पाल्पा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई पाल्पा जिल्लामा सम्मान गरिएकाे छ । पाल्पाको पुर्वखोला गाउँपालिका ३ स्थित उद्बुद्व माविले सम्मान गरेको हाे ।
बाल्यकालमा सोही बिद्यालय पढ्नु भएका उहाँलाई बागमतीको प्रदेश प्रमुख हुनुभएपछी सम्मान गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर थापाले बताए । विद्यालयको ७४ औं बार्षिकोत्सव समारोहमा शनिबार प्रमुख अतिथिको रुपमा सहभागी प्रदेश प्रमुख देवकोटाले आफू जन्मेको हुर्केको माटोमा पुग्दा बाल्यकालको स्मृति ताजा भएको बताए ।
“पाल्पा जिल्लाको शैक्षिक जगतको धरोहर उद्बुद्व माविले नै मलाई आजको स्थानमा पुर्याउन भूमिका खेलेको हो” प्रदेश प्रमुख देवकोटाले भने “एक दिन एक जुगमा एकपटक मात्र आउँछ भनेझैं आजको यो सद्भाव मेरो जीवनको उत्कृष्ट क्षणभित्र पर्दछ ।” पाल्पाको जिल्लाको साबिक देविनगर २ हाल पुर्वखोला वार्ड नं ४ लेम्धेममा जन्मनु भएका देवकोटा प्रारम्भिक शिक्षा हासिल गर्दै यहाँको पाखा बारीमा हुर्कदै शुरुमा बेसर्घा र लेम्धेममा रहेको रम्भादेवी प्रावि शिक्षण पेशामा समेत संलग्न भएका थिए ।
“मान्छे भौतिक रूपमा कहाँ छ भन्नुभन्दा उसको आत्मामा के कुराले जरो गाडेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ” प्रमुख देवकोटाले भने “मलाई जन्म, सुससंस्कार , गृहस्थ र जागिरे जीवनमा प्रवेश गराउने पाल्पाको माटो मेरो लागि यो धर्तीका मूल्यवान धातु सुन र हीराभन्दा कमी छैन ।” आफू भौतिक रूपले पाल्पाको माटो भन्दा टाढा रहे पनि शरीरको रक्त नलीहरूमा पाल्पाको मीठो सम्झनाको तिनाउ र कालीगण्डकी बगेको देवकाेटाले बताए ।
“मेरा पितामाता, पूर्खा, नातेदार, छिमेकी, गुरूबर्ग, साथीसङ्गीलगायत सम्पूर्णमा नमन गर्दछु” उनले भने “म हुर्केको मगर समूदाय र दौँतरीहरूलाई बिर्सेको छैन र बिर्सिन पनि सक्दिन ।” उद्बुद्व माविका विद्यार्थीहरूलाई बिद्यालय उमेरमा नै धेरै भन्दाधेरै मेहनत गर्न उहाँले प्रेरित समेत गरे । “तपाइँहरू जीवनको उर्जाशील उमेरमा हुनुहुन्छ, मेहनतभन्दा अर्को बिकल्प छैन, संसार मेहनतीहरूको हो” प्रमुख देवकोटाले भने “तपाईहरूसङ्ग सपना हुनुपर्छ, जुन सपनाले तपाईको निन्द्रा हराओस्, यति पढ्नुस् कि अभिभावकले अब त सुत भो नानी बाबू भन्नुपरोस् ।”
उनले विद्यार्थीहरूलाई जहाँ भएपनी संस्कारी बन्न आग्रह गर्दै भने ” संस्कार बिनाको शिक्षा बिँडबिनाको खुर्पाजस्तै हुन्छ, हरेक आमाबाबुले आफ्नो भन्दा सुखद जीवन छोराछोरीको होस् भन्ने चाहन्छन्, अभिभाबकको सपना तुहाउने छुट तपाइँ बिद्यार्थीलाई छैन ।” “मेहनत गर्दागर्दै कहिलेकाही असफल हुनु नौलो होइन तर मेहनत नगरी सफलता खोज्नु धान रोपेर मकै फल्छ भन्ने सोच्नुजस्तै हो” उनले भने ।

शिक्षक अभिभावकलाई पनि सुझाव
प्रदेश प्रमुख देवकोटाले पाल्पाली अभिभावकलाई पनि सुझाव दिएका छन् । घर बालबालिकाको पहिलो पाठशाला भएको उल्लेख गर्नुहुदै उनले भने “अहिलेका नानीबाबुहरू भिन्न समयमा जन्मेका छन्, हाम्रा थुप्रै अनुभबहरू उनीहरूलाई अर्थ नलाग्लान् । जे भए पनि संस्कार र श्रमको मूल्य नानुबाबुलाई बुझाउनुपर्छ ।”
बिद्यालयका प्रधानाध्यापक , शिक्षकवर्ग ,ब्यवस्थापन समिति, समाज अब्बल दर्जाको पाएँ, यो बिद्यालयले कितावी ज्ञानलाई मात्र जोड नदिएर कला, संस्कृति, कौशल, श्रमको सम्मान तथा नानीबाबुको सर्बाङ्गीण विकासमा जोड दिएको छ जुन अति प्रशंसनीय भएको उनले बताए । “संसारका हरेक पत्थरहरू मूर्ति बन्न लायक छन् तर ती पत्थरहरू असल कालिगढको हातमा पर्नुपर्छ” देवकाेटाले शिक्षक तथा विव्यास प्रती लक्षित गर्दै भने ” तपाईं सम्पूर्ण समुदायलाई आफ्नो कालिगढी सिपमा अझै पोख्त हुने हौसला दिदै, नानीबाबुहरूबाट अझै मिहिनेतको अपेक्षा राख्दै अघि बढाउनुहोस ।”
