मकवानपुर । बुधबारकाे लागि बाेलाइएकाे बागमती प्रदेश सभा बैठक बस्दै नबसी स्थगीत गरिएकाे छ । करिव ५ महिना पछि मंगलबार बसेकाे बागमती प्रदेश सभा बैठक शाेक प्रस्ताव पारित गर्दै आज बुधबारसम्मकाे लागि स्थगित गरिएकाे थियाे ।
बुधबार बिहान साढे ११ बजे बस्ने भनिएको बागमती प्रदेशसभा बैठक दलहरुबिच सहमति जुट्न नसकेपछि सहमतिकाे प्रयासकाे लागि बिहीबार बिहान बस्ने गरी सूचना टाँस गरी स्थगित गरिएको छ ।
पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए । सोही विषयमा छलफल गर्न बुधबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल अनुपस्थित भएपछि विपक्षीले थप छलफल नै गर्न चाहेनन् । विपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका हुन् ।
दलहरुबिच सहमति जुट्न नसकेका कारण विहीबार विहान साढे ११ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । गत असोज २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको करिब ५ महिनापछि हिउँदे अधिवेशन बसेको हो । गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णयसहित प्रदेश प्रमुख समक्ष सिफारिस गरेकाे थियाे ।


