मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकाका १ जना वडा अध्यक्ष पुर्पक्षका लागि भीमफेदी कारागार पठाइएकाे छ । बकैया ४ नम्बर वडाध्यक्ष राजन दंगाललाई कागजात कीर्ते गरेकाे आरोपमा थुनामा पठाइएकाे हाे ।
वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता कीर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ। बुधबार सरकारी कागजात कीर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दाकाे पुर्पक्ष गर्न जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले आदेश दिएकाे हाे । वडाध्यक्ष दंगाल विरुद्ध गत असारमा अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।
दंगाल चार महिनापछि बुधबार अदालतमा उपस्थिति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयमा गुरुङको श्रीमान् एमसी परेराले ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएको मकवानपुर प्रहरीले जनाएको छ । दंगालसहितले मृतक गुरुङको नाममा ललितपुर, कीर्तिपुर र चितवनमा रहेको जग्गा हत्याउने प्रयास भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ ।
गुरुङको २६ भदौ २०७४ मा मृत्यु भएको थियो। उनका श्रीमान् परेरा चितवनको भरतपुरमा बस्दै आएका थिए । प्रहरीले गत असारमा वडाध्यक्ष दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, नक्कली छोरा बनेका पूर्णबहादुर ब्लोनसहित सर्जमिन मुचुल्कामा साक्षी बसेका स्थानीय ४३ वर्षीय सानुमान थिङ, ३९ वर्षीय जितमान थिङ, ३५ वर्षीय जमानसिं भुलून, ६९ वर्षीय रामबहादुर न्यासुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले उनीहरुविरुद्ध लिखत सम्बन्धी कसुरमा अदालतमा मुद्दा दायर गरेको थियो।
बकैया–४ का ४६ वर्षीय ब्लोनलाई मृतक गुरुङको नक्कली छोरा बनाएर वडाध्यक्ष दंगालले १८ मंसिर ०८० मा मृत्युदर्ता र नाता प्रमाणित लगायतका कागजात तयार पारिदिएकाे बताएकाे ।

