मकवानपुर । १६ मंसिर २०८१ मा हुने स्थानीय तहकाे उपनिर्वाचन हुँदैछ । देशभरका ४४ पदका लागि हुने निर्वाचन अन्तरगत मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाकाे वडा नम्बर १२ पनि एक हाे ।
उक्त स्थानमा वडाध्यक्ष पद रिक्त छ। वडाध्यक्ष पद १ का लागि मकवानपुरमा क्रियाशील राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउँदैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हेटौंडा १२ को अध्यक्ष पदको उम्मेदवार टुंग्याएको छ । राप्रपाले प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने निर्णय गरेको हाे ।आइतबार बसेको राप्रपाको जिल्ला र नगर कार्यसमितिको बैठकले वडा अध्यक्ष पदका लागि भ्लोनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
विभिन्न सामाजिक कार्यमा संलग्न रहेका भ्लोनलाई उम्मेदवारकाे टिकट दिने निर्णय सर्वसम्मत भएकाे राप्रपा हेटौंडा उपमहानगरपालिका अध्यक्ष अरुण लामाले जानकारी दिए । हेटौंडा–१२ का स्थानीय बासिन्दा भ्लोनलाई जिताउन राप्रपाले चुनावी अभियान संचालन गर्ने तयारी समेत गरिएको उनले बताए ।
यसअघि नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी र नेकपा माओवादी केन्द्रबाट रविन प्रधान वडाध्यक्षको उम्मेदवार हुने टुंगो लगाइसकेकाे ती दलहरुले जनाएका छन् । २०७९ सालमा भएको निर्वाचनबाट वडाध्यक्ष निर्वाचित ललित बहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएपछि वडाध्यक्षको पद रिक्त रहेकाे थियो ।

