१.
धेरै कोठा नभए पनि उहिले, घरभित्र मान्छेकै जगजगी हुन्थ्यो
सबै जनासँगै एकै ठाउँ भेला भइन्थ्यो, भान्सामै मगमगी हुन्थ्यो
अहिले कोठा छन् सुनसान छ, तर कुरा गर्ने कोही पनि नभैदिँदा,
सबै कुरा भएर पनि मान्छे एक्लो, पहिले हाँसोकै रगरगी हुन्थ्यो ।
२.
नजिकै रहँदा देखिँदैन, सबैमा आत्मीयता
टाढै हुँदा पनि देखिन्छ, कसैमा आत्मीयता
दूरीले तय गर्दैन, कसैको भावनाको गहिराई,
थाहै न दी झल्किन्छ, हुँदा मनैमा आत्मीयता ।
३.
मौलिकता र आधुनिकताबिच जुहारी पो चलेको छ
पहिले सासूको चल्थ्यो अहिले बुहारीको चलेको छ
भन्थे घुमिफिरी आउँछ परिवर्तन नयाँ र पुराना कुरामा,
वर्णविन्यासको आघातमा शब्दको गुहारी यो चलेको छ !
४.
दैनन्दिन क्रियाकलाप टक्र्याउने माध्यम भएको छ फेसबुक
आफ्ना सबै कुराहरू प्रस्ट्याउने माध्यम भएको छ फेसबुक
सबै कुरा यतै हुने हुँदा के महत्व भो भेटघाट र कुराकानीको,
पारदर्शी हुँदै सबै कुरा नङ्ग्याउने माध्यम भएको छ फेसबुक !
५.
लाजले पनि हिजोआज आफैँसित, लाज पो मान्न थाल्यो
बजारमा हिँड्दा घुम्दा सुन्दा आफैँ, पछ्यौरी तान्न थाल्यो
मर्यादामा बस्न घुमफिर गर्न, ओत खोज्दै छ लजाउँदै लाज,
नसकी देख्न यी उग्र चर्तिकला, कालो चश्मा छान्न थाल्यो !
बुटबल हाल कम्बाेडिया
मकवानपुर । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले नागरिकले घरमै बसेर सुविधा लिने गरी योजना बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । मन्त्रालयको आयोजनामा मंगलबार हेटौंडामा भएकाे सवारी कर तथा नविकरण, दस्तुर संकलन व्यस्थापनका बिषयमा अन्तरक्रियामा उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रदेश सरकार र मातहतका कार्यालय प्रति नागरिकको विश्वास बढाउन विश्वस्त हुनेगरी कार्यसम्पादन गर्नु पर्ने बताउँदै मन्त्री महर्जनले भने, ‘यातायातसम्बद्ध करमा राखिएको छुटको व्यवस्था बारे संचारमाध्यम र सामाजिक संजाल मार्फत् सूचना सम्प्रेषण गरि सुसूचित गर्न आवश्यक रहेकाेले काम गर्न लागि परौं ।’
यस्तै, कार्यक्रममा प्रदेश आर्थि मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मन्त्रालयहरुले बनाएको योजनाहरुको कार्यान्वयनमा अर्थ मन्त्रालयले सधैं साथ दिने बताए ।
कार्यक्रममा सार्वजनिक खरिद ऐन, नियमावली अनुसार बाई ब्याक मेथोड अर्थात् पुरानो दिने नयाँ लिने विधिबाट सरकारी निकायले बिक्री गर्ने सवारी साधनको नामसारीको कार्यविधि तयार पार्ने सम्बन्धमा सुझाव दिन गठित कार्यदलको प्रतिवेदन समेत मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशमा चालु आर्थिक बर्षको लागि जारी आर्थिक ऐनमा यातायात क्षेत्रसँग सम्बन्धित कर संकलनको व्यवस्थाको कार्यान्वयनमा प्रशासनिक सुधार, प्रभावकारीता तथा सेवा प्रवाहका सम्बन्धमा गर्न सकिने सुधारका विषयमा छलफल भएको थियो ।
मकवानपुर । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित भएकाे प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकाे प्रभावले कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना समेत रहेको छ।
मंगलबार राति देशैभर आंशिकदेखि साधरणतया बदली रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मकवानपुर । सोमबार परेकाे वर्षाकाे कारण हेटौंडा काठमाडौ जाने २ वटा सडक अवरुद्ध भएकाे छ । हेटौडा सिस्नेरी कुलेखानी फर्फिङ काठमाडौं सडक र हेटौडा ठिंगन सातदाेबाटो कान्तिराजपथ अरुद्ध भएकाे हाे ।
मकवानपुरकाे इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ रामचन्द्र भञ्ज्याङ स्थित सिस्नेरी कुलेखानी फर्फिङ काठमाडौं सडक खण्डमा सोमबारकाे बर्षाको कारण लेदो खसी बाटो पूर्णरुपमा अवरोध भएको मकवनापुर प्रहरीले जनाएकाे छ ।
यसैगरी मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नम्बर ८ महादेवटार स्थित कान्तीलोकपथ सडकखण्डमा सोमबारकाे बर्षाको कारण लेदो खसी बाटो पूर्ण रुपमा अवरोध भएको हाे ।
सिस्नेरीकाे रामचन्द्र भञ्ज्याङ स्थित सडक खण्डमा प्रहरी चौकी सिस्नेरीकाे टोलीले डिभिजन सडक कार्यालयसँग समन्वय गरि जेसीवी समेतकाे सहयाेगमा बाटोकाे लेदाे पन्छाउने कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।
यसैगरी कान्तिलाेकपथमा इलाका प्रहरी कार्यालय ठिंगनकाे टोलीले सडक विभाग तथा फाष्ट्रा ट्याकसँग समन्वय गरी बाटोकाे अवरोध हटाउने कार्य गरिरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपु्रले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर १० स्थित बसपार्कमा रहेको एक होटलमा एक युवती मृत फेला परेकी छिन्। मृत अवस्थामा फेला पर्नेमा हेटौँडा १ की २३/२४ वर्षीय एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
उक्त महिला एक पुरुषसँग आइतबार हेटौडा १० स्थित रत्न होटलमा बसेका थिए । बिहान अबेरसम्म काेठा नखुलेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली र हाेटल संचालन,जनप्रतिनिधिले ढाेका खाेलेर हेर्दा युवती मृत पाइएकाे थियाे ।
युवती ओछ्यानमा मृत अवस्थामा रहेकाे पाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
कोठा भित्रबाट लक गरिएको अवस्थामा रहेको पाइएकाेले सँगै आएका युवकले न्यौपानेको हत्या गरेर झ्यालबाट बाहिर निक्सिएकाे प्रहरीले आशंका गरेकाे छ । ‘युवतीसंगै हाेटल गएका पुरुष आइतबार रातिनै निस्किएको देखिन्छ’ भण्डारीले भने ‘उनको खोजी कार्य भइरहेकाे छ।’
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ भने मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ ।