मकवानपुर । देशव्यापी रुपमा भइरहेकाे यातायात हड्ताल फिर्ता भएको छ । गण्डकी प्रदेश सरकारले सेयर राइडिङ नियमावली एक महिनाको लागि स्थगन गरेसँग देशभर जारी यातायात हड्ताल फिर्ता भएको नारायणी यातायात व्यवसायी कम्पनी प्रालि हेटौंडामा अध्यक्ष एवम् नेपाल यातायात राष्ट्रिय महासंघ केन्द्रीय सदस्य गोकर्ण पराजुलीले बताए ।
आज मात्र संघ सरकारले उक्त नियमावली रोक्नका लागि प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी सरकारलाई पत्र लेखेको थियो। सो पत्रकाे जवाफ दिंदै गण्डकी प्रदेश सरकारले आजै ५ बजे प्रधानमन्त्री कार्यालयमा नियमावली स्थगत गरिएकाे बारे पत्र पठाएको हाे ।
‘नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणको लागि राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न अनुरोध भई आएकोले यसपूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्ष (यातायात सम्बन्धित महासंघ र संघ संगठनहरु) लाई वार्ताको लागि पुन: आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राईड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनि निर्णय भएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ’ गण्डकी सरकारको धारणा भनिएको पत्रमा उल्लेख छ।
मंगलबार बसेको मुख्यमन्त्री, मन्त्री, वार्ता समितिबीचको संयुक्त बैठकले राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ एक महिनालाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । एक महिनाको समयमा यातायात व्यवसायीसँग वार्ताका लागि बैठक बस्ने र समस्या समाधान गरेर यसलाई पुन: कार्यान्वयन गरिने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले बताए ।यातायात व्यवसायीलाई वार्तामा सहभागी हुन तेस्रोपटक आह्वान गरिने उनले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीलाई सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको भन्दै नियमावलीमा उल्लेखित प्रावधान कार्यान्वयन हाललाई स्थगित गर्न पत्र पठाएको थियो । त्यसपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री, वार्ता टोली संयोजक र सदस्यलाई छलफलमा बोलाएका थिए ।
गण्डकी प्रदेश सरकारले जेठ १ मा राजपत्रमा प्रकाशन गरेको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ को विरोधमा सार्वजनिक यातायात व्यवसायी जेठ १६ देखि आन्दोलित छन् । रातो नम्बर प्लेटका सवारीलाई प्रयोजनविपरीत भाडामा लगाउन नियमावली ल्याइएको, आफूहरूको लगानीलाई बेवास्ता गरिएको भन्दै गण्डकीमा जेठ १६ देखि र अरु ६ वटा प्रदेशमा पनि १८ गतेबाट सार्वजनिक यातायात बन्द छ ।
संघ सरकार र व्यवसायी सम्मिलित कार्यदलले सोमबार मध्यरातसम्म छलफल गरी राइड सेयरिङ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति गरेको थियो ।
‘यातायात बन्दको कारण सर्वसाधारणहरुलाई परेकाे असुविधाप्रति हामी क्षमा चाहन्छौ यातायात व्यवसायीहरुलाई सहयाेग गरिदिनुभयाे धन्यवाद पनि छ’ नारायणी यातायात व्यवसायी कम्पनी प्रालि हेटौंडामा अध्यक्ष एवम् नेपाल यातायात राष्ट्रिय महासंघ केन्द्रीय सदस्य पराजुलीले भने ‘अब यातायत सुचारु भैसकेकाे छ ।’
मकवानपुर । दरबारभित्र घटेको हत्याकाण्डको सम्झनामा सोमबार हेटौंडामा दीप प्रज्वलन गरिएको छ। १९ जेठ २०५८ मा राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको हत्या भएको थियो।
दरबार हत्याकाण्डकाे २४ वर्ष भएकाे छ । २४ औं स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले बत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए । हातमा दीप बोकेर मौन प्रार्थना समेत गरिएकाे थियो ।
दिप प्रज्वलन कार्यक्रममा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले दरबार हत्याकाण्ड सम्बन्धी सरकारी प्रतिवेदनले जनताको जिज्ञासा नमेटाएको बताए । ‘दरबार हत्याकाण्डकाे सत्यतथ्य बाहिर आउनु पर्छ’ उनले भने । राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष विवेक विक्रम शाहीले राजा वीरेन्द्र राष्ट्रप्रेमी राजा भएकाे बताउँदै राजपरिवारलाई हामीले बिर्सन नहुने बताए ।
दिप प्रज्वलनमा सहभागीहरुले दरबार हत्याकाण्ड अझै रहस्यमय रहेको भन्दै घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन्। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी स्याङतान, नुरल बज्राचार्य, गिरिबहादुर तामाङ, डम्बर तामाङ राप्रपा केन्द्रीय सदस्य राम थोक्कर, रामहरी न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुर जिल्ला अध्यक्ष किशोर केसी लगायतकाे उपस्थिति रहेको थियो।
