफ्ना कुरा केही पेसाका कुरा साहित्यका कुरासँगै पत्रकारिताका कुरा रमाइलो कुरा हुँदै बाटो काटियो । ठाउँठाउँमा फोटो लिदै लेखरामजीले सामाजिक संजालमा राख्दै गर्नुभो । भानु जीको पाइलाको फड्को अलि कम भएको हुँदा केही बिस्तारै हिड्न सुझाउदै हुनुहुन्थ्यो ।
हामी भने केही पर पुग्दै केही बेर पर्खदै गर्दै हिड्दै गर्यौ । लेखराम जीको शरीर केही पातलो भएकोले उहाँलाई हिड्न सकस भएन । म प्रायः मर्निङ वाक गरिरहने भएकोले खासै अप्ठ्यारो लागेन हिडाई । वसन्त जी समेत ज्यानको अनुपातमा हिंड्न माहिर कहलिनु भो । बाटो भरी मकर काव्य यामिनी आयोजक महेश सस्कृत गुरुकुलमका गुरुहरुलाई मोबाइलबाट सम्पर्क गरी रहे लेखराम जीले । वसन्त जीले अर्को आश्रममा बस्ने ब्यबस्थापन पहिल्यै गर्नु भएको रहेछ । यद्यपि महेश मै समेत खाने बस्ने सहितको कार्यक्रम रहेको थियो ।
बाटोमा बसन्तजीले यो जाडोमा किन रहर गर्नु भा भन्दै हुनुहुन्थ्यो मलाई । मैले चिसो खान रहर लागेर भन्दै अलिकती व्यंग्य गरे । करिब साँझको ६ बजे देवघाटको चितवन पट्टीको भागमा पुग्दा भानु जीको आफन्तको पसल मै तातो जेरीले स्वागत गर्नु आइपुग्नु भो रत्न कंडेल गुरुकुल शिक्षक । उहाँको आतिथ्यतामा तातो जेरीको स्वाद लियौ । तात्तातोजेरीले थकान र भोक समेत गायब भयो । हामी गन्तव्य स्थल तर्फ लाग्यौ । कार्यक्रम स्थल तनहुँको महेश संस्कृत गुरुकुलम पुग्दा रातको ७ बजेको थियो ।
त्यहाँको स्वागतलाई आत्मसात गर्दै गुरुहरुको सानिध्यमा बेलुकाको प्रसाद भोजन ग्रहण गर्दाको आनन्द बेग्लै थियो । ठूलो कक्षमा लहरै राखिएका पिरा अनि दरी । संगै रहेका १/१ थान थाल कचौरा र गिलास । बटुकहरुले तीमा पालैसंग तरकारी, भात, दाल अनि पानी राखे पछि खान सुरु गर्नु अघि सुरु हुने स्वस्ती वाचन । अनि ग्रहण । भोजनलाई माया र सम्मान गरिएको त्यो पल बहुत आनन्ददायक रह्यो । वसन्त जीले बेलुका अन्न नखाने गर्नु भएकोले लिनु भएन । म पनि बेलुका खासै नखाने भए पनि हिडाइको थकानलाई जित्न पनि थोरै ग्रहण गरे । एक पटक थप खाना दिइने र त्यो समाप्त भए पछि पुन स्वस्ती वाचनका साथ भोजन समय सकिएको जनाउसंगै आफूले प्रयोग गरेको सामग्री निश्चित ठाउँमा लगेर राखिदिनु पर्ने नियम रहेछ । अझै आफूले जुठो बनाएको भाडा आँफैले सफा गर्नु पर्ने भैदिएको भए कति राम्रो हुन्थ्यो जस्तो लाग्यो । अनुशासनको अनुपम पाठ सिकाईको रुपमा रह्यो ।
अनि सहभागी भइयो मकर संक्रान्तिको पूर्वसन्ध्यामा आयोजना गरिएको ‘मकर काव्य यामिनी’ २०८० मा । यो २१ औ शृङ्खला रहेको त्यही ब्यानर देखेपछि थाहा भएको हो । निमन्त्रणामा कति औ भन्ने थिएन । पवित्र धार्मिकस्थल एवम् आध्यात्मिक क्षेत्र देवघाटधाम, तनहुँमा अवस्थित ‘महेश संस्कृत गुरुकुलम्’को आयोजनामा “मकर-काव्य-यामिनी”विगत २१ वर्षदेखि संचालन हुदै आएको २०६० सालबाट निरन्तर सञ्चालन भइरहेको राष्ट्रियस्तरको काव्यिक महोत्सव भन्ने थाहा पाँउदा अझ रमाइलो लाग्यो । राष्ट्रकवि तथा विभिन्न राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहेको कार्यक्रम पौष महिनाको अन्तिम साँझबाट माघको बिहानसम्म सञ्चालन भएको थियो ।

