मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलानले सामुदायिक वनलाई बजेटकाे आवश्यक रहेकाे बताएका छन् । सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आयोजना गरेकाे विचार गोष्ठी तथा प्रशंशा-पत्र बितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘सामुदायिक वनलाई बजेटकाे व्यवस्था भएमा आम्दानीसँगै आयाअर्जनको लागि थप टेवा पुग्छ’ प्रमुख घलानले भने । आम्दानी भएकाे वन समूहले कम आम्दानी भएकाे वा आम्दानी नभएकाे वन सँग समन्वय गर्न सके क्षमता अभिबृदी भई अगाडी बढ्ने उनले बताए । ‘न्युनतम ५ हेक्टर क्षेत्रफल रहेको वनलाई आयअर्जन सँग जोड्न सकिन्छ, पर्यटन सग जोड्न सकिन्छ’ उनले भने ‘सामुदायिक वनको लगानी स्थानीय तहले बुझ्न जरुरी रहेको तथा प्रदेश तथा स्थानीय तहमा जोडिनुपर्छ ।’
नेपालमा ४५ प्रतिशत वन क्षेत्र रहेकोमा मकवानपुर जिल्लामा ६७ प्रतिशत रहेको बताउँदै प्रमुख घलानले भने बिज्ञहरुले ३० प्रतिशत वन क्षेत्र आवश्यक रहेकाे बताउँछन् । विपद्को क्षेत्रमा वनले धेरै सहयोग गरिरहेको उनले बताए । ‘वन क्षेत्रमा १० प्रतिशत स्थानीय तहले लगानी गरिरहेको छ’ उनले भने ‘सरकारी कार्यलयमा अनिवार्य रुपमा काठकाे सामग्री प्रयोग गर्नुपर्छ भन्ने नीति लिइएकाे छ ।’
‘अहिलेको समयमा बृक्षारोपण गरिनुका साथसाथै त्यसको संरक्षणमा समेत ध्यान दिनुपर्ने देखिन्छ’ उनले भने । ‘तपाईंहरुको मेहनत सराहनीय छ, डाडा काँडा हरियाली भएको छ’ उनले भने ‘निरन्तर अन्तरक्रिया, छ्लफलबाट समन्वय गरी अगाडी बढ्न जरुरी रहेको छ ।’
कार्यक्रममा वन समुह, वन अभियान्ताहरु र सञ्चारकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सामुदायिक उपभोक्ता वन समुहतर्फ हेटौंडा ६ काे चुच्चेखोला वन समुह, हेटौडा ५ काे पिप्लेपोखरा वन समुह, हेटौडा १९ काे चनौटा वन समुह, हेटौडा ६ काे रानी वन समुह, मकवानपुरगढी ५ काे बुङदल वन समुह र थाहा नगर स्थानीय महासंघ रहेकाे छ। यस्तै वन अभियन्ता बुद्धि प्रसाद पौडेल र बाल कुमारी थापालाई सम्मान गरेकाे छ । सञ्चारकर्मीतर्फ सुरेश श्रेष्ठ र भीमसेन पौडेललाई सम्मान गरिएकाे छ ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साघुराम चौलागाईंको सभाधक्षता तथा जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा डिभिजन वन कार्यलय हेटौंडाका प्रमुख राकेश चन्द्रबन्शी, वनस्पति अनुसन्धान केन्द्र प्रमुख रघुराम पराजुली, सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश सदस्य केशव प्रसाद न्यौपाने, सब डिभिजन कार्यलय हेटौंडा प्रमुख यदु कुमार घिमिरे, जिल्लाका विभिन्न वन उपभोक्ता समुहका पदाधिकारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । बागमती प्रदेश सरकारले लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएकाे छ । प्रदेश सरकार २५ साउनबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने तयारीमा रहेकाे छ।