चितवन। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले ‘कृषि ज्ञानरत्न’ कार्यक्रमले युवामा उत्साह थपेको बताएका छन् । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित ‘बीएसएल टु प्लस प्रयोगशाला भवन’को सोमबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
‘प्रदेश सरकारले सुरु गरेकाे कृषि ज्ञानरत्न कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक तह पार गरेका युवालाई लक्षित गरी कृषि अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ’ उनले भने । उक्त कार्यक्रमबाट स्नातक तह पार गरेका युवाहरूलाई ८ लाख रुपैयाँ, स्नातकोत्तर तहका लागि १० लाख रुपैयाँ, र एमफिल गर्दै पीएचडी अध्ययन तयारी गरिरहेकाे युवाका लागि २२ लाख रुपैयाँसम्मको कृषि अनुदान प्रदान गरिदै आएकाे मन्त्री श्रेष्ठले जानकारी दिए ।
‘प्रदेशभित्र जुनसुकै विषय अध्ययन गरेका युवाले कृषि क्षेत्रमा लाग्ने इच्छा राखेमा उक्त कार्यक्रम मार्फत अनुदान लिन सक्ने व्यवस्था गरिएको छ’ उनले भने ‘हामीले ०८१/०८२ सालमा सुरु गरेको कृषि ज्ञानरत्न कार्यक्रमलाई आर्थिक वर्ष ०८२/०८३ मा वृद्धि गर्दै थप विस्तार गर्न गइरहेका छौं।’ उनले विदेश पलायन रोक्दै स्वदेशमै उद्यमशिलता र कृषि कर्ममा लाग्न युवाहरूलाई आग्रह समेत गरेका छन् ।
यसैगरी बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले विश्वविद्यालयलाई गुणस्तरीय र परिणाममुखी अध्ययन–अध्यापनमा जोड दिन सुझाव दिएका छन् । ‘नयाँ भवन मात्र पर्याप्त होइन’ मन्त्री सिलवालले भने ‘अब यो भवनमार्फत अध्ययन अनुसन्धानलाई बलियो बनाउँदै चितवनलाई कृषि क्षेत्रमै अग्रणी बनाउनु पर्छ।’
अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको उदाहरण दिँदै उनले भने ‘चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ ।’ प्रदेश सरकार पनि अनुसन्धानमुखी कार्यका लागि अनुदान दिन तयार रहेको उनले बताए ।
मन्त्री श्रेष्ठद्वारा चैनपुरकाे फोहोर प्रशोधन उद्योगको अवलोकन
कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले सोमबार नै चितवनको खैरहनी नगरपालिका वडा नं ४ स्थित चैनपुरमा रहेको सफा ऊर्जा उत्पादन प्रालि द्वारा सञ्चालित फोहोर प्रशोधन उद्योगको अवलोकन गरेका छन् ।
सफा उर्जाका प्रतिनिधि योगेन्द्र सिंह केसीले फोहोर संकलन, प्रशोधन, प्राङ्गारिक मल उत्पादन तथा वातावरण संरक्षणमा कम्पनीले गरिरहेका कामहरूको विस्तृत जानकारी दिएका थिए । केसीका अनुसार सफा उर्जाले स्थानीय क्षेत्रबाट फोहोर संकलन गरी त्यसलाई आधुनिक प्रविधिबाट प्रशोधन गर्ने काम गरिरहेको छ।
उद्योगको निरीक्षणपछि मन्त्री श्रेष्ठले वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै उद्योगले स्थानीय समस्या समाधानतर्फ देखाएको पहल सराहनीय भएको बताए । ‘यस्ता परियोजनाहरूले प्रदेशको वातावरण संरक्षण र कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्छ’ उनले भने ।उद्योग परिसरमा मन्त्री तथा प्रतिनिधिलाई सफा उर्जाका निर्देशक निर्णय पौडेलले स्वागत गरेका थिए।
उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाट, उपाध्यक्ष उज्वल चौलागाईं तथा प्रतिनिधिहरुकाे साथमा मन्त्री श्रेष्ठले उद्योगको निरीक्षण गरेका हुन् ।
मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक आज बस्दैछ । आज बिहान ११ बजेकाे लागि बाेलाइकाे बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथि छलफल हुने भएकाे छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम १४ जेठ बुधबार सार्वजनिक गरेका थिए । प्रदेश सभा सचिवालयका अनुसार आज (१९ जेठ) बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमका लागि पूर्ण छलफल प्रारम्भ हुने जनाइएको छ ।
उक्त नीति तथा कार्यक्रममाथि छलफलका लागि ३ दिनकाे समय ताेकिएकाे सचिवालयले जानकारी दिएकाे छ । छलफल १९, २० र २१ गते हुनेछ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धी गरेकाे छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैंया र डिजेल र मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएकाे हाे ।
निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने जनाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँले बढेर आएको नेपाल आयल निगमले जनाएको छ।
त्यस्तै हवाई इन्धन भने २ रुपैयाँ ५७ पैसाले घटेर आएको निगमले जनाएको छ । निगमका अनुसार आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले मूल्य घटाइएको छ ।