देवघाटकाे चितवन र तनहुँ जाेड्ने झोल्ङ्गे पुलकाे रात्रीकालिन तस्विर
मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर-काव्य-यामिनी राखिएको आयोजक संस्थाले जानकारी दियो । माघे संक्रान्तिका दिन नारायणी र कालीगण्डकीको संगमस्थलमा स्नानका लागि आउने काव्यपारखीलाई काव्यगंगाको आनन्द दिलाउने उद्देश्यले विगत २१ वर्षदेखि महेश सन्न्यास गुरुकुल आश्रमले ‘मकर काव्य यामिनी’ आयोजना गर्दै आएको चितवन, नवलपरासी र तनहुँको संगम नारायणीमा माघ १ गते श्रद्धालुले अघिल्लो राति भजनकीर्तन गर्दै जागा बसेर भोलिपल्ट स्नान गर्ने चलन छ। तिनैमध्येका काव्यपारखीलाई रातभर काव्यको आनन्द दिलाउनका लागि ‘काव्य यामिनी’ आयोजना गरिँदै आएको महेश संस्कृत गुलुकुलममा पिठाधिस १००८ स्वामी रमणानन्द गिरीले कार्यक्रम अबधीमा जानकारी दिनुभयो । उहाँका अनुसार ‘काव्यपारखीले रातभर बसेर काव्यका बारेमा विचारविर्मश गरून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको हो ।कार्यक्रममा बर्सेनि काव्यानुरागीहरूको विशेष जमघट हुँदै आएको छ।’
‘मकर काव्य यामिनी’ मा रचना वाचनसत्रमा आदर्श घिमिरे, काशीराज दाहाल, अभिषेक गौतम, उज्ज्वल पौडेल, विवेक पराजुली, रोहण सुवेदी, चेतना वाग्ले, उत्तम सुवेदी, गोविन्दगोपाल खतिवडा, प्रदीप नेपाल, नगाजधिराज,मनिष गौतम, तितेपाती,अभिषेक ओझा,शाश्वत खनाल, सुरेश नारायण गौतम, अनिष ढुंगेल बालकृष्ण थपलिया किशन पौडेल, बिष्णु गौतम, सुदेश सत्याल, प्रमुख अतिथि दयाराम श्रेष्ठलगायता ४ दर्जन कविहरुले बिभिन्न छन्द तथा पद्यमा कविता सुनाएका थिए । यो कार्यक्रम कोभिड कालमा समेत नरोकी अनलाइनमार्फत आयोजना गरिएको रहेछ। २१ वर्ष अवधिमा काव्य यामिनीमा धेरै साहित्यकारहरूले सहभागिता जनाइसकेका रहेछन् ।
प्राध्यापक दयाराम श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना भएको काव्य यामिनीको २१ औ शृङ्खलामा गुरुकुलका विद्यार्थीलगायत विभिन्न जिल्ला कविहरूकोसमेत उपस्थिति रहेको थियो । ती सहभागी मध्ये हामी पनि थियौ । कार्यक्रम स्थलमै भेटिए मकवानपुरका साहित्यकार किशन पौडेल, बिष्णु गौतम र पुर्व प्राध्यापक रामचन्द्र सुवेदी । सुवेदी प्राध्यापक पेशाबाट सेवानिबृत हुनु भएपछि हाल देवघाटमै बस्नु हुदो रहेछ । करिब ७ घण्टा चलेको यामिनीमा जीवन र जगत, देश प्रेम, व्यंग्यलगायत भावका ४ दर्जन कविता सुनियो । साथमा राष्ट्रभक्तीको गीत । कार्यक्रमस्थलबाटै लेखरामजी र मैले आआफ्नो मिडियामा समाचार प्रकाशित गर्यौ कार्यक्रमको । प्रत्यक्ष प्रशारण गर्ने कोशिस भने कमजोर नेटवर्कका कारण सम्भव भएन । रातको करिब १२:३० बजे चिया पानपछि केही बेर आराम गर्ने कुरो भयो । महेशका गुरुहरुले यतै ब्यबस्थापन हुन्छ भन्दा भन्दै हामी वसन्त जीले आपटारीबाट हिड्ने बेला कन्फर्म गर्नु भएको अर्को आश्रम तिर लाग्यौ ।
