मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारकाे खेलमा परेली युवा क्लब, ईन्टरनेट सिटि, राप्तीरिभर युवा क्लव, पिप्ले युवा क्लव विजयी भएकाे छ ।
बिहीबार हेटौडा ११ सिमलटार खेल मैदानमा एफसी इन्टरनेटलाई २–० ले हराउँदै परेली समूह क को शीर्षस्थानमा उक्लिएको छ । हेटौंडा १९ बस्तीपुरको परेलीले ५ खेलबाट ११ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको हो । लिगमा परेलीले ५ खेल खेल्दा अपराजिता यात्रामा रहेको छ । परेलीले ५ मध्ये ३ जित र २ खेल बराबरी खेलेको हो ।
परेलीका लागि कप्तान राम लामा र होमराज स्याङ्तानले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच परेलीका होमराज स्याङ्तान घोषित भए । यसैगरी बिहीबारकाे खेलमा पिप्लेले महाबीर क्लवलाई ७–० ले गाेल अन्तरले हराएको हो । पिप्लेका लागि निरब घलानले ४ तथा सुसन वाइबा र आर्यन थापा मगरले समान एक/एक गोल गरेका हुन् । एक गोल भने उपहार स्वरुप पाएको थियो । यो खेलसंगै पिप्ले युवा क्लबले लिगको सुरुवाती जित निकालेको हो । ४ गोल गरेका घलान नै खेलको म्यान अफ द म्याच घोषित भए ।
हेटौडा ६ स्थित गौरिटार रंगशालामा भएको खेलमा आरआरवाइसीले विजय यूथ क्लवलाई १–० ले हराउदा सन्देश राईले गरेको गोल नै निर्णायक बन्यो । राई खेलको म्यान अफ द म्याच घोषित भए । बिहीबारै भएको खेलमा इन्टरनेट सिटीले हेटौंडा फुटबल एकेडेमीलाई ४–२ काे गोलले पराजीत गरेकाे छ ।
जारी प्रतियोगितामा शुक्रबार पनि ४ वटा खेल सञ्चालन हुनेछ । गौरीटार रंगशालामा पहिलाे खेल न्यु डाँफे र रियल स्टार क्लब बिच हुनेछ भने एफसी मल्टिभिजन र एफसी नामटार बिच दाेस्राे खेल हुनेछ । यस्तै सिमलटार खेल मैदानमा सानाेपाोखरा क्लब र ७ नम्बर फुटबल क्लब बिच पहिलाे खेल र हटिया स्पाेर्टस् र पदमपाेखरी बिच खेल हुने आयोजकले जनाएकाे छ ।
आयोजकका अनुसार प्रत्येक समूहबाट उत्कृष्ट तीन क्लवले ए डिभिजनस्तरको मान्यता प्राप्त गर्नेछन् भने समूहको पहिलो र दोस्रो हुने क्लवले मात्र नकाउट चरणका खेल खेल्नछन् ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल ९ असोजमा हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन भइरहेकाे छ ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्पोटर्स एकेडेमीले उपविजेतामा चित्त बुझाएकाे थियो।

