मकवानपुर । मकवानतपुरकाे हेटौडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त घाेषणा गर्ने तयारीकाे सिलसिलामा वडा २ मा रहेकाे बाल जागृति इङ्लिस बाेर्डिङ स्कुल नगरभरीकै पहिलाे बालमैत्री घाेषणा हुने भएकाे छ ।
आगामी २२ गते घोषणा विद्यालयलाई बालमैत्री घाेषणा गरिने कार्यक्रम तय भएकाे छ । उपमहानगरभित्र ४७ वटा संस्थागत समेत गरी १२० वटा विद्यालयहरु छन् तर हालसम्म कुनै पनि बालमैत्री घाेषणा भएका छैनन् ।
बालमैत्री स्थानीय शासन घाेषणाकाे लागि विद्यालयले पुरा गर्नु पर्ने गरी ताेकिएकाे २६ वटा सुचक पुरा गरेकाेले याे बाेर्डिङलाई बालमैत्री घाेषणा गर्न लागिएकाे हाे । हेटाैडा २ बासुदेश मार्गमा रहेकाे याे विद्यालयले तोकेको सबै २६ वटा सुचकहरू पूरा गरेकोले शिक्षा विकास महाशाखाले अनुगमन गरेर, प्रमाणीकरण समेत गरिसकेकाे प्रिन्सिपल बिनोद सुवेदीले बताए ।
शुक्रबार स्कुलले पत्रकार भेटघाट गरी घाेषणा तयारीकाे जानकारी दिएकाे थियाे। बालमैत्री स्थानीय शासनकाे लागि तय गरिएका ५१ वटा सूचक मध्ये विद्यालयसँग सम्बन्धित २६ सूचकमा पालिकासँगकाे समन्वयमा पुरा गरेकाेलेमा सहकार्यकाे लागि वडा कार्यलय सधै तयार रहेकाे वडा २ का कार्यवाह अध्यक्ष सुरज बर्ताैलाले बताए ।
बालमैत्री स्थानीय शासनकाे लागि विद्यालयको गेटमा मद्यपान, धुमपान, सुर्तीजन्य वस्तु प्रयोग निषेधित क्षेत्र, विद्यालयकाे चारैतर्फ १०० मिटरको दूरी भित्र मद्यपान प्रधान सुर्तीजन्य वस्तु विक्री वितरण गर्न पाइने छैन भन्ने सूचना टाँस्नु पर्ने, विद्यालयको शौचालयमा साबुन पानीको व्यवस्था मिलाउने, बालमैत्री आधार संहित बारे महिनाको दिन घण्टा विद्यार्थीसँग छलफल गर्ने बातावरण मिलाउने प्रमाण राख्ने, विद्यालयमा अतिरित्त क्रियाकलाप सन्चालन गरेको रेकर्ड राख्ने, विद्यालयमा बालधिकार भनेको के हो तथा बालमैत्री स्थानीय शासनको परिभाषा टाँस गर्ने, बालविकास केन्द्र र सवारी साधनको मापदण्डअनुसार बालविकास केन्द्र व्यवस्थापन गर्ने, विद्यालयमा विद्याधीलाई विपत् पूर्वव्यवस्थापन सम्बन्धी अतिरिक्त सत्र सञ्चालन गर्ने, सेनिटरी प्याड प्रयोग डिस्पोजल प्रबन्धकाे रेकर्ड व्यवस्थापन गर्ने जस्ता २६ वटा सूचकहरु ताेकिएका छन् ।
आफ्नाे विद्यालयमा ताेकिएकाे सूचक बाहेक पनि बालमैत्री कार्यक्रम गरेको प्रिन्सिपल सुवेदीले बताए । विद्यालयले अतिरिक्त क्रियाकलापको तालिका बनाएर लागू गरेको, १ हजार ५३४ जना बालबालिकाकाे बीमा गरिएकाे अभिभावकहरुलाई समेत बालमैत्री स्थानीय शासनकाे बारेमा जानकारी गराइएकाे सुवेदीले बताए ।
शुक्रबार आयाेजित पत्रकार भेटघाट कार्यक्रममा वडाका बाल सहजकर्ता राहुल शर्मा, बालजागृति बाल समूहका अध्यक्ष कृशाङ्गी अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारी, वडा २ सदस्यहरु इन्द्रप्रसाद रिजाल, मैया परियार, वडा सचिव रामप्रसाद गुरागाई शिक्षक प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