साथमा चितवनका कवि बालकृष्ण थपलिया समेत थपिनु भो । उहाँ ठाँउ नपुग्ला होस जान्न भन्दै हुनुहुन्थ्यो वसन्त जीले पुग्छ जाउ भनेपछि यात्रामा सरिक हुनुभयो । रात्रीकालिन बिश्रामको लागि तय गरिएको स्थान पुग्दा रातको १ बजिसकेको थियो । जुन ठाउँ बेणीबाट ठिक माथी थियो । तर लेखराम जीले पहिले बेणी (त्रिशुली र कालिगण्डकीको संगम जहाँबाट नारायणी नदि कहलाउँछ) मा गयर माहौल हेर्ने मिले नुहाउने भन्दै लिएर जान ढिपी गरेपछि ५ जना बेणी गयौ । जहाँ स्नान गर्नेको अलि अलि चहल पहल थियो । वसन्त जी नुहाउने सुरमा घरबाटै तयारीमा आउनु भएको रहेछ । उहाँ बिहान ३-४ बजेको समय स्नानको लागि उत्तम हुने भन्दै तत्काल स्नान नगर्ने पक्षमा रहनु भयो । भानु जी स्नान गर्ने तर साथिको पर्खाइमा रहनु भयो । बालकृष्ण जी घरबाट पारिवारिक सदस्य बिहान ६ बजे मात्रै आइपुग्ने भएकोले २-३ घण्टा भए नि आराम गर्नु पर्ने पक्षमा उभिनु भो । लेखराम जी अहिल्यै स्नानको काम सक्ने तर बिहान भएकोले सुत्न नहुने जागै बस्नेमै रहनु भो । म अरुले के गर्छन् त्यही गर्नेमा परे ।

अन्तत स्नान ३ बजेपछि नै स्नान गर्ने वसन्त जीलाई पछ्याउँदै हामी बेणीमै रह्यौ । लेखराम जी कालीगण्डकी करिडोर अन्तरगतको कालीगण्डकी पुलसम्म पैदल जाने फर्केर आउदा नुहाउने समय ठिक्क हुने भन्दै अघि लाग्नु भो । हामीले दिउँसोदेखि हिडेको केही बेर आराम नगरे बिहानलाई गारो हुनेभन्दा भन्दै १० मिनेटको बाटो भन्दै ४५ मिनेटको पैदलमा पुल लिएर जानु भो । अलिक सुनसान ठाउँमा पुगे पछि वसन्त जी र मैले नजाने भनेर अलमलिन खोज्यौ । उहाँहरु ३ जना अघि लाग्नु भो । आधा भन्दा बढी बाटो फर्कनु २ जनाको लागि गारो हुने भएकोले हामीद्वय पनि पुल तर्फ नै लाग्यौ । रातको २ बजे तनहुँ र नवलपरासी जोड्ने कालीगण्डकीको २०० मिटर लामो पुल तरेर नवलपरासी पुग्यौ । त्यो बाटो दासढुङ्गा (चितवन) देवघाट (तनहुँ) नवलपरासी हुँदै कालीगण्डकी करिडोरबाट पाल्पा रामपुर १ घण्टामा पुगिने लेखराम जी भन्दै हुनुहुन्थ्यो ।
रातभर नसुतेर हिडिरहेका हामी पुलबाट फर्कदा थाकिएका थियौ तर त्यो थकाइले बिहान हुँदै जादा बिमार पो हुन्छ कि भन्दै हुनुहुन्थ्यो भानु जी । देवघाट आउँदै गर्दा बाटोमा एउटा पसल खुल्ला थियो । तातो पानी चिया र चाउचाउको व्यबस्थापन गर्दै धुनीको तातोमा गफियौ । बालकृष्ण जी को काव्य यामिनीको कविताको निकै प्रसंसा भो विशेष गरि लेखराम जीले तारिफ गर्नुभो । केही काव्यका कुरा केही पत्रकारिताका कुरा केही प्राध्यापनका कुरा केही स्थानीय तहका कुरालगायतका कुरा गरियो धुनी ताप्दै । तातो पानी पिएपछि वसन्त जीले राहत महसुस भयो,भन्नू भयो यो महसुस सायद सबैलाई थियोे । त्यतिन्जेलसम्म २ पटक पसिना आउदै सुक्दै गरेको थ्यो । अब पालो तेस्रो पटक ज्यान पानीले भिजाउनु थ्यो । चिया र चाउचाउ खाएपछि देवघाटधामको बेणीमा स्नान गर्न पुग्दा बिहानको ३ बज्ने पक्का भएपछि त्यहाँबाट स्नान स्थल तर्फ हिड्यौ ।
स्नान स्थल आइपुग्दा स्नान गर्ने धर्मावलम्बीहरुको भिड बढी सकेको थियो । बालकृष्ण जी बिचतिरैबाट आरामको लागि कतै जानु भो । वसन्तजी र म बेणी पुगेर वसन्त जीले स्नान गरिसकेपछी लेखरामजी र भानुजी आइपुग्नु भो । केही समयपछि भानु जी स्नानमा जानू म उहाँहरुको लुगा लगायतको सामग्री कुरि बस्नेमा परे । लेखराम जी फोटो लिन दायाँबायाँ जानु भो । एक छिनमा मैले नि स्नान गरे भन्दै लेखराम जी आउँदा मैले बेणीको जलले दोस्रो पटक शरीर शुद्धिकरण गरे ।
