मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १७ हटिया स्थित अंगारेश्वर धार्मिक तथा पर्यटन स्थलमा जारी श्रीमद्भागवद सप्ताह ज्ञान महायज्ञमा आइतबार १७ नम्बर वडाध्यक्ष उद्धव सत्यालले सप्ताह सर्वण गरेका छन् ।
आत्मालाई जागृत गरौँ, सनातन सत्यलाई अँगालाैं भन्ने आदर्श वाक्यका साथ सुरु सप्ताहमा वडाध्यक्ष सत्यालले ज्ञान महायज्ञको पूर्ण सफलताको कामना व्यक्त गर्दै कार्यक्रमको उद्देश्य पूरा गर्न सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वडाध्यक्षसँगै अंगारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको उपाध्यक्ष शिवप्रसाद चौलागाईं र हेटौंडा १७ निवासी समाजसेवी तथा युवा व्यवसायी रमेश श्रेष्ठले सप्ताह सर्वण गरेका छन् ।
सप्ताह मुल समारोह समिति संयोजक कृष्णदेव भण्डारीले वडाध्य्क्ष सत्याल,चौलागाईं र श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए । ३० फागुनमा उद्घाटन भइ आइतबार पाँचौं दिनसम्म सप्ताहबाट करिब ५ लाख संकलन भएकाे आयोजक समितिले जनाएकाे छ । महायज्ञबाट संकलन हुने रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) लगाउने लक्ष्य रहेको प्रचार समिति संयोजक चुडामणि रुपाखेतीले बताए ।
सप्ताहकाे अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको सप्ताहबाट करिब ४५ लाख संकलन हुने अनुमान गरिएकाे छ । ७ फागुनसम्म संचालन हुने महायज्ञमा नियमित सत्सङ्ग, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएकाे भण्डारीले बताए । महायज्ञमा पण्डित बद्रीविशाल शास्त्रीले कथा वाचन गरेका छन् भने पण्डित अनमोल धितालले उपवाचक भूमिकामा रहेका छन् ।
सप्ताह ज्ञान महायज्ञ अन्तरगत प्रत्येक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पाठ पारायण तथा हवन, विहान ११ बजेदेखि खिउँसो ४ः३० बजेसम्म कथा प्रवचन, साँझ ६ बजेदेखि ९ बजेसम्म महात्म्य प्रवचन तथा भजन किर्तन हुने आयोजकले जनाएकाे छ । यस्तै ७ फागुनमा कथा विश्राम, तिलार्चन, पूर्णाहुति, प्रसाद वितरण, तथा महायज्ञ समापन गरिने छ ।
महायज्ञमा करिब २ हजार भक्तजनहरुको उपस्थिति रहने अनुमान आयोजकले गरेकाे छ । महायज्ञमा दान गर्नेहरुकाे लागि सम्मान कार्यक्रम समेत गरिदै आएकाे आयोजकले जानकारी दिएकाे छ ।
मकवानपुर । दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को अवसरमा आयोजना गरिएकाे हेटौंडा आइडल गायन प्रतियाेगिताकाे लागि ३५ जना सहभागी भएका छन् ।
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजना भएकाे हेटौंडा आइडलमा सहभागी ३५ जना प्रतिस्पर्धीले शनिबार अडिसनमा प्रस्तुति देखाए । सहभागी ३५ जना मध्ये १५ जना अडिसनमा बाट स्टेज प्रस्तुतिकाे लागि छनौट भएकाे प्रतियोगिता संयोजक दिपेश श्रेष्ठले जानकारी दिए । ६ फागुनदेखि १८ फागुनसम्म हेटौंडा १० स्थित टिसिएन चौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा उनीहरुले स्टेजमा प्रतिभा देखाउने छन् ।
प्रतियोगिता संयोजक श्रेष्ठले हेटौंडा आइडलको ग्राण्ड फिनाली फागुन १८ गते हुने बताए । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलले हेटौंडा आईडलकाे उपाधी विजेताले ५१ हजार, फष्ट रनरअपले २५ हजार, सेकेण्ड रनरअपले १५ हजार रुपैंया प्राप्त गर्नेछन् । यस्तै २ जना रनरअपलाई जनही ५/५ हजार रुपैंया सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
मकवानपुरका गायक कृष्णगोपाल महर्जन, सुनिता बुर्लाकोटी र ईश्वर खड्का रहेकाे हेटौंडा आइडलको निर्णायक समूहले आइडल टप १५ मा छनौट भएकाहरुमा अमित वर्तौला, विरसाना सिंघान, दिलप लामा, मेधना लामा, शुक्र महर्जन, सरोज स्याङबो, शुभम केसी सुगम, आरपी सापकोटा, प्रकाश वाइवा, रमेश घतानी, दिपा स्याङतान, भुवन घलान, अनिस वस्नेत, शान्तीमाया स्याङ्तान, शिवजी बुढाथोकी रहेकाे छन् ।
व्यापार महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री हुनेछन् । यस्तै बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय/स्थानीय कलाकारहरुको प्रस्तुती, शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्सव, मनोरञ्जनात्मक बाल उद्यान, नविनतम उपकरणहरुको प्रदर्शनी, नयाँ/नौलो प्रबिधिको प्रदर्शनी हुने आयोजकले जनाएकाे छ ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।
