मकवानपुर । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका ३४ पदमा उपनिर्वाचन गर्ने गरी तयारी थालेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा आयोगले उपनिर्वाचन आगामी मंशिरमा गर्ने प्रस्ताव गरेको हाे ।
३० वैशाख २०७९ मा भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभर विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको आयोगले जनाएकाे छ ।
गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत पदपूर्तिका लागि आन्तरिक तयारी गरिरहेको आयोगका प्रवक्ता रघुराम विष्टले बताए ।
निर्वाचनको लागि मतदाता नामावली महत्वपूर्ण रहेकाेले मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको आयोगले प्रकाशित गरेकाे विज्ञप्तिमा भनिएकाे छ । ‘नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोग सबैमा आग्रह गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान समेत गरेकाे छ ।