स्नानपछि केही थान फोटो लिइयो । डुङ्गामा त्रिशुली तरेर चितवन तर्फ निस्कने योजना भनेको डुङ्गा बिहानको ६ बजे मात्रै संचालनमा आउने जानकारी भए पछि झोलुङ्गे पुलबाटै हिडेर जाने भैयो । बिहानको ३:५० मा स्नान मन्दिर दर्शन दान दक्षिणालगायतको काम सम्पन्न भएकोले पनि करिब २ घण्टा चिसो रातमा कसरी बिताउनु भन्दै हिडियो । घर पुग्दा उज्यालो हुन्छ चियासँग खाने भन्दै देवघाटको झोलुङ्गे पुलको मुखैमा रहेको पसलमा सेल बनाउन लगाउनु भयो वसन्त जीले ।
रातकाे १ बजे देवघाटधामकाे बेणी (त्रिशुली र कालिगण्डकी संगममा हामी ५ )
पुस २९ गते साझँ हिडेर गएको बाटोमा विहानी हिडाइमा थियौ हामी । तात्तातो जेरी खुवाउने गुरु रत्न कडेललाई अर्को पटक भेट्मा कुरा गरौला भन्दै विदा भइयो । विहानको समयमा हुस्सुले ढाकिएको मौसम अध्यारो नै थियो । बाटोमा भानु जी हिड्न अली नसकेको भन्ने लागेर लेखराम जीले म्याजिकमा चडाउनु भएको करिव २ सय मिटर पर पुगेपछि ओर्लनु भएको रहेछ । हामी त पछाडी रहनु भएको मान्छे कसरी अगाडी पुग्नु भो भरे अचम्मित भयौ । लेखरामजीले पोल खोलेपछि पो दङ्ग पर्यौ । कुरो के भएछ भने आपँटारी चोक केही समय अघि पुग्छु थकाइ पनि मर्दै गर्छ साथीहरु आउने समयसम्म भन्ने मनसायले गाडी चड्नु भएको भानुजी गाडीमा रहेका केटाहरुको कारण चड्ने वित्तिकै ओर्लनु भएको रहेछ । अध्यारो विहानी उरन्ठ्याउला केटाहरु मात्रै भएको गाडीमा जादाँ केही भइहाल्यो भन्ने लागेर ओर्लनु भएको उहाँले ठिक गर्नु भयो भन्ने लाग्यो ।
त्यसपछि भानु जीले गाडीमा जाने योजना बदल्नु भयो । हिडाइमा उहाँको पाइला अली विस्तारै चल्ने भएकोले सधै केही पर छोडिने गरेकोमा विस्तारै पर्खदै आयौ । बिहानको झिसमिसेमा देवघाटबाट आपटारीको हिडाइले पुन पसिना निकाल्यो । अलिक थकाई पनि लाग्यो । यो समेत ३ पटक ज्यान पसिनाले नुहाएको थियो ।
माघ १ गते करिव विहानको ५ः४५ वजे पुष २९ गते जहाँबाट पैदल देवघाट यात्रा सुरु गरिएको थियो अर्थात वसन्त जीको घरमा आइपुग्यौ करिव १३ घण्टाको यात्रा नसुतेर यता उता हिडेर पुरा गर्दा ज्यान थकाइले लोद भएको रहेछ । वसन्त जीको घरमा आमाले चिया बनाउनु भयो हामिले देवघाटदेखि बोकी ल्याएको सेलसँग खायौ । साथमा तरुल, सखरखण्डालाई पनि भोजन गर्यौं । भानु जी र लेखराम जी यसो पल्टिनु हुँदा नै निदाउने सुर ल्याउनु भयो म चै हेटौडा घर पुगेर आराम गर्ने मनसायले लेखराम जीलाई झकझक्याएर वसपार्कसम्म साथमै जाने भन्दै उठाए ।

मकर स्नानकाे तयारीमा भक्तजनहरु
