मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएकाे कार दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ ।
हेटौंडा-भैसे-भीमफेदी- काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक बालिका सहित २ जनाको मृत्यु भएको थियाे । उपचारकाे क्रममा थप एक पुरुषकाे समेत मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएको छ ।
काठमाडौबाट हेटौडातर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइतेकाेमा ३ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते मध्ये मृत्यु भएकामा ३/४ महिनाकी शिशु र २ जना पुरुष रहेकाे प्रहरीले जनाएकाे छ ।
घटनास्थलबाट इलाका प्रहरी कार्यालय भिमफेदीको टोलीले घाईतेको उद्धारगरी उपचारका लागि हेटौंडा ल्याइएकाे थियो । प्रहरीका अनुसार घाइते २ जना महिलाकाे हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। घाईते र मृतकको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा कार सडकबाट खस्दा २ जनाको मृत्यु भएको छ ।
हेटौंडा-भैसे-भीमफेदी- काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक बालिका सहित २ जनाको मृत्यु भएको छ मकवानपुर प्रहरीले जनाएको छ ।
काठमाडौबाट हेटौडातर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते ५ जना मध्ये एक बालक र एक पुरुषको उपचारको क्रममा हेटौंडामा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार घाइते अन्य २ महिला र १ पुरुष रहेकोमा उनीहरुको हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। घाईते र मृतकको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ ।
मकवानपुर ।
कुवाको होस् वा झरनाको पानीको काम प्यास मेट्ने त हो
सडक होस् वा मेरो छाति तिम्रो पैतालाको काम टेक्ने त हो
तरबारसँग भागेर फूलको नजिक पुगेँ म, बल्ल सम्झेँ,
फूलको होस् या तरबारको धारको काम रेट्ने त हो ।
माथिका मुक्तक गीतकार सुवासचन्द्र ढुंगेलको हो । गीतसंगै मुक्तकलेखनमा समेत सक्रिय ढुंगेलले मकवानपुरको हेटौंडामा मंगलबार मुक्तक सुनाएका छन् ।
मुक्तक मञ्च मकवानपुर शाखाले ढुङ्गेलको मुक्तक सुनाउने चाजोपाजो मिलाएको हो । उनले एकल मुक्तक वाचन कार्यक्रममा माथिका जस्तै चोटिला ३० वटा मुक्तक सुनाएका थिए ।
मुक्तक वाचनको पहिलो सत्रमा ढुंगेलले १५ वटा र दोस्रो सत्रमा १५ वटा राजनीति, सामाजिक, समसामयिक, शृङ्गारिक भावका मुक्तक सुनाएका थिए । उनको ‘चोट के हो व्यथा के हो’ र ‘सुवास’ गीति एल्बम, भाँचिएको मन’ गजल संग्रह, ‘आनन्दै आनन्द’ भक्ति गीति एल्बम तथा ‘अक्षरका गोलीहरु’ मुक्तकसंग्रह प्रकाशित छन् ।
यस्तै ‘चोट के हो व्यथा के हो ?’ गीत ढुंगेलले लेखेका हुन् । उनका ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘फूल झरे पनि काँडा झर्दैन’, ‘चिता बनाई जलाई नदेऊ’ लगायत ३ सय बढी गीतहरू सांगीतिक बजारमा छन् ।
कार्यक्रममा कमल नेपाल र मिथिला अधिकारीले ढुंगेलका थप ३/३ वटा मुक्तक वाचन गरेका थिए । कवि मुरारी सिग्देलले ढुंगेलको संक्षिप्त परिचय गराएका थिए ।
कार्यक्रममा मकवानपुरका गायक कृष्णगोपाल सिंह र अञ्जन दाहालले ढुङ्गेलले रचना गरेको गीत प्रस्तुत गरेका थिए ।
२०७८ पौष १७ गते स्थापित मुक्तक मञ्च मकवानपुर शाखाले स्थापना कालदेखि नै जिल्लाभित्र र बाहिरका मुक्तककारहरूमार्फत् प्रस्तुति गराउने, मुक्तक लेखन कार्यशाला, प्रतियोगिता, पुरस्कार तथा स्रष्टा सम्मानका कार्यक्रम गर्दै आएको छ ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता भएको कार्यक्रमलाई सस्थाका सचिव सुवास सजलले सहजीकरण गरेका थिए ।
अन्त्यमा स्रष्टा ढुङ्गेलको यो मुक्तक
एकै दिनमा जानुपर्छ जन्त र मलाम कहिलेकाहीँ
फूल बन्छ यहाँ मन र बन्छ फलाम कहिलेकाहीँ
अनुहारमा पटक पटक थुक्न मन लाग्ने मान्छेलाई पनि
यो जिन्दगीको उद्घोष गर्नुपर्छ सलाम कहिलेकाहीँ ।
