मकवानपुर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ ।
बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्न–भिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साईत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिन भरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिने भएकाेले त्यही अनुसार घटस्थापना गरी जमरा रखिएकाे छ ।
दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ ।
देवी भागवत महापुराणमा अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावण माथि विजय प्राप्त गरेको वर्णन आउँछ । आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी-देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ ।
घटस्थापनाकाे दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । पूजाकोठाको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौ वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ।
ब्रह्मवैवर्त पुराण अनुसार दिशा अनुसार प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश मानिन्छ। पहिलो दिन शैलपुत्रीदेवीकाे पुजा आराधाना गरी क्रमशः ब्रह्चारिणी, चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको पूजा गरिन्छ । षष्ठी तिथिमा बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन दसैं घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा कालरात्रीको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ ।
यसै गरी महानवमीमा नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित रहेका छन् । उक्त कुरा कालीका पुराण ग्रन्थमा उल्लेख भएको पाइन्छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवी देवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर दशौँ दिन विहान टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा औषधिविज्ञ बताउँछन् । जौका जमरालाई महौषधि भनिएको छ ।
निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ । शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी, स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ। पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ | श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि |वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
मकवानपुर । बागमती प्रदेश सभाको चौधौं अधिवेशन बुधबार रातीबाट अन्त्य हुने भएकाे छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८१ साल असोज १६ गते बुधबार राती ११ः५९ बजेदेखि प्रदेश सभाको चालु चौधौं अधिवेशन अन्त्य गरिएको जनाएकाे छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्काे मंगलबारको बैठकले प्रदेश सभाको चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । गत ३१ वैशाखबाट सुरु प्रदेशसभाको दोस्रो कार्यकालको अधिवेशनमा ३७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले ६७ लाख बराबरकाे सुनसहित १ जान भारतीय नागरिकलाई हेटौडाबाट पक्राउ गरेकाे छ ।
पूर्व–पश्चिम सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा १५, रातोमाटेबाट मंगलबार उक्त मुल्य बराबरकाे अवैध सुनसहित भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफलाई पक्राउ गरिंएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ६९६ नम्वरको यात्रुबाहक ईभी माईक्रोलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार सर्राफको साथबाट बिलबिजक नभएको बिस्कुटको आकारको ४ टुक्रा, बस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान बरामद गरिएकाे हाे ।
प्रहरीका अनुसार सर्राफले खुट्टाको पैतलामा कालो टेपले बेरी ल्याएको अवस्थामा उक्त सुन बरामद भएको हाे । सरार्फको साथबाट बरामद भएको सुनको मूल्य मंगलबारकाे बजारभाउ अनुसार ६७ लाख ३४ हजार ५४४ नेपाली रुपैयाँ रहेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले बाढि, पहिरो र डुवानमा परेर मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकारले प्रदेश भित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई प्रतिव्यक्ति क्षतिपूर्ति स्वरुप २ लाख रुपैयाँ राहत रकम तत्काल दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा सोमबार बसेको बैठकले विपदमा परेर घाईते भएकाहरुको नि:शुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकले अस्थायी आवास निर्माणका लागि पूर्ण क्षतिको विवरण संकलन गरी प्रदेश सरकारले १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले विपद्जन्य घटनामा तत्काल उद्दार राहत र पुनर्निर्माणमा जुट्ने निर्णय गरेको छ ।
विपद् व्यवस्थापनका लागि २ करोड
यसैबीच बागमती प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि २ करोड ३० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत उक्त रकम बागमतीका १३ वटै जिल्लाको जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने भएको हो ।
मन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले निर्णय अनुसार विपदबाट बढी क्षति बेहोरेको काभ्रेपलाञ्चोकलाई ६० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । यसैगरी धादिङलाई ५० लाख रुपैयाँ, ललितपुरलाई ३० लाख रुपैयाँ, काठमाडौँ र सिन्धुपाल्चोकलाई २० लाख रुपैयाँ, दोलखा,सिन्धुली, रामेछाप, मकवानपुर र भक्तपुरलाई १०/१० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि अनुसार खोज उद्धार तथा प्रतिकार्यका १३ जिल्लाका विपद् व्यवस्थापन कोषमा ५/५ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम विपदबाट प्रभावित भएका सडक मर्मतमा प्रयोग भएका मेसिन औजारका इन्धन खरिद लगायतमा खर्च गरिने उनको भनाई छ ।
बैठकले प्रदेश राजमार्ग अन्तर्गतको सडकहरूमा तत्काल यातायात सञ्चालनको व्यवस्था गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउने निर्णय गरेको छ ।
मकवानपुर । मौसमी प्रभावले पीडित तथा प्रभावितलाई बागमती प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ । प्रदेश सरकारले विपद प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
शनिबार साँझ बसेको आकस्मिक बैठकले सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकारका निकायबाट क्षतिको विवरण तत्कालै एकिन गरी सो पश्चात प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
विपद्वबाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने बैठकले निर्णय गरेको मुख्यमन्त्री बहादुरसिंह लामाले जानकारी दिए ।
बैठकले अविरल वर्षाका कारण भएको क्षतिका सम्बन्धमा खोज, उद्दार र राहतलाई थप प्रभावकारी बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य गर्ने, प्रदेश सरकारका सम्बन्धित मन्त्रालय र निकायहरूले आआफ्नो विषय क्षेत्रसँग सम्बन्धित क्षतिको विवरण तत्काल संकलन गर्ने निर्णय गरेको छ ।
विपदबाट घाइते व्यक्तिहरूको शिघ्र उपचारका लागि चिकित्सकीय टोली तथा आवश्यक औषधि तथा उपकरणहरूको व्यवस्थापन प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने व्यवस्था गर्ने, तत्काल नागरिक आवागमन सहज बनाउन अवरूद्ध सडकहरूको मर्मत तथा व्यवस्थापनका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ।
पछिल्लो ३ दिनयताको अविरल बर्षासंगै आएको बाढी पहिरोले बागमती प्रदेशका विभिन्न जिल्लामा हालसम्म कम्तीमा ३ दर्जनको ज्यान गएको छ । सोही संङ्ख्यामा घाइते छन् ।