२००७ सालमा स्थापित यो विद्यालयमा हाल ५५३ जना विद्यार्थीहरू अध्ययनरत छन् भने ४७ जना शिक्षक कर्मचारी रहेको बिद्यालयका कम्प्युटर शिक्षक शंकर न्यौपानेले जानकारी दिए । बार्षिक कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक पिताम्बर न्यौपानेले बार्षिक आयब्याय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मकवानपुर । १६ मंसिर आइतबार बिहान हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि हुने मतदानका सबै तयारी पुरा भएकाे छ । कर्मचारी परिचालन सुरक्षा व्यवस्था तथा मतदान स्थल, मतदान केन्द्रलगायतकाे सम्पूर्ण तयारी सकिएकाे आयोगले जनाएकाे छ ।
यसैगरी मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा हुने वडाध्यक्ष पदको निर्वाचनको तयारी पूरा भएको छ । हेटौंडा–१२ मा एक वडाध्यक्ष पदका लागि आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ । उपनिर्वाचनका लागि मतदान अधिकृत, सहायक अधिकृत र अन्य कर्मचारी तयारी अवस्थामा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
मतदान स्थलमा मतपत्र र मतपेटिका तथा अन्य सामग्रीहरू पुर्याइसकेको छ भने मतदानको लागि सर्वदलीय बैठकले आवश्यक निर्देशनहरू समेत दिएकाे छ ।
८ हजार मतदाता, २ मतदान स्थल
हेटौंडा–१२ कुल ८ हजार ५३ मतदाता रहेकाे छन् । ती मध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेकाे प्रदेश निर्वाचन कार्यालय हेटौडाले जनाएकाे छ । २०७९ निर्वाचन भन्दा यो उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका छन् ।
वडामा निर्वाचनको लागि २ वटा मतदान स्थल तोकिएको छ । प्रतिभा आधारभूत विद्यालय सिक्रेनी र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेलाई मतदान स्थल कायम गरिएको छ । ५ वटा मतदान केन्द्र रहेको प्रतिभा आविमा ४ हजार ४२८ मतदाता र ४ वटा मतदान केन्द्र रहेकाे विष्णज्योतिमा ३ हजार ६२५ मतदाता रहेकाे प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएकाे छ ।
प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार उपनिर्वाचनका लागि ४५ जना कर्मचारी परिचालन गरिएको छ । १ निर्वाचन केन्द्र बराबर ५/५ जना कर्मचारी र १/१ जना स्थानीय स्वयंसेवक रहने व्यवस्था रहेको उनले जानकारी दिए ।
१२ जना चुनावी मैदानमा
हेटौंडा–१२ को एक वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । १२ मध्ये राजनैतिक दलका तर्फबाट ९ जना र स्वतन्त्र ३ जना छन् ।
पार्टीका तर्फबाट नेकपा एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रका रविकुमार प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशावीर बल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रेमबहादुर भोलन, जनता समाजवादी पार्टी (जसपा) का छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की फूलमाया तितुङ र नेकपा (एकीकृत समाजवादी)का बलराम बल उम्मेदवार रहेका छन् ।
यसैगरी स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।
सुरक्षाकर्मी परिचालन
निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले सुरक्षाकर्मी परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालले स्थलगत रुपमा गएर सुरक्षा व्यवस्था चुस्त पारिएको बताए । संख्यात्मक रुपमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेर निर्वाचनलाई भयरहित बनाउने काम भइरहेको उनले बताए ।