विद्यालयले २२ गते विभिन्न झाँकी, पञ्चेबाजा सहित प्रभातफेरी सहित घाेषणा कार्यक्रमकाे तयारी गरेकाे छ । साेही दिन विद्यार्थीहरुकाे स्वास्थ्य परीक्षण कार्यक्रम समेत रहेकाे सुवेदीले बताए । कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहन्छ भने, अभिभावक, विद्यार्थी, वडाभित्र रहेका २१ वटा टोलविकास समितिका प्रतिनिधि, अन्य विद्यालयका प्रअ सहित शिक्षकहरुको सहभागिता रहने सुवेदीले बताए ।
बालमैत्री घाेषणापछी दीगाे व्यवस्थापनकाे लागि समेत कार्ययाेजना आवश्यक हुने भएकाेले आफूहरुले त्याे तयारी समेत गरेकाे सुवेदीले बताए । २२ गते नै हेटाैडाकाे ८ काे चन्द्राेदय मावि पनि बालमैत्री घाेषणा हुने उपमहानगरपालिकाले जनाएकाे छ ।
मकवानपुर । हेटौडा राष्ट्रिय रन २०८० काे उपाधी मुकेश पालले हात पारेका छन् । उपाधीसँगै काठमाडाैका पालले ६० हजार नगद प्राप्त गरे ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद बिकास समितिको आयोजनामा शुक्रबार भएकाे प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी १५ मिनेट २२ सेकेन्डमा पार गरी पाल प्रथम भएका हुन् । विगत वर्षमा हेटौडा रनमा सिमित हुँदै आएकाे प्रतियाेगिता यस वर्षबाट राष्ट्रिय रुपमा संचालन गरिएकाे हाे । १८ जिल्लामा ९२ जना प्रतिस्प्रर्धिलाई पछि पार्दै पालले उपाधि हात पार्दा जुम्लाका दुर्गाबहादुर बुडा द्वितीय भए । उनले १५ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै नगद ५० हजार रुपियाँ प्राप्त गरे ।
प्रतियाेगितामा तेस्रो स्थान काठमाडौंका सञ्जय श्रेष्ठ हुँदा टंक कार्की र नागेश्वर ऐरीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । श्रेष्ठले ३० हजार, कार्की र ऐरीले सन्त्वना स्वरुप नगद १०/१० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी ९२ जना मध्ये हेटौंडा–२ का ६९ बर्षीय प्रेमजी श्रेष्ठलाई सम्मान गरिएकाे हाे । जेष्ठ उमेरमा पनि खेल प्रतिको लगाब र लगनशीलताका लागि सम्मन गरिएकाे आयोजकले जनाएकाे छ ।
प्रतियोगितामा विजयी भएका धावकहरूलाई नगरप्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बाँनिया, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, नगर खेलकुद बिकास समिति अध्यक्ष रविन्द्र घिमिरेलगायतले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए। प्रतियोगिता बुद्धचोकबाट सुरु भई पुनः बुद्धचोकमा सकिएको थियो।
मकवानपुर । बागमती प्रदेश सभाकाे विहीबारकाे पहिलाे बैठकबाट विशेष समिति गठन गरिएको छ । प्रतिपक्ष दलहरुसँग भएकाे सहमती कार्यान्वयनकाे लागि विशेष समिति गठन गरिएकाे हाे ।
मुख्य प्रतिपक्ष दल नेकपा एमालेलगायतका प्रतिपक्ष दलहरुसँग भएकाे सहमती कार्यान्वयनकाे लागि सर्वदलीय बैठकहरुबाट सहमती जुट्न नसकेपछि विवाद समाधान गर्न विशेष समिति गठन गरिएको छ । बजेट विनियाेजनकाे सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका लागि विशेष समिति गठन गरिएकाे बताइएकाे छ । संसद्को बैठकले प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधनको नियम १५२ बमोजिम विशेष समिति गठन गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट समानुपातिक नभएको भन्दै विपक्षी दलहरूले विरोध गर्दै आएका थिए । विपक्षी दलहरूको विरोधपछि गत असार १८ गते सरकारले बजेट पारित गर्न प्रतिपक्ष दलहरूसँग सहमति गरेको थियो । विपक्षी दलका सांसदहरूले दिएका योजना समावेश गर्ने गरी भएकाे सहमति कार्यान्वयन नगरेको भन्दै विपक्षी दलहरूले प्रदेश सभा अवरुद्ध समेत गर्दै दबाब दिदै आएका थिए ।