मकवानपुर । मकवानपुरे साहित्यकार पुरूषोत्तम आचार्यकाे “उठ हे युवा” बाेलकाे गीत सार्वजनिक भएकाे छ । मंगलबार हेटाैडा एक कार्यक्रम गरी गीतसंगै लिरिकल भिडियो सार्वजनिक गरिएकाे हाे ।
गीतमा आचार्यको रचना तथा सङ्गीत रहेको छ भने आचार्यसहित, हरि पौड्याल, आरोह सीले आवाज दिएका छन् । पुरुषोत्तम आचार्य युट्युब च्यानलबाट सार्वजनिक उठ हे युवा गीतका सम्बन्धमा श्यामकुमार बानियाँ, शान्ति प्रिय वन्दना, समर्पण न्यौपाने लगायतको टिप्पणी गरेका थिए । कार्यक्रमका क्रममा उक्त गीत प्रत्यक्ष गायनका साथ सार्वजनिक गरिएको हो ।
नवसर्जक नेपालका महासचिव न्यौपानेले आम जनजीविकाका सवाल उठाएकाे, युवाको भूमिका, क्रान्तिका कुरा, परिवर्तनसमेत सन्देश उठान गरेकाे बताए । नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्तिले गीतले देश र युवाको समस्या उठान गरेको र शब्द मन मष्तिष्क मै छोएकाे बताइन् । साहित्य सङ्गम मकवानपुरका सल्लाहकार बानियाँले कविता, गजल, गीत लेखनका साथसाथै गायनमा समेत सक्रिय आचार्यका यस अघि प्रकाशित पुस्तक तथा गीतले परिचय बनिसकेको बताए । गीत रेकर्डिङमा शब्दलाई सङ्गीतले न्याय गर्न नसकेको महशुस गरेको उनले बताए ।
गीतकार सुवासचन्द्र ढुङ्गेलले काठमाडौंमा समेत गीतमाथि यसरी चर्चा कमै हुने गरेको बताउँदै गीतको शब्दको तौल अनुसार सङ्गीत र गायनले त्यसलाई अझ सुन्दर बनाउने बताए । देशभक्तिका गीत सुन्ने चलन हराइरहेको समयमा गीत रेकर्ड भइ सार्वजनिक हुनु नै सर्जकको सफलता रहेको बताए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मानव संवेदनासँग सबैभन्दा सजिलै जोडिने साहित्य, गीत, सङ्गीतका रचना भएकोले आचार्यका गीतले परिवर्तनको बाहक बन्ने अपेक्षा गरेकाे बताए । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले आशा जगाउने गीतमार्फत् युवालाई यही माटोमा रहेर आफ्नो कर्म गर्न प्रेरित गर्ने कालजयी गीत बनेको प्रतिक्रिया दिए ।
आचार्यकाे यस अघि ‘घाम त झुल्क्यो’ गीतको एल्बम सार्वजनिक भैसकेको छ । मकवानपुरकाे हर्नामाडी जन्मस्थान रही मकवानपुरलाई नै कर्म थलो बनाउँदै आएका उनले साहित्यकाे प्रगतिवादी धारमा अनवरत रुपमा कलम चलाउँदै आएका छन् । आचार्यका हालसम्म ५ वटा कृतिहरु प्रकाशित छन् । उनकाे भोको मझेरी – मुक्तक संग्रह २०६८, मुटु र गीतहरू – गीत संग्रह २०७०, Roaring flames – संयुक्त कविता संग्रह- २०७७, छैनौ कसोरी तिमी- ऊर्जाकाव्य २०७९, जुनेली – खण्डकाव्य, २०८० प्रकाशित भएका छन् ।
माध्यमिक तहमा नेपाली विषय अध्यापन गराउदै आएका उनकाे आफ्नै शब्द संगीत र आवाजमा केहि गीत, गजलहरू समेत स्वरबद्ध छन् । सर्जक संजाल मकवानपुरकाे आयोजनामा भंएकाे गीत सार्वजनिक कार्यक्रममा ढुंगेलकाे प्रमुख आतिथ्यता तथा निखिलकाे सभाध्यक्षता रहेकाे थियाे ।
मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।
एमाले मकवानपुरको जेठ १८ र १९ गते हुने १२ औं जिल्ला अधिवेशनको उद्घाटन गर्न ओली हेटौंडा आउने कार्यक्रम तय भएको मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक कमिटीले जानकारी दिएको हो।
जिल्ला अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको समेत पत्रकार भेटघाटमा बताइएको छ । अधिवेनका लागि विभिन्न समितिहरु गठन गरिएको छ । कुल ७६९ जना अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहने एमाले मकवानपुरका इन्चार्ज देवि ज्ञवालीले बताए।
अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको एमाले मकवानपुर सचिव नवीन सिग्देलले जानकारी दिए ।
अधिवेशनमा मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने छन् । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने सिग्देलले बताए । त्यसपछि जिल्ला कमिटीले १० प्रतिशत सदस्य मनोनीत गर्नेछ ।
अधिबेशनको लागि दुई सय जना स्वयंसेवक परिचालन गरिनुको साथै १२ वटा समितिहरु बनाई सम्पूर्ण तयारीको काम भईरहेको अध्यक्ष श्रेष्ठले बताए । उद्घाटन सत्रमा पार्टीका केन्द्रीय नेताहरु समेतको सहभागिता रहने बताइएको छ।