मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको प्रदेशस्तरीय संयन्त्रले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र गठन गर्न निर्देशन दिएको छ । प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आइतबार ललितपुरमा बसेको पहिलो बैठकले उक्त निर्देशन दिएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुबै दलका जिल्ला तहसँग समन्वय गरी यथाशिघ्र गठन गर्न निर्देशन दिने निर्णय गरेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए । बैठकले दुई दलले एक/एक महिना पालो पालो बैठकको संयोजन गर्ने समेत निर्णय गरेकाे उनले बताए । २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फवाट एक/एक जना रहने समेत निर्णय भएकाे छ ।
संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने र दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरुको संयुक्त बैठक ३ मंसिर २०८१ मा हेटौंडामा बस्ने भएकाे छ । उक्त बैठकमा प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धी र आगामी कार्यक्रमका बारेमा जानकारी लिने बताइएकाे छ ।
प्रदेशस्तरीय संयन्त्रकाे बैठकमा कांग्रेसका तर्फबाट प्रदेश सभापति बानियाँ, मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनकाे सहभागिता रहेकाे थियाे । यसैगरी नेकपा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको सहभागिता रहेको थियो ।
मकवानपुर । आगामी मंशिर १६ गते स्थानीय तहमा रिक्त रहेका ४४ पदकाे उपनिर्वाचन हुदैंछ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ काे वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
उक्त वडामा हुने उपनिर्वाचनमा मकवानपुरका नेकपा एमाले,कांग्रेस र माओवादीले उम्मेद्वार टुंग्याएका छन् भने अन्य दलले समेत उम्मेदवारकाे टुंगो लगाउन बाँकी छ । वडा अध्यक्षमा विजयी लतिल बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएकाे थियाे । पद रिक्त भएकाे स्थानका लागि निर्वाचन आयोगले उपनिर्वाचन गराउने भएकाे हाे ।
कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरले जनाएकाे छ । उनी गत निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार हुन् । यस अघि नै एमाले र काँग्रेसले उम्मेदवारकाे टुंगो लगाइसकेका छन् । कांग्रेसको वडा समितिबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुदर्शन लामाको नाम जिल्लामा सिफारिस भएको थियो । पाँच जनाबीच सहमतिमै उम्मेदवारको टुंगो लगाइएको कांग्रेस मकवानपुर प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।
माओवादीले रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरेकाे छ । अन्यको आकाक्षा भएपनि प्रधानको नाममा सहमती जुुटेकाे हाे । यस्तै एमालेले पनि राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसहमत उम्मेदवार छनौट भएका हुन् । ३ दलले उम्मेदवारको टुंगो लगाएर चुनावी रणनीति तयार गर्न लागि परेका छन् ।
आगामी मङ्सिर १६ गते विभिन्न कारणले रिक्त रहेका जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ । रिक्त रहेका ४४ पदका लागि हुने उपनिर्वाचन मध्येको एक स्थान हेटौँडा नगरपालिका १२ नम्बर वडा हो ।
वडा अध्यक्षमा २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा प्रमुख तीन पार्टीबीच तीब्र प्रष्तिप्रर्धा भएको थियो । अव हुने उपनिर्वाचनमा समेत अवस्था उस्तै रहेकाे देखिन्छ । गतचुनावमा हेटौंडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत प्राप्त गरेका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए ।
गतनिर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन् । विजय भएका माओवादीका घलान र निकटतम प्रतिद्वन्दी काँग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्राे स्थानमा रहेका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो । गतनिर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था भने देखिदैन् ।