प्रतिपक्ष दलहरुले प्रदेश सभाकाे वर्षे अधिवेशका आधा दर्जन बैठक अवराेध गरेका थिए । वर्षे अधिवेशन सकिएकाे करिब ५ महिनापछि गत मंगलबार प्रदेश सभाकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठक बसेकाे थियाे । मंगलबारकाे बैठक सञ्चालनका लागि सर्वदलीय बैठकहरु भए पनि निष्कर्ष विहिन रहे । विहीबार संसदीय समिति गठन गर्ने सहमति गरेसँगै संसद् बैठक सञ्चालन भएकाे हाे ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालको पेस गरेको विशेष समिति गठन सम्बन्धी प्रस्तावलाई नेपाली कांग्रेस संसदीय समितिका सचेतक गोविन्द लम्साल, नेकपा एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेल र राप्रपाका सांसद राजेन्द्र प्रजापतीले समर्थन गरेका थिए । समिति गठन सम्बन्धी प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हाे ।
समितिमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपाबाट २–२ जना र हाम्रो नेपाली पार्टीबाट एक जना सांसद सदस्य रहनेछन् । नेमकिपाले भने उक्त समितिमा सहभागिता जनाएकाे छैन । समितिको संयोजकमा सत्तापक्ष नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साल रहेका छन् । यसैगरी समितिको सदस्यहरुमा कांग्रेसका प्रभात तामाङ, नेकपा एकीकृत समाजवादीका रमा आले मगर, वसन्त मानन्धर, नेकपा माओवादी केन्द्रका रत्न प्रसाद ढकाल, इन्द्रप्रसाद गोतामे र हाम्रो नेपाली पार्टीबाट संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य रहेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे तर्फबाट समितिको सदस्यमा मधुसूदन पौडेल, दिनेशचन्द्र देवकोटा तथा प्रतिपक्ष दल राप्रपा संसदीय दलका नेता उद्धव थापा, गिर बहादुर तामाङ रहेका छन् । ११ सदस्यीय समितिको काम कारबाही निर्धारण गर्ने कार्यविधि आफैले तोके बमोजिम हुने व्यवस्था गरिएको छ । समितिले आगामी फागुन २९ गते दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने गरी समयसीमा ताेकिएकाे छ ।
यसैगरी प्रदेश सभाकाे पहिलाे बैठकमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयबाट संसदमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयक पेस गरिएको थियो । उक्त विधेयक पेश भएसँगै पश्चात १५ मिनेटका लागि स्थगित गरिएको प्रदेशसभा बैठककाे दाेस्राे बैठक बसेको थियो । सो बैठकमा संसदमा पेस भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धी विधेयकको सैद्धान्तिक छलफल भएको थियो । विधेयकमाथि सांसद शैलेन्द्रमान बज्राचार्यले मात्र विधेयक माथिको छलफलमा भाग लिएका थिए । विधेयक माथि उठेका प्रश्नको जवाफ मन्त्री चित्रकारले दिएका दिए ।
छलफल पश्चात् मन्त्री चित्रकारले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरेका थिए । मन्त्री चित्रकारले पेस गरेको उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख पाठकले निर्णायार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएकाे हाे ।