प्रदेशकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन मार्फत खाेप संचालन गर्ने जानकारी दिएकाे हाे । गाई भैसीमा लाग्ने लम्की स्किन रोगको प्रभावकारी उपचार नभएकाले २५ साउन शुक्रवारदेखि श्रावण ३० गतेसम्म बागमती प्रदेशका १३ वटै जिल्ला खाेप अभियान सञ्चालन गर्ने मन्त्रालयले जानकारी दिएकाे छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले लम्की स्किन रोगको नियन्त्रण प्रयासबाट किसानको समस्या केहीहदसम्म समाधान हुने बताए। ‘प्रदेश सरकार किसानहरूको आर्थिक समृद्धिका लागि यस्ता प्रयासलाई निरन्तरता दिने प्रतिबद्ध छ” उनले भने ।
मन्त्रालयले चालु आर्थिक वर्ष प्रदेशका ७६ हजार २ सय ७५ गाई भैसीलाई खोप लगाउने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा प्रदेशका ४८ हजार ३ सय ६४ र मकवानपुरका ३१ हजार ६ सय ६ खोप लगाइएकाे थियो। लम्की स्किनका कारण गत वर्ष ११ हजार २ सय १८ पशुको मृत्यु भएको थियो । नेपालमा कूल ७५ अर्ब ४८ करोड रुपैयाँको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
यो रोग २०७७ साल असारमा प्रथम पटक नेपालमा देखापरेकाे थियाे । हाल ७७ वटै जिल्लामा राेग देखा परेकाे छ । रोगका कारण सामन्यतया १० देखि २० प्रतिशत पशुहरु बिरामी हुने र करिब १ देखि ५ प्रतिशतसम्म मृत्युदर देखिन सक्ने कार्यक्रममा जानकारी दिइएकाे थियाे ।
लम्पी स्किन रोगका कारण गाईभैंसीमा उच्च ज्वरो, शरीरमा गिर्खाहरू, सुन्निने जोर्नी र खुट्टा, थुनेलो देखापर्ने र दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने गरेको छ। प्रत्येक जिल्लामा स्थानीय तहसँगकाे समन्वयमा पशु सेवा कार्यालयहरु मार्फत खोप कार्य संचालन गरिने भएकाे छ । प्रत्येक स्थानीय तहहरुको लागि आवश्यकता अनुसार स्थानीय तहको समन्वयमा भ्याक्सिनेटरहरु समेत नियुक्ति गरिएको बताइएकाे छ ।
सौराहा (चितवन) । ८ बर्षदेखी टांगा चलाएर दैनिकी गुजारिरहेका टोनि पाउ सौराहाको हात्ती चोकमा पर्यटक कुरिरहेका थिए ।
सांझ ५ बजे चोकमा भेटिएका उनी पैदलयात्री देखिएपछि आफूले सेवा गर्ने मौका पाइने आशामा आँखा त्यतै लगाइरहेका देखिन्थे
“आज कतिखेप भ्याउनु भयो दाइ ?” प्रदाईको उत्तरमा उनले भने, “एकै खेप पाएको छैन, आज अलि ढिलो गरि निस्केको,त्यसमाथि अचेल पर्यटक नै छैनन्।”
हात्ती चोक नजिकै बसोवास गर्द आएका उनलेे पर्यटको आवागमन कम भएसंगै आफूहरू आर्थिक समस्या हुने बताए । “परिवारमा ५ जना छौ, आम्दानीको बाटो यतिमात्र हो,पढ्नेहरूलाई पढाउनै पर्यो, घरखर्च भैहाल्छ” उनले भने “अब कम्तीमा ३ महिना पर्यटक पाउनै कठिन छ।”
उनलेे जस्तै टांगा चलाएर दैनिकी चलाउंदै आएका ५० भन्दा बढी जना अहिले आफ्नो दैनिकीमा आएको सुस्तताले चिन्तामा छन् । उनीहरू मात्रै हैन, पर्यटनको सख्या घटेपछि होटल व्यवसायीहरुको कारोवार पनि सुस्ताएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्र बर्सातको तीन महिना ‘अफ सिजन’ मानिन्छ । असारको मनसुन सुरु भएसंगै पर्यटनको आवागमन पतलिदै गएको होटल व्यवसायी सम्राट लामाले बताए । “पर्यटक घटेपछि व्यापार स्वाट्टै घटेको छ” उनले भने ।
सौराहामा धेरै जसो पर्यटकहरूको मुख्य गन्तव्य हुन्छ जङ्गल सफारी गर्ने, वन्यजन्तुको अवलोकन गर्ने । तर १६ असारदेखि जिप सफारीका लागि जङ्गल प्रवेशमा रोक लगाइएपछि सौराहाको आकर्षण नै घटेको छ । तर निकुञ्जभित्र प्रवेश रोक लगाए पनि मध्यवर्ती क्षेत्रमा भने पर्यटकको गतिविधि लगभग उस्तै रहेको छ मध्यवर्ती क्षेत्रमा प्रवेश रोकिएको छैन ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार निकुञ्जमा जिप सफारी बन्द हो, अन्य गतिविधि बन्द नगरिएको कारण अझै पर्यटनलाई अवसर रहेको छ । अफ सिजनमा पर्यटकको सङ्ख्यामा गत वर्ष जस्तो कमी नआएको उनको भनाइ छ । उनका अनुसार अफ सिजन भए पनि २५/३० प्रतिशत पर्यटक अहिले सौराहा क्षेत्रमा आएका छन् । यहाँको व्यवसाय चलायमान रहनुमा मुख्यत पर्यटन नै हो ।
हाल निकुञ्जभित्र जङ्गल ‘वाक’, डुङ्गा सयर, सौराहाको कुमरोज, बाघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वनमा आउने पर्यटकका लागि हात्ती सफारी सञ्चालन भइरहेको छ ।
बर्सातमा रुख ढलेर बाटो बन्द हुने, जिप यात्रा जोखिम हुने, खोला बढेर बाढी आउनेलगायतका कारणले जिप सफारी बन्द गर्दै आएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । “हामीले हरेक वर्ष जिप सफारी बन्द गर्दै आएका छौँ, अहिले पनि तीन महिना बन्द गर्छौं,” निकुञ्जको ‘कोर’ क्षेत्रबाहिरका मध्यवर्ती सामुदायिक वनमा सधैँ हात्ती, जिप र डुङ्गा सफारी हुने जानकारी उनले बताए ।
पूर्वी चितवन, पश्चिम चितवन, माडी, नवलपरासीलगायतका निकुञ्जका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि नरोकिने उनले बताए । बाघमारा क्षेत्रमामात्रै एक वर्षमा एक लाख ५० हजारभन्दा बढी पर्यटकले सफारी गरेको थिए ।
सौराहा आएका पर्यटक सबैभन्दा धेरै यसै क्षेत्रमा सफारी गर्दछन् । यस वनमा हात्ती सफारी, ‘जङ्गल वाक’, जङ्गलमा बनाइएको मचानमा बासलगायतका गतिविधि गर्दै आएका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पाइने दुर्लभ एकसिङे गैँडा, पाटे बाघलगायतका वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् ।
३ दिनदेखी सौराहा अवलोकन गरिरहेका जापानी नागरिक समाई कोजिले आफूलाई प्रकृति दृश्यले आनन्द प्रदान गरेको बताए । नेपालमा मनसुन सुरु भएको ठ्याक्कै एक महिना भयो । यो बिचमा चितवन क्षेत्रमा नै सबैभन्दा बढी पानी परेको तथ्यांकले देखाउँछ । झरिसंगैको नदिको बहाव छिनछिनमै बढ्ने घट्ने गरेको छ । यहि बहाव हेरेर दंङ्ग छ जापानी नागरिक कोजि ।
विहिबार बिहानैबाट सुर्यदर्शन गर्न पर्खेको बताउंदै उनले भने “जंगलको दृश्यसँगै सुर्यास्त हेर्न लालायित थिएं,पाइन ।” यद्यपि दुरवीनको सहायताले केही जनावर हेर्न पाएको उनलेे बताए ।
उनी ३ दिनदेखि ४ जना परिवार सहित सौराहमा छन् ।
विदेशका लागि निकुञ्ज प्रवेशमा दुई हजार शुल्क तोकिएको छ । भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जिप सफारीका लागि दुई हजार शुल्क लाग्छ ।
युनाइटेड हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार मौसमकै कारण हात्ती सफारी बुकिङ घटेछ ।
अद सिजनको कारण आर्थिक कारोवार ८५/८० प्रतिशत घटेको होटल व्यसायिक विकल दाहालले बताए । युवा उद्यमी मंचको चितवनको निवर्तमान अध्यक्ष समेत रहेका उनी भन्छन् “मन्दीकै कारण त हाम्रो तिर त्यस्तो धेरै समस्य थिएन, अहिले अफ सिजनले चाहिँ व्यवसाय सुस्ताएको छ।”

