मकवानपुर । मकवानपुर जिल्लाकाे विभिन्न स्थानमा भएकाे विभिन्न घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । मकवानपुर प्रहरीका अनुसार लडेर, करेन्ट लागेर र अटोले ठक्कर दिएर १/१ जना गरी ३ जनाकाे ज्यान गएकाे हाे ।
बिहीबार मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ नेपालचोक स्थित युवराज बिडारीको घरकाे दुई तला माथिबाट लडेर हेटौंडा १३ पदमपोखरीका ४१ वर्षीय सविन दुलालकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । विडारीकाे घरमा जस्ता लगाउने काम गर्ने दुलाल दुई तला माथीबाट खस्दा घाईते भएका थिए । घाइते उनकाे उपचारको लागि हेटौडा अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकाेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसैगरी हेटौंडा ६ चौघडा स्थित कान्तिलोक पथ सडक खण्डमा अटोले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्रो हेटौडा ६ शान्तिटोल बस्ने ६८ वर्षीय जनक राईकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । शुक्रबार विहान हेटौडा बजारबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले राईलाई ठक्कर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौडा अस्पताल हुँदै थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवनको लगिएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । अटो र अटो चालक हेटौंडा ६ बारुते बस्ने ३१ वर्षीय शंकर सार्कीलाई प्रहरीले नियन्त्रण लिएकाे छ ।
यस्तै शुक्रबार जिल्लाकाे मनहरी गाउँपालिका वडा नम्बर ८ दारिमबासमा करेन्ट लागि स्थानीय ३८ वर्षीय मंगल सिङ प्रजाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । नेपाल विद्युत प्राधिकरणको ११ हजार भोल्टेजको हाइटेन्सन लाइन चुँडिएर भुँईमा लत्रिएको तारबाट करेन्ट लागेर प्रजाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
यस्तै करेन्ट लागेर अर्का एक जना घाइते भएको छ । ११ हजार भोल्टेजको हाइटेन्सन लाइन चुँडिएर भुँईमा लत्रिएको तारबाट करेन्ट लाग्दा सोही ठाउँकी ४० वर्षीया इन्द्रमाया मगर घाइते भएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

