मकवानपुर । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित भएकाे प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकाे प्रभावले कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना समेत रहेको छ।
मंगलबार राति देशैभर आंशिकदेखि साधरणतया बदली रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