उनको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’समेत पाउन नसकेको अवस्था छ। दैनिक १२ देखि १५ वटा ट्रिप आउने गरेकोमा वर्षा सुरुभएपछी यो लगभग सुन्यमा झरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार अब पानीको मौसम रहुन्जेल यो बन्द नै रहने छ ।
“अब असोज १० गतेदेखि निकुञ्ज खुला गरिनेछ, बाटो र पुलहरू धेरै बिग्रिएका छन् त्यसपछि पनि मर्मतको लागि समय लाग्न सक्छ।” असोज १० पछि ती ठाउँबाहेक अन्यत्र खुला गरिने उनले बताए।
पर्यटन क्षेत्र घोषणा गर्न माग
पर्यटनलाई अझै प्रवर्द्वन गरि व्यवसाय बढाउन तर्फ स्थानीय सरकारले ध्यान दिन माग गरिएको छ । स्थानीयवासीले गत ३० बैशाख २०८१ मा सौराहालाई पर्यटन क्षेत्र घोषणा माग गरेका थिए ।
साथै चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा पर्यटकहरुलाई लिइने पार्क टिकटको एक दिनको समयावधि अत्यन्तै कम भएको हुँदा यसलाई लम्ब्याइ कम्तीमा पाँच दिनसम्म लागू गर्न आग्रह गर्दै व्यवसायीहरुले माग गरेका थिए । यसबाट हाल जम्मा भइरहेको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि हुने विश्वास समेत दिलाएका छन् ।
स्थानीयले गृहमन्त्री मन्त्री रवि लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । गृहमन्त्री लामिछानेले सौराहालाई पर्यटन क्षेत्र घोषणा गरेर व्यवस्थित गराउनको लागि सकारात्मक रहेको प्रतिक्रिया पाएका स्थानीय कार्यान्वयनको प्रतीक्षामा छन् ।
पर्यटन गिज्याउने हिलाम्य सडक
पर्यटनको लागि आकर्षक गन्तव्य भए पनि यहाँका सडक पुर्वधार दिक्क लाग्छ बनेको छ । हिउँमा दुलाम्य हुने सडक अहिले बर्षमा भने होलाम्य भइरहेका छन् ।
नगरपालिका देख्दैन, खबरदारीमात्रै कती गर्नु स्थानीय व्यापारी सुजन खत्रीले भने “देश विदेशका पर्यटक आउने बजारको सडकको हातल लाजमर्दो छ ।” सौराहा बजारको हात्ती चोक, गैंडाचोक र चराचोक आसपासको भत्केका सडकको मर्मत, जिर्णोद्वार नभएपछि बर्षमा समस्या ग्रस्त बनेका छन् । ढलको राम्रो व्यवस्थापन नहुंदा सडक थप हिलो हुने गरेको स्थानीय संझना जैसिले बताइन् ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले विकट क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुपर्ने बताएका छन् । सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड अनुदान मार्फत् निर्माण गरिएको स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण कार्यक्रममा बिहीबार मन्त्री थापाले उक्त कुरा बताएका हुन् ।
‘नागरिकहरुको गुनासो सम्बोधन गर्दै विकट क्षेत्रमा सरकारका सेवा सुविधा र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न चुनौति रहेको छ’ उनले भने ‘तीन तहको सरकारसँगको समन्वयमा स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय बनाउनु गम्भीर हुनुपर्छ ।’ उनले आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु नीति कार्यक्रम र योजना निर्धारण गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
सरकारका कमजोरीका कारण नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्ने अवस्था रहेकाेले पिछडिएका वर्गलाई समेत स्वास्थ्य सेवाको मुलधारमा ल्याउन पहल गरिने उनले बताए । ‘प्रदेश सरकारसँग पर्याप्त भौतिक संरचना नहुँदा औषधी तथा भ्याक्सिनजन्य सामग्रीहरुको भण्डारणमा समेत समस्या हुँदै आएको थियाे’ उनले भने ‘नयाँ भवन प्राप्त भएसँगै भण्डारणका कारण औषधीजन्य पदार्थको गुणस्तर कायम गर्न तथा व्यवस्थापनमा समस्या भोग्नु परेको अवस्था अन्त्य भएको छ ।’
