मकवानपुर । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबारको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।
घटेकाे मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुने निगमले जनाएकाे छ । मूल्य घटेपछि पहिलाे वर्ग अन्तरगत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको छ ।
त्यस्तै दोस्राे वर्ग अन्तरगत सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं उपत्यका समेत तस्राे वर्ग अन्तरगत पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।

मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कारबाट मकवानपुरकी साहित्यकार अर्याललाई सम्मान गरिने आइतबार हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे ।
भाषा, साहित्यको क्षेत्रमा योगदान पुऱ्याउने साहित्य सेवीहरूलाई २०५९ सालदेखि प्रत्येक वर्ष निरन्तर रूपमा प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी ५१ हजार रहेको छ । हालसम्म उक्त पुरस्कारबाट २० जना साहित्यकार सम्मानित भइसकेका छन् । समाजले २०५९ सालमा यती फाइनान्ससँगकाे सहकार्यमा उक्त साहित्य पुरस्कारको स्थापना गरेकाे हाे । यती फाइनान्स महालक्ष्मी विकास बैंकसँग मर्ज भएपछि २०७४ सालबाट साहित्य पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार भएको हाे ।
त्यस्तै, समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारका राशी भने नगद १० हजार रहेको छ । यसैगरी मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई सम्मानित गरिने भएको छ ।
सम्मान तथा पुरस्कार ५ असोज शनिबार हेटौंडामा एक कार्यक्रमकाे आयोजना गरी प्रदान गरिने समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालले जानकारी दिए । मातृभूमि साहित्य समाज, मकवानपुर भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण/संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो। भाषा, साहित्यको क्षेत्रमा सामाजिक उत्तरदायित्व मार्फत यथासम्भव योगदान पुऱ्याउने उद्देश्यले बैंकले उक्त पुरस्कार स्थापना गरेकाे हाे ।
कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, वैंकका शाखा प्रवन्धक अनन्तराज धिताल लगायतकाकाे उपस्थिती रहेको थियो ।
मकवानपुर । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सरकारले पूरा कार्यकाल काम गर्न सक्ने व्यवस्था बनाउनु पर्ने बताएकाे छन् ।आइतबार पार्टीले हेटौँडामा आयोजना गरेको अभिमुखीकरणमा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘अहिले देशमा संविधान संशोधनको विषय आइरहेको छ’ शर्माले भने ‘विभिन्न पाटोबाट संविधान संशोधन गर्न सकिन्छ ।’ संविधान अझै आकर्षक, लोकप्रिय र मुलुकमा स्थिर सरकार दिन सक्ने गरी नयाँ कुरा राखेर मात्र संविधान संशोधन गनुपर्ने उनकाे भनाइ रहेकाे छ । उनले भने ‘संविधानमा कुनै पनि दल निर्वाचनमा गइसकेपछि दोस्रो, तेस्रो र बाँकी दलहरु सरकारमा नजाने र लोकप्रिय मतसहित बहुमत ल्याउने पहिलो दलले नै सरकारको नेतृत्व गर्न पाउने व्यवस्था स्पष्ट लेख्नुपर्छ ।’
समावेशी सहभागिताको जग काँग्रेसले नै बसालेकाे बताएका छन् । संविधान संशोधन गरेर समावेशी सहभागिता हटाइन्छ भन्ने माओवादी केन्द्रले आरोप लगाउँदै आएकाे भन्दै उनले उक्त विषयमा भ्रममा नपर्न आग्रह गरे । अग्रगामी काम हुने गरी मात्र संविधान संशोधन हुुने उनले बताए । देशमा दुई पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने, तीन पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा उल्लेख गरी हालको व्यवस्थालाई परिमार्जन गर्नुपर्ने उनले बताए ।
महामन्त्री शर्माले निर्वाचन मार्फत चौथो दलकाे हैसियतमा प्रतिनिधित्व गर्ने दलहरु नैतिकताले समेत सरकारमा जान नहुने बताए । आफ्नो पार्टी सरकारमा हुँदा आफ्नो पालो भएपनि गगन थापा र आफू सरकारमा नगएको स्पष्ट पारे । पहिलो पटक जितेर आएको नयाँ दलले संसद छिर्ने बितिक्कै गृहमन्त्री नै चाहिन्छ भन्दै बार्गेनिङ गरेको आरोप रास्वपालाई लक्षित गर्दै लगाए । सभापतिलाई सहकारी ठगीको आरोप लाग्दा रास्वपाका पदाधिकारीहरुले आफ्नो सभापतिको छानबिन गर्न अवरोध गरेको र आफूले काँग्रेस उपसभापति धनराज गुरुङलाई आरोप लाग्दा गहिरो रुपमा छानबिन गर्नुपर्ने आवाज उठाएको समेत बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि अहिलेसम्म गरेका योगदानभन्दा फरक ढंगबाट त्याग गर्नुपर्ने उनले बताए । ‘हाम्रो सभापतिको नेतृत्वमा धेरै काम भएका छन्। उहाँले देश र पार्टीका लागी धेरै योगदान गर्नुभएको छ। अब उहाँले त्याग गर्ने वेला आएको छ’ उनले भने आगामी दिनमा आफू प्रधानमन्त्री नबनेर पार्टीका आफ्नै समकालीन कसैलाई प्रधानमन्त्री बनाउनु पर्छ ।’ उनले २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको दावी गर्दै त्यसका लागी आफू त्याग गर्न तयार रहेको बताए ।
