मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको प्रदेशस्तरीय संयन्त्रले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र गठन गर्न निर्देशन दिएको छ । प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आइतबार ललितपुरमा बसेको पहिलो बैठकले उक्त निर्देशन दिएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुबै दलका जिल्ला तहसँग समन्वय गरी यथाशिघ्र गठन गर्न निर्देशन दिने निर्णय गरेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए । बैठकले दुई दलले एक/एक महिना पालो पालो बैठकको संयोजन गर्ने समेत निर्णय गरेकाे उनले बताए । २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फवाट एक/एक जना रहने समेत निर्णय भएकाे छ ।
संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने र दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरुको संयुक्त बैठक ३ मंसिर २०८१ मा हेटौंडामा बस्ने भएकाे छ । उक्त बैठकमा प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धी र आगामी कार्यक्रमका बारेमा जानकारी लिने बताइएकाे छ ।
प्रदेशस्तरीय संयन्त्रकाे बैठकमा कांग्रेसका तर्फबाट प्रदेश सभापति बानियाँ, मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनकाे सहभागिता रहेकाे थियाे । यसैगरी नेकपा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको सहभागिता रहेको थियो ।

