मकवानपुर । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका ३४ पदमा उपनिर्वाचन गर्ने गरी तयारी थालेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा आयोगले उपनिर्वाचन आगामी मंशिरमा गर्ने प्रस्ताव गरेको हाे ।
३० वैशाख २०७९ मा भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभर विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको आयोगले जनाएकाे छ ।
गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत पदपूर्तिका लागि आन्तरिक तयारी गरिरहेको आयोगका प्रवक्ता रघुराम विष्टले बताए ।
निर्वाचनको लागि मतदाता नामावली महत्वपूर्ण रहेकाेले मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको आयोगले प्रकाशित गरेकाे विज्ञप्तिमा भनिएकाे छ । ‘नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोग सबैमा आग्रह गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान समेत गरेकाे छ ।
मकवानपुर । देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको महाशाखाले जनाएकाे छ । बागमती, कोशी, मधेश, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बुधबार राति बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षति हुन सक्ने भएकाेले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले प्रदेशमा एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न निर्देशन दिएका छन्।
मंगलबार हेटौंडामा एमालेका नेता भट्टराईले मन्त्रीहरूलाई प्रदेशप्रति देखिएको नकारात्मक धारणा हटाउन उत्कृष्ट कार्यसम्पादन गरेर जनतामा आशा जगाउन गरी कार्य गर्न आग्रह गरे। उनले मन्त्रीहरूलाई आफ्नो योग्यता, क्षमता र इमान्दारिता प्रदर्शन गर्ने अवसर आएको बताउँदै जनतासँग नजिक रहेर काम गर्न सुझाव दिए।
एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अहिलेकाे सरकार निर्वाचन अघिसम्म रहने बताउँदै मन्त्रीहरुले “सुनौलो बागमती” निर्माणको लागि कार्यकुशलता पूर्वक कार्य गर्नु पर्ने बताए । प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिए।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले वर्तमान गतिविधिबारे जानकारी गराए। कार्यक्रममा एमालेका वरिष्ठ नेताहरू पार्वत गुरुङ, डोरमणि पौडेल, बाबुराम थापा, दावादोर्जे लामा लगायतकाे उपस्थिति रहेको थियो।
मकवानपुर । हेटौडा उपमहानगरपालिकाको वडा नं. ७ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएकाे छ । आगामी १ भाद्र शनिबार औपचारिक रूपमा वडालाई बालमैत्री घोषणा गरिने मंगलबार पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ बालमैत्री नगर वडा घोषणाकाे चरणमा रहेकाेले वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–७ का वडाध्यक्ष दामोदर गौतमले जानकारी दिए ।
बालमैत्री वडा घोषणाकाे लागि वडाध्यक्ष गौतमको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेकाे बताइएकाे छ ।
गौतमका अनुसार, बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु पूर्ण रुपमा, १ वटा सुचक ९८ प्रतिशत, १ वटा सुचक ८५ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत, १ वटा सुचक ९९ प्रतिशत र १ वटा सुचक ९९.७३ प्रतिशतसम्म हासिल गरेकाे छ ।
वडामा १८ वर्षमुनिका १,८९८ बालबालिका रहेका छन्। १० वटा बाल समूह र एक वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । जसमा २५० जना बालबालिका आबद्ध छन्। विभिन्न संरचनागत समितिहरूमा समेत २६२ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ।
वडाले बालबालिकाको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। दुई विद्यालयमा बाल विकास केन्द्र सञ्चालनमा छन् भने विद्यालयहरूमा छात्र-छात्राका लागि अलग-अलग शौचालय, सेनेटरी प्याड वितरण, र खेलकुद सामग्री वितरण गरिएको छ।
वडाध्यक्ष गौतमले बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदारको रूपमा विकास गर्न प्रयत्नशील रहेको बताए। उनले बालमैत्री वडा घोषणापछि पनि यसको दिगोपनाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
बालमैत्री वडा घोषणा कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गर्ने गौतमले जानकारी दिए । उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा वडा कार्यालयको प्राङ्गनबाट प्रभातफेरी सहित वडा परिक्रमा गरिने र त्यसपछि औपचारिक कार्यक्रम हुने बताइएकाे बताए ।
हेटौडाकाे ७ नम्बर वडा नगरकाे तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा हुने छ । यसअघि हेटौंडाकाे ८ र २ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे छ ।
मकवानपुर । बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग व्यवसायीको हकहितका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको बताएकी छिन् ।
हेटौंडा उपमहानगरपालिकाले राजस्वमा एक्कसी वृद्धि गरेपछि आन्दोलनरत व्यवसायीसँगको भेटमा मन्त्री तामाङले यस्तो बताएकी हुन् । मंगलवार उद्योग वाणिज्य संघ मकवानपुरकाे ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले प्रदेश सरकार व्यवसायीहरुको पक्षमा रहेको बताएकी हुन् ।
मन्त्री तामाङले ब्यवसायीलाई मर्कामा पर्ने कुनै पनि काम नगर्ने समेत प्रतिवद्धता जनाईन् । “व्यवसायीहरुको हकहितका लागि मेरो सँधै समर्थन रहन्छ, व्यवसायीहरुको समस्यालाई समाधान गर्न संघसँग समन्वय गरेर सहजीकरण गर्नेछु” मन्त्री तामाङले भनिन् ।
‘व्यवसायीहरुले व्योहोर्नु परेका झण्झटीलो प्रणालीलाई पनि एकद्वार प्रणालीबाट लैजान प्रयास रहने उनले बताइन् । मन्त्री तामाङले व्यवसायीहरुलाई ढाँड सेक्नेगरी करबृद्धि नगर्न समेत स्थानीय तहलाई समेत आग्रह गरिन् ।
व्यवसायी, उद्यमी चरम मारमा रहेका बेला हेटौंडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीहरू आन्दोलित छन् । संघको अगुवाईमा मकवानपुरका व्यवसायीले आन्दोलनको घोषणा समेत गरेका छन् । संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाँबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ ।
असार ७ मा भएको उपमहानगरको १५ औं नगरसभाबाट राजस्व दरमा बृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ को लागि घरबहालकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व बृद्धि गरेको हो । व्यवसायीहरुले उपमहानगरपालिको उक्त निर्णयविरुद्ध यसअघि नै ध्यानाकर्षण गराएका थिए ।
उवासंघ मकवानपुरका अध्यक्ष कृष्ण गुप्ता अग्रवालको नेतृत्वमा ज्ञापन पत्र बुझाएको कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कँडेल , होटल एशोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशी र उद्योग वाणिज्य महासंघ मकवानपुरका उपाध्यक्ष उज्वल चौलागाईं लगायतको उपस्थिती रहेको थियो ।