माघ १ गते संक्रान्ती परेकोले समेत साथीहरुलाई मेरो कारण नअलमल्याउने विचार गरे । भानु जी वसन्त जी र लेखराम जी यतै खाना खाएर जाने भन्दै हुनुहुन्थ्यो । वसन्त जीको आमाले गर्नु भएको आग्रहलाई समेतपछि आउँदा है भनेर लेखराम जी र म निस्कियौं। पारस वसपार्कमा म ओर्लिए । उहाँ आफ्नै घर तर्फ जानु भयो । थाकेको शरीरलाई गाडीको सिटमा राख्दा समेत आनन्द भनुभूति भो । यात्रा भन्ने पनि अचम्मकै हुने रहेछ । सोच्दै नसोचेको यात्रा नी तय गरिदो रहेछ । यस्तै सोच्दै थिए निदाएछु । गाडी रत्ननगर कटेपछि पो झल्यास्य भएं । विहानको ८ः३० वजे हेटौडा आईपुगे, ९ बजे घरमा । तन घरमा आईपुग्यो, मनले त्यै रमाइलो यात्रा, साथीहरूको प्रेमील साथ, आमा(वसन्त) को न्यानो माया याद गरिरह्यो ।

मकवानपुर । मकवानपुरकाे हेटौंडामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता-चुनौती र सम्भावना’ विषयक दुइदिने कार्यशाला सुरु भएको छ ।
प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा सुरु कार्यशालाको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै समयसापेक्ष रुपमा पत्रकारहरुले आफूलाई तिखार्न जरुरी रहेको बताए । ‘पहिले एउटा समाचार सुन्नका लागि दुई दिन लाग्ने भएपनि अहिले डिजिटल जमाना भएकोले तत्काल सुन्न र हेर्न पाइने अवस्था रहेको छ’ उनले भने ।
व्यावसायीक पत्रकारिता गर्न आग्रह गर्दै पौडेलले पत्रकारहरुले यो वा उ संगठन भनेर मात्रै नहिड् सुझाव दिए । उनले कार्यशालाबाट डिजिटल पत्रकारिताका बारेमा केही सिकाइ लिन र प्रयोग गर्न आग्रह समेत गरे । कार्यशालामा बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले अहिले प्रविधिमा नयाँ पत्रकारको पुस्ता अभ्यस्त भएको बताउदै यस्ता कार्यशालाले पत्रकारिता क्षेत्रको पुराना पुस्ताका अनुभव ज्ञान र नयाँ पुस्ताको क्षमतालाई पत्रकारितामा प्रयोगको निम्ति सकारात्मक हुने बताए ।
कार्यशालामा नेपाल पत्रकार महासङ्घ मकवानपुर उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले शुभकामना व्यक्त गरेका थिए । कार्यशालामा प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकास दाहाल, पूर्व केन्द्रीय सदस्यहरु उज्वल अधिकारी, दिपेन्द्र रोक्का, चौतारीका निवर्तमान अध्यक्ष धर्मेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।
चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यशाला माघ ६ गते शनिबारसम्म संचालन हुनेछ । कार्यशालामा मकवानपुरका ४० जना पत्रकारहरुको सहभागिता रहेको बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले लाेकतन्त्रमा मात्रै पत्रकारिता फस्टाउन सक्ने बताएका छन् । प्रेस युनियन मकवानपुरको आयोजनामा हेटौंडामा भएकाे सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधानका विषयक कार्यशाला गोष्ठीमा उनले यस्ताे बताएका हुन् ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका श्रेष्ठले ‘निरंकुश शासन व्यवस्थामा नेपाली पत्रकारिता फस्टाउन नसक्ने बताए । ‘राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता शसक्त र जिम्मेवार भएमात्रै मुलुकमा सुशासन स्थापना गर्न सहज हुन्छ’ उनले भने । मुलुकमा सुशासन स्थापना गर्नका लागि सबैपक्षबीच समन्वय जरुरी रहेकाे उनले बताए । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने भन्दै लोकतन्त्र र गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेकोले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने जिकिर गरे ।
