मकवानपुर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीसमेत चल्ने सम्भावना रहेको छ।
यसैगरी आइतबार राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा तथा कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा वर्षासँगै हावाहुरीको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ बनस्पतिमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ महायज्ञको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले शनिबार शुभारम्भ गरेका छन् ।
असोज ५ गतेसम्म हुने महायज्ञ हेटौंडा १३ मा अवस्थित कालेश्वर महादेव मन्दिरको पूर्ण संरचना र अक्षयकोष स्थापनाका एवम् बुद्ध मूर्ति निर्माणलागि आयोजना गरिएकाे आयोजकले जानकारी दिएकाे छ ।
महायज्ञ शुभारम्भ गर्दै श्रेष्ठले नेपालमा बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक समाजको महत्त्व र यसको समग्र विकासको आवश्यकता रहेकाे बताए । “हाम्रो समाज इन्द्रेणी जस्तै विविध रङ्गले भरिएको छ। यहाँ विभिन्न जाति, धर्म र आस्था भएका मानिसहरू छन्। हामीले सबै धर्मको विचारलाई समान रूपमा सम्मान गर्नुपर्छ” उनले भने “सनातन धर्मलाई धार्मिक, सांस्कृतिक, सामाजिक र पर्यटकीय क्षेत्रमा विकास गर्न सकिन्छ’ उनले भने ’यसबाट आर्थिक उपार्जन र पर्यटन प्रवर्द्धन समेत सकिन्छ ।”
यस्ता कार्यक्रमले विविधतालाई सम्मान गर्दै, सबै समुदायको सहभागितामा आधारित समावेशी विकासको आवश्यकतालाई रेखाङ्कित गरेकाे उनले बताए । धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्ने कार्यमा हामी सबैले प्रयास गरीरहनुपर्ने उनले जानकारी दिए ।
श्रीमदभागवत कथा बाचन पण्डित कपिलदेव भट्टले गर्नु हुनेछ भने उप-वाचक पण्डित डेगनाथ ढकाल रहेका छन् । कार्यक्रमा सम्पूर्ण दिवंगत आत्माहरुको बैकुण्ठ बासहोस् तथा पितृ उद्धार गर्ने उद्देश्यले कथा वाचन, पाठपरायण तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट भजन कीर्तन, संगीतमय देवलिला झाँकी नाटक सहितको कार्यक्रम हुने भएको मुल आयोजक समारोका संयोजक सन्तबहादुर तितुङले जानकारी दिए ।
श्रीमदभागवत उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलान, टोल विकास वडा समन्वय समितिका संयोजक बालकुमार श्रेष्ठ, कृष्ण प्रसाद दाहाल, वसन्त लामा, बिन्दबासिनी टोलबिकास संस्थाका अध्यक्ष रत्नबहादुर केसी, सहारा टोलबिकास सस्थाका अध्यक्ष अशोककुमार डिमडुङ, मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर भ्लोन लगायतकाकाे सहभागी थियाे ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज भदौ २९ गते शनिबार मनाइदै गरिएको राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा शुभकामना दिनु भएकाे छ । ।
प्रमुख देकोटाले शुभकामना सन्देश जारी गर्दै नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता लगायतका विषयमा अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइरहेको उल्लेख गरेका छन् । संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई नेपालले अनुमोदन गरेको दिन (१४ सेप्टेम्बर १९९०) को स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हामीले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएका छौं ।
यस वर्ष पनि “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति, कानून र संस्थागत संरचनाहरू निर्माण गरेको भएपनि अझै पनि बालबालिकाको सवालमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् । उनले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालयलगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका अपरिहार्य रहेको सन्देश मार्फत बताएका छन् ।
राज्यबाट संवैधानिक, नीतिगत, कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित रहेको उनले शुभकामना सन्देशमा उल्लेख छ । “बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन सबैको दायित्व हो” उनले सन्देशमा भनेका छन् । “बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न म सम्बद्ध पक्षलाई हार्दिक अनुरोध गर्दछु” उनले भने ।
प्रदेश प्रमुख देवकोटाले बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज, निजी क्षेत्रले निर्वाह गर्दै आएको भूमिकाप्रति पनि हार्दिक धन्यवाद दिएका छन् । बालबालिका आजका साझेदार र भविष्यका कर्णधार भएको उल्लेख गर्दै उनीहरूको उचित पालनपोषण, शिक्षा, समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न उनले सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्नेमा विश्वास व्यक्त गरेका छन् ।
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेवेले युवा आन्दोलन मार्फत नेपालको राजनीतिलाई परिवर्तन गर्दै अहिलेकाे अवस्थासम्म ल्याउन अग्रणी भूमिका खेलेको संगठन राष्ट्रिय युवा संघ नेपाल भएकाे बताएका छन् ।
युवा संघ नेपाल जिल्ला समिति मकवानपुरकाे १० औ जिल्ला अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले भने ‘मकवानपुरकाे अधिवेशनले जिल्लालाई नेकपा एमालेको लाल किल्ला बनाएर अगाडी बढ्न अहम् भूमिका खेल्नेछ।’ संस्थापक अध्यक्ष केपी शर्मा औली नेपालीको आशा र भरोसाको केन्द्र बिन्दु हुनुमा संघकाे नेतृत्व गर्दाकाे भूमिकाले भएकाे उनले बताए ।
