मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी तेस्रो संस्करणको रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । शुक्रबार बिहान पहिलो चरणको अन्तिम एक खेल सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
शुक्रबारकाे पहिलाे चरणकाे अन्तिम खेलमा वीरगञ्ज एकेडेमी भेट्रान्सलाई ४–१ गोलले हराउदैं पोखराको बगरभाइ भेट्रान्सल क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । बिहीबारकाे खेल वर्षाकाे कारण राेकिएपछि शुक्रबार खेलाइएकाे थियाे । यस अघि बिहीबार भएकाे नव जनजागृति भेट्रान्स, सिमराले सानो गौचरण नाईट किङ भेट्रान्सलाई ४–३ गोल अन्तरले पाखा लगाउँदै क्वाटरफाइनल प्रवेश गरेको थियाे । निर्धारित समयमा दुबै टाेलीबाट २–२ गोलकाे बराबरी भएपछि खेलकाे निर्णय टाइब्रेकरबाट लिइएकाे थियाे । टाइब्रेकरमा नव जनजागृतिले सानो गौचरणलाई ४-३ ले पराजित गरेको हो ।
यो सँगै शुक्रबार दिउँसोबाट दोस्रो चरणका खेल हुने आयोजकले जनाएकाे छ । प्रतियोगिता अन्तर्गत सेमिफाइनल प्रवेशका लागि शुक्रबार दुई खेल हुँदै छ । हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा हुने पहिलो खेल पुर्वेली भेट्रान्स क्लब झापा र सिमरा भेट्रान्स बारा बीच हुनेछ भने दोस्रो खेल चितवन भेट्रान्स क्लब र फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौं बीच हुनेछ ।
३१ भदौ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको १५ टिमले सहभागिता जनाएका छन् । जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगकाे लागि आयोजना गरिएकाे प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने छन् ।
रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौंडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।

