मकवानपुर । दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको भोली शुक्रबारबाट सुरु हुने भएको छ । चैनपुर जेसीज मनहरीको आयोजना तथा मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिताको हुने भएको हो ।
मनहरी–४, मसिनेस्थित गोलघर खेल मैदानमा हुने खुला फुटबलको खेल तालिका सार्वजनिक भएको हो । शुक्रबारको उद्घाटन खेल मनहरी गाउँपालिकाको ४ नम्बर वडा र एफसी नमोबुद्धको टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मनहरी–४, एफसी नमोबुद्ध, सक्षम युवा क्लब, एफसी ढिँडो, कमाने फुटबल एकेडेमी, जेसीआई मकवानपुरगढी, पदमपोखरी युनाइटेड एफसी, आरआर एफसी, हाँडीखोला युथ क्लब, जनसिद्ध युवा क्लब, एफसी परेली क्लब, टिएनटी मनहरी, हेटौंडाको नारायणी कलेज, मनहरी २ नम्बर वडा, मनहरी ५ नम्बर वडा र ऋषेश्वर युवा क्लबको टिमसहित १६ टिमको सहभागिता रहनेछ ।
चैनपुर जेसीज मनहरीले गत वर्षबाट जेसीज कप खुला फुटबल प्रतियोगिताको सुरुवात गरेको हो । मंसिर ३ गते फाइनल हुने प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