देशमा रुपान्तरणको आवश्यक रहेको भन्दै यसको जिम्मा काँग्रेसले लिनुपर्ने उनले बताए । सामाजिक विसंगति अन्त्य गर्न जनप्रतिनिधिले महत्वपूर्ण भूमिका हुने बताउँदै उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नागरिकको मन जित्ने गरी काम गर्न आग्रह गरे । मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को समीक्षाको लागि महामन्त्री शर्मा हेटौंडा आएका हुन् । कांग्रेसको स्थानीय तह केन्द्रीय समन्वय विभागले आफ्नो पहिलो कार्यक्रम बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडाबाट सुरु गरेको हो ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी तेस्रो राष्ट्रिय रोटरी भेट्रान्स फुटबल प्रतियोगितामा झापाको पूर्वेली भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ ।
आइतबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनलम खेलमा नवजनजागृति भेट्रान्स सिमरालाई १–० गोलले हराउँदै पूर्वेली भेट्रान्स फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पूर्वेली भेट्रान्सकाे तर्फबाट रमेश गुरुङ्गले गोल गरेका थिए । गरुङ्गकाे गोल नै निर्णायक बन्न पग्यो । म्यान अफ द म्याच गुरुङ्ग घोषित भए ।
रोटरी क्लब अफ मकवानपुरकाे आयोजनामा भएकाे प्रतियोगिता अन्तरगत दोस्रो सेमीफाइनल खेल सोमबार बिहान हुनेछ । सोमबार काठमाडौंको फ्रिडम फाइटर भेट्रान्सले सर्लाहीको हरिवन भेट्रान्सकाे सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल ३१ गते हुने भनिएपनि वर्षाको कारण खेल तालिकामा परिवर्तन भएकाे आयोजकले जनाएकाे छ । प्रतियाेगिताकाे फाइनल १ असोजमा हुनेछ ।
प्रतियोगिताको १५ टिमले सहभागिता जनाएका छन् । जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगकाे लागि आयोजना गरिएकाे प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने छन् ।
रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौंडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना हुँदैछ । राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा बन्दै गरेको रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले भने ‘पहिलोपल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाल निर्माण हुँदैछ । कर्णाली प्रदेशका मुख्यमन्त्री,खेलकुद मन्त्री सबैको जोश–जाँगर छ । संघीय सरकारले ६० करोड रूपैयाँ बजेट छुट्याएको छ । १०औं राष्ट्रिय खेलकुदको गतिविधि अब व्यापक रूपमा सुरुवात हुन्छ’
रङ्गशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिनअघि आफैंले सम्पर्क गरेर बुझेको बताउँदै उनले दशैं अगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने बताए । खेललाई कसरी राम्रो र व्यवस्थित बनाउने सन्दर्भमा आफूहरु लागिरहेको उनको भनाइ छ । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमै ११औं राष्ट्रिय खेलकुलको घोषणा हुने उनले बताए । मन्त्री चौधरीका अनुसार ११औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा हुनेछ ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश गरिएको उनले बताए । मन्त्री चौधरीका अनुसार २२ देखि २४ वटा खेल सुर्खेतमा हुनेछ । बाँकी खेल नेपालगञ्ज अथवा काठमाडौंमा हुने मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको बताए । अहिले संघीय सरकारको २१ वटा मन्त्रालयमध्ये खेलकुद मन्त्रालयमै सबैभन्दा कम बजेट रहेको उनले सुनाए ।
‘खेलकुदमा सबैभन्दा कम बजेट विनियोजन हुन्छ । २१ वटा मन्त्रालयमध्ये सबैभन्दा कम बजेट यसैमा छ । त्यसकारण तालिम सञ्चालन गर्न,खेलाडीलाई तलब दिन त्यति सजिलो छैन । विभिन्न संघहरुले आफ्नै किसिमको तलब निर्धारण गरेर दिइराखेका छन्,’ उनले भने । मूलपानीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डीपीआर तयार भइसकेको र बहुवर्षीय योजनाका लागि राष्ट्रिय योजना आयोगमा यही हप्ता पेश हुने उनले बताए । उनका अनुसार सरकारले रकमको सुनिश्चितता गरिसकेपछि कार्यक्रम सुरु हुनेछ ।
वर्तमान सरकारले कीर्तिपूर रंगशाला ३ सय दिनमा तयारी गर्ने पहिलो निर्णय गरेको बताउँदै उनले त्यसका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । उक्त कामको टेन्डर गर्न बाँकी रहेकोछ । कीर्तिपुर क्रिकेट रंगशालाको कामको थप प्रगतिका लागि खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको उनकाे भनाई रहेकाे छ । ‘३ सय दिनमा खेलकुद मन्त्रालय अथवा राष्ट्रिय खेलकुद परिषद्बाट सम्भव नदेखिएको हुनाले कहाँबाट छिटो काम हुन्छ भनेर हामीले त्यो रकम सहरी विकास मन्त्रालयमा ह्याण्डओभर गरेका छौं । उहाँहरु कामको नजिक–नजिकमा हुनुहुन्छ । टेन्डर गर्नै बाँकी छ । तीन पटकमा काम गर्नुपर्ने शर्तमा टेन्डर हुँदैछ’ उनले भने ।