उक्त विधेयक स्वीकृत भएसँग प्रदेशसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित गरिएको सभामुख भुवन कुमार पाठक जानकारी दिए ।
मकवानपुर । बुधबारकाे लागि बाेलाइएकाे बागमती प्रदेश सभा बैठक बस्दै नबसी स्थगीत गरिएकाे छ । करिव ५ महिना पछि मंगलबार बसेकाे बागमती प्रदेश सभा बैठक शाेक प्रस्ताव पारित गर्दै आज बुधबारसम्मकाे लागि स्थगित गरिएकाे थियाे ।
बुधबार बिहान साढे ११ बजे बस्ने भनिएको बागमती प्रदेशसभा बैठक दलहरुबिच सहमति जुट्न नसकेपछि सहमतिकाे प्रयासकाे लागि बिहीबार बिहान बस्ने गरी सूचना टाँस गरी स्थगित गरिएको छ ।
पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए । सोही विषयमा छलफल गर्न बुधबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल अनुपस्थित भएपछि विपक्षीले थप छलफल नै गर्न चाहेनन् । विपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका हुन् ।
दलहरुबिच सहमति जुट्न नसकेका कारण विहीबार विहान साढे ११ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । गत असोज २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको करिब ५ महिनापछि हिउँदे अधिवेशन बसेको हो । गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णयसहित प्रदेश प्रमुख समक्ष सिफारिस गरेकाे थियाे ।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले संघीयताप्रति जनताकाे विराेधी धारणा आफूले नदेखेका दावी गरेका छन् ।
सामन्ती एकात्मक राज्यसत्ताका मानिसहरु मात्र संघीयताको विराेधमा रहेको जमकट्टेलले दाबी गरेका हुन्। “संघीयताकाे प्रभाव हेर्न गाउँमा जानुपर्छ, विकास विराेधीहरुले मात्र हाे अनावश्यक टीका टिप्पणी गर्ने” उनले भने “जनमत संग्रह गर्ने हाे ? संघीयताकाे विराेधमा छन कि सपाेटमा छ भने, जनमत संग्रह गर्न सडकमा जाउँ अनि देखिन्छ।”
न्युज २४ काे सिधा कुरा मुख्यमन्त्रीसंग कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले यस्तो बताएका हुन् । जनताले खारेज गरिसकेकाे राजसत्ता सम्बन्धी तर्क मिडियाकर्मीहरुले उठाउन खाेजेको उनले बताए । सामान्य नागरिक नेतृत्व तहमा पुगेकाेमा सामन्ती साेचले संघीयता पचाउन नसकेकाे मुख्यमन्त्री जमकट्टेलले जिकिर गरे ।
प्रदेश सरकारले दुधमा अनुदान रकम ५० कराेड छुट्टाउने निर्णय गरेकाेमा गल्तिले ५ कराेड भएकाे उनले बताए । किसानको अनुदानको बजेट बृद्धि गर्ने निर्णय गरिसकेकाे र पर्सा राष्ट्रिय निकुन्ज सम्बन्धमा हिउँदे अधिवेशनबाट कानूनगत रुपमा अघि बढ्ने तयारी रहेको उनले बताए ।
बागमती प्रदेश सरकारमा विज्ञहरुले सही सल्लाह दिनुपर्नेमा आपसमा जुधाउने भूमिका खेलेको संकेत गर्दै उनले भने “सत्ता र प्रतिपक्षीबीचको टकराब रहे पनि १० दिनभित्र सहमति जुटाउने वचन दिए ।
कार्यक्रममा नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकार गठवन्धनबाट चलेकाे कारण सेवाप्रवाहमा कमिकमजाेरी रहेकाे आरोप लगाए । संघीय संरचनालाइ जसरी संचालन गर्नु पर्ने थियाे त्याे ताैरतरिका नमिलेकाे उनको भनाइ थियो । प्रदेश सरकारकाे बजेट पक्षपाती रहेकाे, सरकारलाइ कसरी जनमुखि बनाउने, भाैगाेलिक तथा जनजाती तथा स्थानीय तहसम्म असन्तुलित भएकाे थपलियाले बताए ।