यसबाहेक राप्रपा र नेकपा एसले पनि वडा अध्यक्षको उम्मेदवार चयनमा लागेका छन् । यो निर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ । अहिलेसम्म निर्वाचनमा दलहरुबीच चुनावी तालमेल वा सहकार्य गर्ने कुनै तयारी भएको पाईदैन् ।
मकवानपुर जिल्लाकाे उक्त एक स्थानकाे लागि मात्र निर्वाचन हुने भएकाले जिल्लामा क्रियाशील राजनैतिक दलहरु कसरी स्थान सुरक्षित गर्न सकिन्छ भन्ने रणनीति लागेका छन् । माओवादीलाई गुमेको वडा अध्यक्ष पद फिर्ता गर्ने चुुनौती छ भने एमाले र काँग्रेसलाई एक स्थान थप्ने कसरतमा छन् । अन्य साना दलहरुले पनि निर्वाचनको तयारीमा जुटिरहेका छन् । जसले गर्दा उपनिर्वाचन रोचक हुने देखिन्छ । एमाले, काग्रेंस र माओवादी वीचमै त्रिपक्षिय भिडन्न हुने देखिन्छ ।
यस्तो छ उपनिर्वाचनकाे कार्यतालिकाः
उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।
मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । त्यसपछि मतगणनालगायतकाे प्रक्रिया हुनेछ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार भएको कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।
ब्लड डोनर्स एशोसिएशन नेपाल मकवानपुर शाखा (ब्लोदान)को आयोजनामा भएको रक्तदान कार्याक्रममा २३ जनाले रक्तदान गरेका हुन् । शनिबार बिहान हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा ५ जना महिला र १८ जना पुरुषले रक्तदान गरेको ब्लोदान अध्यक्ष कपिला जोशीले जानकारी दिइन् ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र हेटौँडाको प्रहविधिक सहयोग रहेको थियो । केन्द्रमा अहिले ए पोजेटिभ रगतको अभाव रहेको छ भने बाँकि समुहको रगत अभाव नरहेको केन्द्रले जनाएको छ ।
मकवानपुर । मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ भने दुइ जना सेना घाइते भएका छन् ।
मृत्यु हुनेमा क्याम्पमा कार्यरत डँडेलधुरा गन्याधुरा गाउँपालिका वडा नं १ घर भएका नेपाली सेनामा कार्यरत लेसनायक २९ वर्षिय पदम बहादुर दियाल रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । उनकाे करेण्ट लागि घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
मकवानपुरको भीमफेदी गाँउपालिका वडा नम्बर ८ दोभान स्थित सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा डियुटीमा रहेको समयमा संचार उपकरणको पाइप गाड्ने क्रममा हाईटेन्सन विजुलीको तारमा पाईपले छुँदा दियालकाे मृत्यु भएको हो । यसैगरी करेन्ट लागेर घाईते भएका डँडेलधुरा अमरगढी नगरपालिका वडा नम्बर–२ का लेसनायक २९ को विनोद केसी, पाल्पा रामपुर नगरपालिका वडा नम्बर–६ घर भएका नेपाली सेनाका सिपाइ २१ वर्षीय युवराज कुमाललाई उपचारको लागि हेलिकप्टरबाट आर्मी अस्पताल छाउनी काठमाडौं पठाइएकाे अर्यालले बताए ।
मकवानपुर । दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको भोली शुक्रबारबाट सुरु हुने भएको छ । चैनपुर जेसीज मनहरीको आयोजना तथा मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिताको हुने भएको हो ।
मनहरी–४, मसिनेस्थित गोलघर खेल मैदानमा हुने खुला फुटबलको खेल तालिका सार्वजनिक भएको हो । शुक्रबारको उद्घाटन खेल मनहरी गाउँपालिकाको ४ नम्बर वडा र एफसी नमोबुद्धको टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मनहरी–४, एफसी नमोबुद्ध, सक्षम युवा क्लब, एफसी ढिँडो, कमाने फुटबल एकेडेमी, जेसीआई मकवानपुरगढी, पदमपोखरी युनाइटेड एफसी, आरआर एफसी, हाँडीखोला युथ क्लब, जनसिद्ध युवा क्लब, एफसी परेली क्लब, टिएनटी मनहरी, हेटौंडाको नारायणी कलेज, मनहरी २ नम्बर वडा, मनहरी ५ नम्बर वडा र ऋषेश्वर युवा क्लबको टिमसहित १६ टिमको सहभागिता रहनेछ ।
चैनपुर जेसीज मनहरीले गत वर्षबाट जेसीज कप खुला फुटबल प्रतियोगिताको सुरुवात गरेको हो । मंसिर ३ गते फाइनल हुने प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।