मकवानपुर । आगामी मंशिर १६ गते स्थानीय तहमा रिक्त रहेका ४४ पदकाे उपनिर्वाचन हुदैंछ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ काे वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
उक्त वडामा हुने उपनिर्वाचनमा मकवानपुरका नेकपा एमाले,कांग्रेस र माओवादीले उम्मेद्वार टुंग्याएका छन् भने अन्य दलले समेत उम्मेदवारकाे टुंगो लगाउन बाँकी छ । वडा अध्यक्षमा विजयी लतिल बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएकाे थियाे । पद रिक्त भएकाे स्थानका लागि निर्वाचन आयोगले उपनिर्वाचन गराउने भएकाे हाे ।
कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरले जनाएकाे छ । उनी गत निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार हुन् । यस अघि नै एमाले र काँग्रेसले उम्मेदवारकाे टुंगो लगाइसकेका छन् । कांग्रेसको वडा समितिबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुदर्शन लामाको नाम जिल्लामा सिफारिस भएको थियो । पाँच जनाबीच सहमतिमै उम्मेदवारको टुंगो लगाइएको कांग्रेस मकवानपुर प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।
माओवादीले रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय गरेकाे छ । अन्यको आकाक्षा भएपनि प्रधानको नाममा सहमती जुुटेकाे हाे । यस्तै एमालेले पनि राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसहमत उम्मेदवार छनौट भएका हुन् । ३ दलले उम्मेदवारको टुंगो लगाएर चुनावी रणनीति तयार गर्न लागि परेका छन् ।
आगामी मङ्सिर १६ गते विभिन्न कारणले रिक्त रहेका जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ । रिक्त रहेका ४४ पदका लागि हुने उपनिर्वाचन मध्येको एक स्थान हेटौँडा नगरपालिका १२ नम्बर वडा हो ।
वडा अध्यक्षमा २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा प्रमुख तीन पार्टीबीच तीब्र प्रष्तिप्रर्धा भएको थियो । अव हुने उपनिर्वाचनमा समेत अवस्था उस्तै रहेकाे देखिन्छ । गतचुनावमा हेटौंडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत प्राप्त गरेका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए ।
गतनिर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन् । विजय भएका माओवादीका घलान र निकटतम प्रतिद्वन्दी काँग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्राे स्थानमा रहेका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो । गतनिर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था भने देखिदैन् ।
यसबाहेक राप्रपा र नेकपा एसले पनि वडा अध्यक्षको उम्मेदवार चयनमा लागेका छन् । यो निर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ । अहिलेसम्म निर्वाचनमा दलहरुबीच चुनावी तालमेल वा सहकार्य गर्ने कुनै तयारी भएको पाईदैन् ।
मकवानपुर जिल्लाकाे उक्त एक स्थानकाे लागि मात्र निर्वाचन हुने भएकाले जिल्लामा क्रियाशील राजनैतिक दलहरु कसरी स्थान सुरक्षित गर्न सकिन्छ भन्ने रणनीति लागेका छन् । माओवादीलाई गुमेको वडा अध्यक्ष पद फिर्ता गर्ने चुुनौती छ भने एमाले र काँग्रेसलाई एक स्थान थप्ने कसरतमा छन् । अन्य साना दलहरुले पनि निर्वाचनको तयारीमा जुटिरहेका छन् । जसले गर्दा उपनिर्वाचन रोचक हुने देखिन्छ । एमाले, काग्रेंस र माओवादी वीचमै त्रिपक्षिय भिडन्न हुने देखिन्छ ।
यस्तो छ उपनिर्वाचनकाे कार्यतालिकाः
उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।
मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । त्यसपछि मतगणनालगायतकाे प्रक्रिया हुनेछ ।