अन्तर्राष्ट्रिय दातृ संस्था सेभ द चिल्ड्रेनद्वारा ३ करोड २८ करोडको लागतमा निर्मित स्वास्थ्य सामग्री भण्डारण भवन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बिहीबार हेटौंडामा सेभ द चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले औपचारिक रुपमा भवन प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् । राष्ट्रिय निर्देशक तारा क्षेत्रीले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका नवनिर्मित भवन उपयोगी हुने बताइन् । सरकारको विकेन्द्रीकृत र पहुँचयोग्य स्वास्थ्य प्रणालीको अवधारणा अनुरुप सो भवन निर्माण गरिएको उनले जानकारी दिइन् । क्षयरोग,औलो,एचआईभी सम्बन्धी स्वास्थ्य सेवाहरु र औषधीहरु प्रभावित नागरिकको पहुँचमा पुर्याउन तथा अस्पताल र फार्मेसीहरुबीचको समन्वयमा भवन महत्वपूर्ण हुने उनले बताइन् ।
४७० वर्ग मिटर क्षेत्रफलमा निर्माण भएकाे भवन अपांगता–मैत्री, सीसीटीभी क्यामरा निगरानी, फायर अलार्म प्रणालीयुक्त र चौबिसै घण्टा सौर्य उर्जा व्याकअप प्रणाली जडित भवन ३ महिनामा नै निर्माण सम्पन्न गरिएको हो । सेभ द चिल्ड्रेन नेपालका अनुसार २०८० चैत ४ मा निर्माण सुरु गरिएको उक्त भवन २०८१ असारमा नै निर्माण सम्पन्न भएकाे हाे ।
उक्त भवन विविध प्रकारका औषधि तथा चिकित्सा क्षेत्रको सामग्रीहरु उचित तवरले भण्डारण गर्न निकै उपयोगी हुनेछ । विशेषगरी स्वास्थ्य सेवाबाट बञ्चित सर्वसाधारणको औषधीसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न भवन प्रभावकारी हुने बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले चालु आर्थिक वर्षबाट कृषि ऋणमा ब्याज अनुदान दिन सुरु गर्ने बताएका छन् ।
बुधबार मन्त्रालय अन्तरगतकाे कृषि विकास निर्देशनालयले गरेकाे वार्षीक प्रगति समीक्षा गोष्ठीमा उनले यस्ताे बताएका हुन् । गोष्ठीमा मन्त्री श्रेष्ठ श्रेष्ठले कृषि क्षेत्रमा बजेट बढाउनु पर्ने बताउँदै पहल गर्ने जानकारी दिए ।
कृषि विकास निर्देशनालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले कार्यालयको उपलब्धि सन्तोषजनक रहेको तर अझै सुधार गर्न बाँकी रहेकाे बताए। उनले नयाँ मोडलबाट कार्य सञ्चालन गर्न लागिएको जानकारी दिए।
साउन २२ र २३ गते भएकाे गोष्ठीमा निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठले गत वर्षको प्रगति प्रस्तुतिसँगै यस वर्ष थप प्रगति हासिल गर्न उपलब्ध स्रोत साधनको उचित प्रयोग गर्नुपर्ने बताए। कार्यक्रममा कृषि क्षेत्रको बजेट वृद्धि, सेवा प्रवाह सुधार, पारदर्शिता र सुशासनमा जोड दिनुपर्ने विषयमा छलफल भएकाे थियाे ।
सहभागीले रैथाने बालीको प्रवर्द्धन र नयाँ कार्यक्रम मोडेलको कार्यान्वयनमा जोड दिएका थिए। निर्देशनालय मातहतका १९ वटा कार्यालयहरूले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका गोष्ठीले आगामी वर्षका लागि रणनीति तय गर्न मद्दत पुग्ने आयोजकले जनाएकाे छ ।