मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज भदौ २९ गते शनिबार मनाइदै गरिएको राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा शुभकामना दिनु भएकाे छ । ।
प्रमुख देकोटाले शुभकामना सन्देश जारी गर्दै नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता लगायतका विषयमा अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइरहेको उल्लेख गरेका छन् । संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई नेपालले अनुमोदन गरेको दिन (१४ सेप्टेम्बर १९९०) को स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हामीले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएका छौं ।
यस वर्ष पनि “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति, कानून र संस्थागत संरचनाहरू निर्माण गरेको भएपनि अझै पनि बालबालिकाको सवालमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् । उनले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालयलगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका अपरिहार्य रहेको सन्देश मार्फत बताएका छन् ।
राज्यबाट संवैधानिक, नीतिगत, कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित रहेको उनले शुभकामना सन्देशमा उल्लेख छ । “बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन सबैको दायित्व हो” उनले सन्देशमा भनेका छन् । “बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न म सम्बद्ध पक्षलाई हार्दिक अनुरोध गर्दछु” उनले भने ।
प्रदेश प्रमुख देवकोटाले बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज, निजी क्षेत्रले निर्वाह गर्दै आएको भूमिकाप्रति पनि हार्दिक धन्यवाद दिएका छन् । बालबालिका आजका साझेदार र भविष्यका कर्णधार भएको उल्लेख गर्दै उनीहरूको उचित पालनपोषण, शिक्षा, समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न उनले सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्नेमा विश्वास व्यक्त गरेका छन् ।