मकवानपुर । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरी नतिजा सार्वजनिक गरेको छ ।आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार मकवानपुरकाे थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट भएको छ ।
आयोगको मुल्याङ्कनमा थाहाले ७१.३ अंक प्राप्त गरी जिल्लामै उत्कृष्ट भएकाे हाे । आयोगले ३० माघमा सार्वजनिक गरेकाे कार्य सम्पादन मूल्याङ्कनमा मकवानपुरकाे बकैया गाउँपालिकाको सबैभन्दा कम अंक प्राप्त गरेकाे छ । बकैयाले ४५.९ अंक पाएको छ । जिल्लामै मनहरी गाउँपालिकाले दोस्रो स्थान हासिल गरेकाे । मनहरीले ६७.३ अंक पाएको छ । मकवानपुरगढी गाउँपालिकाले ६७, कैलाशले ६६.३, राक्सिराङले ६३.९, हेटौंडाले ६२.५, बागमती गाउँपालिकाले ६०, इन्द्रसरोवरले ५७.२ र भीमफेदी गाउँपालिकाले ५०.७ अंक प्राप्त गरेकाे प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाण सहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई वित्त आयोगले परिपत्र समेत गरेको छ ।आगामी आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको हाे ।
महानगरमा भरतपुर उत्कृष्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ ।देश भरका ६ वटा महानगरपालिकामध्ये भरतपुरले ७६.२ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट भएको हो । योसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो ।
आयोगका अनुसार विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाडौँ महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अंक प्राप्त गरेका छन् ।
आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गर्दछ । आयोगको मूल्यांकन रिर्पोट अनुसार अधिकांश स्थानीय सरकारबाट तथ्याङ्क उपलब्ध हुनै मुस्किल देखिएको छ । जसका कारण कार्य सम्पादन मूल्यांकनमै असर परेको छ । आयोगले प्रदेश सरकारको कार्य सम्पादनका लागि कुल ११ वटा सूचकमा मूल्यांकन गरेको छ । स्थानीय तहको प्रयोजनका लागि भने १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गरिएको हो ।
संघीय सरकारले विना शर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेबारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाएको छ । अनुदानकाे सिफारिस गर्दा आयोगले सुत्र बनाउँछ । आयोगले बनाउने सुत्रमा एक मापक कार्य सम्पादन मूल्यांकन रहेकाे छ ।
देशभरकाे नतिजा यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा १ जनाकाे मृत्यु भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङ्गमा शुक्रबार ट्रककाे ठक्करबाट अटोमा सवार मनहरीकी पुजा बम्जनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
थानाभर्याङ्ग स्थित यातायात कार्यालय अगाडी पुर्व पश्चिम राजमार्गकाे हेटौंडा चितवन सडकखण्डमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख. २४९६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना १ ह. ८३०८ नम्बरको अटोलाई ठक्कर दिदाँ अटोमा बम्जनसहित ३ जना घाइते भएका थिए । मनहरी ६ खयरघारी की ३५ वर्षीय बम्जनकाे उपचारकाे क्रममा हेटौंडा स्थित सीएमसी चुरेहिल अस्पताल उपचारकाे क्रममा मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
ट्रककाे ठक्करबाट अटो चालक हेटौंडा १९ बासघारी बस्ने २५ वर्षीय राजु थिङ र अटौमा सवार मृतक बम्जनका छोरा अमृत घिसिङ घाइते भएका छन् । थिङको टाउकोमा चोट लागि अबस्था गम्भीर रहेेकाे तथा घिसिङकाे अनुहारमा चोट लाग्दा अबस्था मध्यम रहेकोमा उनीहरुकाे सीएमसी चुरेहिल अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएकाे छ ।
ट्रक चालक चितवन राप्ती नगरपालिका वडा नम्बर २ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राई, अटो, ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।
मकवानपुर । स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा राजन घिमिरे (अनुराग) चयन भएका छन्। शुक्रबार भएको संघकाे चौथो अधिवेशनबाट घिमिरेका अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।
यस्तै अधिवेशनले उपाध्यक्ष रविन्द्र कार्की, सचिव वसन्त भण्डारी, कोषाध्यक्ष अस्मिता भट्टराईलाई चयन गरेकाे छ । सदस्यहरुमा सुमिना चौलागाईं, नवीन चौधरी र प्रमोद सहनी चयन भएका छन् ।
नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । संघका अध्यक्ष गोकुल अधिकारी, केन्द्रीय समिति उपमहासचिव सुरेश श्रेष्ठको उपस्थितिमा अधिवेशन भएको हो।