मतदान स्थल, मतदाता, उम्मेदवारको सुरक्षालाई मध्यनजर गरेर सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए । ‘४ वटा सुरक्षा निकायलाई परिचालन गरी निर्वाचनलाई भयरहित बनाउने काम भइरहेको छ’ उनले बताए । वडाको हरेक नाकामा प्रहरी परिचालन गरिएको छ भने पट्रोलिङ मार्फत् वडाको सुरक्षाको व्यवस्था गरिएको बताइएकाे छ ।
मतगणना हेटौंडाको सिद्धार्थ माविमा
निर्वाचनपछि मतगणना कार्य हेटौंडा बजार क्षेत्रमा गरिने भएको छ । सुरक्षाका दृष्टी बजार क्षेत्रमा मतगणना गर्न लागिएकाे बताइएकाे छ । मतगणना कार्य हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभा हलमा गरिने तय गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले मतगणना स्थल सिद्धार्थ माध्यमिक विद्यालयलाई तोकेको हो । मतदान केन्द्रमा मतदान सम्पन्न भए लगत्तै मतपेटिका सङ्कलन गरी सिद्धार्थ माविमा ल्याइने र मतपेटिका प्राप्त भएपछि सर्वदलीय बैठक बसेर मतगणना कार्यको समय तय गरिने छ ।
मतदाता परिचयपत्र तथा अन्य कागजातकाे आधारमा समेत मतदान गर्न सकिने
यसैबीच मतदाता नामावलीमा आफ्नो नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र तथा अन्य परिचय खुल्ले कागजातकाे आधारमा समेत मतदान गर्न पाउने भएका छन् ।
आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएकाे छ ।
आयोगले मतदान केन्द्रमा उपस्थित भई आफूले रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातामा अनुरोध समेत गरेकाे छ ।
मकवानपुर । बागमती प्रदेशकाे धादिङ जिल्लाकाे रुबीभ्याली गाउँपालिकामा स्वास्थ्य शविर भएकाे छ । प्रदेश स्वास्थ्य मन्त्रालय जनस्वाथ्य कार्यालय धादिङको आयोजना र रुबीभ्याली गाउँपालिकाको ब्यबस्थापनमा समन्वयमा धादिङको विकट क्षेत्रमा रहेकाे रुबीभ्यालीमा ३ दिने स्वास्थ्य शिविर भएको हाे ।
शिविरमा बिभिन्न रोगका बिशेषज्ञ सहितको डाक्टरहरुद्वारा जाच तथा अन्य सेवाहरु प्रदान गरिएको थियो । शिविरमा हार्डजोर्जी तथा नशारोग, स्त्रीरोग सम्बन्धी, भिडियो एक्सरे सेवा, दन्त चिकित्सा सेव, नेत्र चिकित्सक द्वारा आँखा परिक्षण तथा तथा उपचार सेवा, बालरोग उपचार तथा ब्यबास्थापन, जनरल फिजिसियन द्वारा परिक्षण तथा उपचार सेवा,आयुर्बेद सेवा, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने,स्वास्थ्य आमा समुहमा पोषण मुख स्वास्थ्य तथा हातको सरसफाई बारे अन्तरक्रिया कार्यक्रम, विद्यालयको विद्यार्थीहरुको पोषण मुखको सरसफाई तथा हात धुने तरिकाबारे सिकाईरअन्तरक्रिया लगायतका सेवाहरु प्रदान गरिएको थियो ।
कार्यक्रमम ७३० जनाले उपचारात्मक सेवा पाएका थिए भने सेर्तुङ र तिप्लिङका समेत गरी १२५ जना आमालाई स्वास्थ्य शिक्षा दिइएको थियो । त्यसै गरी १०५ जना विद्यार्थीलाई विभिन्न विषयमा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापाले रुबिभ्याली गाउँपालिका लाई १ थान ग्रामीण अल्ट्रासाउन्ड मेसिन र २ थान अक्सिजन कन्सल्ट्रेटर हस्तान्तरण गरेका छन् । मन्त्री थापाले स्वास्थ्य सेवा दुर्गम देखि सुगम क्षेत्रमा पुर्याउने बताए । ‘स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको भन्दै यसको बिस्तारमा मन्त्रालयले काम गरिरहेको मन्त्री थापाले भने ।
बागमती प्रदेशका स्वास्थ मन्त्री किरण थापाको प्रमुख आतिथ्यता तथा रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङको अध्यक्षता कार्यक्रम भएको कार्यक्रममा पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्य डम्बर तामाङ, रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्की, बागमती प्रदेश स्वास्थ मन्त्रालयका चिकित्सक महाशाखाका प्रमुख डा खगेश्वर गेलाल, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गगन अधिकारीलगायतको सहभागिता थियो ।
