मकवानपुर । बागमती प्रदेश सभाको चौधौं अधिवेशन बुधबार रातीबाट अन्त्य हुने भएकाे छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८१ साल असोज १६ गते बुधबार राती ११ः५९ बजेदेखि प्रदेश सभाको चालु चौधौं अधिवेशन अन्त्य गरिएको जनाएकाे छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्काे मंगलबारको बैठकले प्रदेश सभाको चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । गत ३१ वैशाखबाट सुरु प्रदेशसभाको दोस्रो कार्यकालको अधिवेशनमा ३७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

