मकवानपुर । बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग व्यवसायीको हकहितका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको बताएकी छिन् ।
हेटौंडा उपमहानगरपालिकाले राजस्वमा एक्कसी वृद्धि गरेपछि आन्दोलनरत व्यवसायीसँगको भेटमा मन्त्री तामाङले यस्तो बताएकी हुन् । मंगलवार उद्योग वाणिज्य संघ मकवानपुरकाे ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले प्रदेश सरकार व्यवसायीहरुको पक्षमा रहेको बताएकी हुन् ।
मन्त्री तामाङले ब्यवसायीलाई मर्कामा पर्ने कुनै पनि काम नगर्ने समेत प्रतिवद्धता जनाईन् । “व्यवसायीहरुको हकहितका लागि मेरो सँधै समर्थन रहन्छ, व्यवसायीहरुको समस्यालाई समाधान गर्न संघसँग समन्वय गरेर सहजीकरण गर्नेछु” मन्त्री तामाङले भनिन् ।
‘व्यवसायीहरुले व्योहोर्नु परेका झण्झटीलो प्रणालीलाई पनि एकद्वार प्रणालीबाट लैजान प्रयास रहने उनले बताइन् । मन्त्री तामाङले व्यवसायीहरुलाई ढाँड सेक्नेगरी करबृद्धि नगर्न समेत स्थानीय तहलाई समेत आग्रह गरिन् ।
व्यवसायी, उद्यमी चरम मारमा रहेका बेला हेटौंडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीहरू आन्दोलित छन् । संघको अगुवाईमा मकवानपुरका व्यवसायीले आन्दोलनको घोषणा समेत गरेका छन् । संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाँबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ ।
असार ७ मा भएको उपमहानगरको १५ औं नगरसभाबाट राजस्व दरमा बृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ को लागि घरबहालकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व बृद्धि गरेको हो । व्यवसायीहरुले उपमहानगरपालिको उक्त निर्णयविरुद्ध यसअघि नै ध्यानाकर्षण गराएका थिए ।
उवासंघ मकवानपुरका अध्यक्ष कृष्ण गुप्ता अग्रवालको नेतृत्वमा ज्ञापन पत्र बुझाएको कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कँडेल , होटल एशोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशी र उद्योग वाणिज्य महासंघ मकवानपुरका उपाध्यक्ष उज्वल चौलागाईं लगायतको उपस्थिती रहेको थियो ।