मकवानपुर । बागमती प्रदेशकाे रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिकामा गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ सिमलडाँडामा ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटना भएकाे थियाे ।
उक्त दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।मृत्यु हुने अन्य एक जना हिराबहादुर कार्कीकाे सनाखत भएकाे छ । *कार्की उक्त गाडी चालक रहेकाे प्रहरीले जनाएकाे छ । मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक कार्कीको पनि घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आमाछोरीकाे मृत्यु भएकाे छ । गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ज्यान गुमाउने १ जनाकाे सनाखत हुन बाँकी रहेको रामेछाप प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगंगा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की रहेका छन् । अर्का एकजना घाइतेको पनि पहिचान खुलेको छैन ।
दुर्घटनामा घाइते तीनै जनालाई उपचारकाे लागि जिल्ला अस्पताल मन्थली लगिएकोमा थप उपचारकाे लागि काठमाडौ पठाउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ । शुक्रबार दिउँसो १ बजेर ५० मिनेटमा गोकुलगंगा गाउँपालिका–६ स्थित सिमलडाँडा भिरमा उक्त जिप अनियन्त्रित भइ तीन सय मिटर तल खसेको थियो । * सच्याइएकाे अपडेट समाचार– सम्पादक
मकवानपुर । मकवानपुर जिल्लाकाे विभिन्न स्थानमा भएकाे विभिन्न घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । मकवानपुर प्रहरीका अनुसार लडेर, करेन्ट लागेर र अटोले ठक्कर दिएर १/१ जना गरी ३ जनाकाे ज्यान गएकाे हाे ।
बिहीबार मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ नेपालचोक स्थित युवराज बिडारीको घरकाे दुई तला माथिबाट लडेर हेटौंडा १३ पदमपोखरीका ४१ वर्षीय सविन दुलालकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । विडारीकाे घरमा जस्ता लगाउने काम गर्ने दुलाल दुई तला माथीबाट खस्दा घाईते भएका थिए । घाइते उनकाे उपचारको लागि हेटौडा अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकाेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसैगरी हेटौंडा ६ चौघडा स्थित कान्तिलोक पथ सडक खण्डमा अटोले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्रो हेटौडा ६ शान्तिटोल बस्ने ६८ वर्षीय जनक राईकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । शुक्रबार विहान हेटौडा बजारबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले राईलाई ठक्कर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौडा अस्पताल हुँदै थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवनको लगिएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । अटो र अटो चालक हेटौंडा ६ बारुते बस्ने ३१ वर्षीय शंकर सार्कीलाई प्रहरीले नियन्त्रण लिएकाे छ ।
यस्तै शुक्रबार जिल्लाकाे मनहरी गाउँपालिका वडा नम्बर ८ दारिमबासमा करेन्ट लागि स्थानीय ३८ वर्षीय मंगल सिङ प्रजाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । नेपाल विद्युत प्राधिकरणको ११ हजार भोल्टेजको हाइटेन्सन लाइन चुँडिएर भुँईमा लत्रिएको तारबाट करेन्ट लागेर प्रजाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
यस्तै करेन्ट लागेर अर्का एक जना घाइते भएको छ । ११ हजार भोल्टेजको हाइटेन्सन लाइन चुँडिएर भुँईमा लत्रिएको तारबाट करेन्ट लाग्दा सोही ठाउँकी ४० वर्षीया इन्द्रमाया मगर घाइते भएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।