मन्त्री श्रेष्ठले पत्रकारिता क्षेत्रको प्रर्वद्धनका लागि बागमती प्रदेश सरकारले सञ्चार रजिष्ट्रार कार्यालयको स्थापना गरी काम गरिरहेको स्पष्ट पारे । उनले महिना महिनामा पत्रकारसँग भेटघाटगरी सल्लाह सुझाव लिने, सरकारका गतिविधिबारे जानकारी दिने, सञ्चार क्षेत्रको हित प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु गरिएको बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकारिता क्षेत्र गुमेको विश्वास आर्जन गर्दै थप परिस्कृत एवम् परिमार्जित हुँदै अघि बढनुपर्ने बताए । नयाँनयाँ प्रविधि र सामाजिक सञ्जालका कारण पनि मूलधारको पत्रकारितामाथि प्रश्न उठिरहेको भन्दै पत्रकारिताप्रतिको विश्वासलाई जीवन्त राख्न पत्रकार, सञ्चार गृह स्वयं पनि सच्चिन तयार हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाका विषयमा सुक्ष्म बहस र विश्लेषणसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । पत्रकारिताको अवस्था पत्रकारिताको विकास र दायरा बढेसँगै समस्या र चुनौती पनि बढेको भन्दै उनले ती समस्याको समाधान गर्न नेपाल पत्रकार महासंघले प्रयास गरिरहेको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्रालयका सचिव धु्रव गैँडाले पत्रकारिता क्षेत्रको प्रर्वद्धनका लागि वा स्वतन्त्र पत्रकारिता स्थापनाका आवश्यक ऐन कानूनसमेत संशोधन गरेर अधि बढ्न आफुहरु तयार रहेको बताए ।
कार्यक्रममा अधिवक्ता संजीव घिमिरेले नेपाली सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले आफ्नो कार्यालयले गरेका गतिविधि र पत्रकारिका क्षेत्रको सुधारका लागि सुझाव प्रस्तुत गरेका थिए ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, महासचिव दीलिप पौडेल, पूर्व बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकाेटा, पूर्व अध्यक्ष प्रताप विष्ट, मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाललगायतकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा ८ मा जारी ८ ए साइड फुटबल प्रतियाेगितामा हुप्रा सिटी र कर्णावती क्लब फाइनल प्रवेश गरेका छन् ।
हेटौडा ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा जारी (U-60Kg) ८ ए साइट नक आउट फुटबल प्रतियोगिताको विहीबारकाे सेमिफाइनलबाट हुप्रा सिटी र कर्णावती फाइनल प्रवेश गरेका हुन् । विहीबारकाे पहिलाे सेमिफाइनल खेलमा हुप्रा सिटीले फायरलाइन एफसीलाई लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएकाे हाे ।
यस्तै विहीबारकाे दोश्रो सेमिफाइनलबाट कर्णावती युवा क्लबले रामनगर युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेकाे हाे । प्रतियाेगिताकाे फाइनल खेल माघ ६ गते शनिबार हुने आयोजकले जनाएकाे छ।
कर्णावती युवा क्लबको आयोजना भएको (U-60Kg) ८ ए साइड नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिता उपाधि विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
