मकवानपुर । बागमती प्रदेश सरकारले बाढि, पहिरो र डुवानमा परेर मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकारले प्रदेश भित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई प्रतिव्यक्ति क्षतिपूर्ति स्वरुप २ लाख रुपैयाँ राहत रकम तत्काल दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा सोमबार बसेको बैठकले विपदमा परेर घाईते भएकाहरुको नि:शुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकले अस्थायी आवास निर्माणका लागि पूर्ण क्षतिको विवरण संकलन गरी प्रदेश सरकारले १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले विपद्जन्य घटनामा तत्काल उद्दार राहत र पुनर्निर्माणमा जुट्ने निर्णय गरेको छ ।
विपद् व्यवस्थापनका लागि २ करोड
यसैबीच बागमती प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि २ करोड ३० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत उक्त रकम बागमतीका १३ वटै जिल्लाको जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने भएको हो ।
मन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले निर्णय अनुसार विपदबाट बढी क्षति बेहोरेको काभ्रेपलाञ्चोकलाई ६० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । यसैगरी धादिङलाई ५० लाख रुपैयाँ, ललितपुरलाई ३० लाख रुपैयाँ, काठमाडौँ र सिन्धुपाल्चोकलाई २० लाख रुपैयाँ, दोलखा,सिन्धुली, रामेछाप, मकवानपुर र भक्तपुरलाई १०/१० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि अनुसार खोज उद्धार तथा प्रतिकार्यका १३ जिल्लाका विपद् व्यवस्थापन कोषमा ५/५ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम विपदबाट प्रभावित भएका सडक मर्मतमा प्रयोग भएका मेसिन औजारका इन्धन खरिद लगायतमा खर्च गरिने उनको भनाई छ ।
बैठकले प्रदेश राजमार्ग अन्तर्गतको सडकहरूमा तत्काल यातायात सञ्चालनको व्यवस्था गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउने निर्णय गरेको छ ।