‘एमालेकाे मिसन ८४ मा सफल हुन युवाहरुको नेतृत्वलाई प्राथमिकतामा राखिन पर्छ‘ थेवेले भने ‘हामीले पनि एक मन र एक मत बनाउदै एकता कायम गर्नु पर्छ ।’ युवाहरू बिदेशिनुमा राजनीति गर्नेहरु दाेषी देख्नेलाई लक्षित गर्दै उनले भने ‘१ करोड युवाहरु देशमै छन् ।’ जस्ले देशमा युवा छैनन् भन्छन् उनीहरुको सोच युवा मैत्री नभएकाे उनले बताए । ‘संगठनमा लागेपछि हामीले कति समय दिन सक्यौं भन्ने कुराले बढी महत्व राख्ने गर्छ’ उनले भने संगठकाे जोडिएर पदमा बस्दैमा साङ्गठनिक सदस्य भइदैन् ।’ हामीले लिएको संगठनको पद अनुसार समय दिन तयार रहनु पर्ने उनले बताए ।
उनले युवाहरुको अबकाे अभियान संविधान अनुसार देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने हुनु पर्ने बताए । युवाकाे अभियानले आगामी दिनमा नेकपा एमालेलाई एकल बहुमतको पार्टी बनाउँछ भन्ने आशा बोकेको उनले बताए । । ‘युवाहरुलाई रोजगार, उद्यमशिलता, खेलकुद, मनोरञ्जन लगायत क्षेत्रमा जोड्न सके मात्र संगठन प्रती प्रतिवद्ध हुनेछन्’ उनले भने । ‘नयाँ नेपाल बनाउने, देशलाई समृद्ध बनाउने काम बिदेशीले गर्दैनन् राष्ट्रिय युवा संघ नेपालले गर्नेछ’ उनले भने ।
नेपालको राजनीति लाई स्थिरता दिनु नेकपा एमालेको प्रमुख उद्देश्य रहेकाेले पटकपटक को सरकार परिवर्तनले नेपाली जनता दुखी भएका बताउँदै थेबेले भने दिगो सरकार निर्माणको लागि संसदको ठुलो दलहरू मिलेर हालको सरकार निर्माण गरिएको हो ।’
शुक्रबार हेटौडा उपमहानगरपालिका १३ पदमपोखरीमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला समिति मकवानपुरकाे १० औ जिल्ला अधिवेशन सुरु भएकाे हाे । अधिवेशन दुई दिनसम्म चल्ने बताइएकाे छ । अधिवेशनमा जिल्लाका २५० प्रतिनिधिले भाग लिएकाे आयोजक कमिटीले जनाएकाे छ । अधिवेशनले आगामी २ बर्षको लागि ६ पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ ।
हालका जिल्ला संयोजक नगरकाेटी अध्यक्षकाे आकांशी रहेका छन् । युवा संघ मकवानपुरकाे नेतृत्व लिन आफू तयार रहेको नगरकोटीले बताउँछन् । आफूलाई संगठनको जिम्मेवारी प्राप्त भएको अवस्थामा हरघरमा युवा संघको सदस्य बन्ने वातावरण बनाउने उनले बताए ।
केन्द्रीय अध्यक्ष थेबेलाई युवा संघले पदमपोखरी गुम्बाचोकमा स्वागत गरेपछि सुरु भएकाे झाँकीसहितको मोटरसाइकल र्याली बजार प्रवेश गराउदै कार्यक्रम स्थल पुगेकाे थियाे । र्यालीकाे व्यवस्थापन हेटौंडा १२, १३,१४ का संगठन तथा पार्टी नेतृत्वले व्यवस्थापन गरेकाे थियाे । उद्घाटन कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहेकाे थियाे ।
अधिवेशन जिल्ला संयोजक राजेश नगरकोटीको अध्यक्षता एवम् राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेवेकाे प्रमुख आतित्थतामा भएकाे अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना, नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणी पौडेल, संघीय संसद सत्ता पक्ष मुख्य सचेतक महेश बर्तौला, युवा संघ केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, केन्द्रीय महासचिव सुमन पुरी , एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल लगायतकाकाे उपस्थिति थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी तेस्रो संस्करणको रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । शुक्रबार बिहान पहिलो चरणको अन्तिम एक खेल सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
शुक्रबारकाे पहिलाे चरणकाे अन्तिम खेलमा वीरगञ्ज एकेडेमी भेट्रान्सलाई ४–१ गोलले हराउदैं पोखराको बगरभाइ भेट्रान्सल क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । बिहीबारकाे खेल वर्षाकाे कारण राेकिएपछि शुक्रबार खेलाइएकाे थियाे । यस अघि बिहीबार भएकाे नव जनजागृति भेट्रान्स, सिमराले सानो गौचरण नाईट किङ भेट्रान्सलाई ४–३ गोल अन्तरले पाखा लगाउँदै क्वाटरफाइनल प्रवेश गरेको थियाे । निर्धारित समयमा दुबै टाेलीबाट २–२ गोलकाे बराबरी भएपछि खेलकाे निर्णय टाइब्रेकरबाट लिइएकाे थियाे । टाइब्रेकरमा नव जनजागृतिले सानो गौचरणलाई ४-३ ले पराजित गरेको हो ।
यो सँगै शुक्रबार दिउँसोबाट दोस्रो चरणका खेल हुने आयोजकले जनाएकाे छ । प्रतियोगिता अन्तर्गत सेमिफाइनल प्रवेशका लागि शुक्रबार दुई खेल हुँदै छ । हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा हुने पहिलो खेल पुर्वेली भेट्रान्स क्लब झापा र सिमरा भेट्रान्स बारा बीच हुनेछ भने दोस्रो खेल चितवन भेट्रान्स क्लब र फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौं बीच हुनेछ ।
३१ भदौ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको १५ टिमले सहभागिता जनाएका छन् । जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगकाे लागि आयोजना गरिएकाे प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने छन् ।
रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौंडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।