मकवानपुर । बागमती प्रदेशकाे रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिकामा गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ सिमलडाँडामा ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटना भएकाे थियाे ।
उक्त दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।मृत्यु हुने अन्य एक जना हिराबहादुर कार्कीकाे सनाखत भएकाे छ । *कार्की उक्त गाडी चालक रहेकाे प्रहरीले जनाएकाे छ । मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक कार्कीको पनि घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आमाछोरीकाे मृत्यु भएकाे छ । गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ज्यान गुमाउने १ जनाकाे सनाखत हुन बाँकी रहेको रामेछाप प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगंगा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की रहेका छन् । अर्का एकजना घाइतेको पनि पहिचान खुलेको छैन ।
दुर्घटनामा घाइते तीनै जनालाई उपचारकाे लागि जिल्ला अस्पताल मन्थली लगिएकोमा थप उपचारकाे लागि काठमाडौ पठाउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ । शुक्रबार दिउँसो १ बजेर ५० मिनेटमा गोकुलगंगा गाउँपालिका–६ स्थित सिमलडाँडा भिरमा उक्त जिप अनियन्त्रित भइ तीन सय मिटर तल खसेको थियो । * सच्याइएकाे अपडेट समाचार– सम्पादक

