मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा महिला शिक्षक भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौडाको आयोजनामा १६ र १७ फागुनमा नगरमा पहिलाे पटक महिला शिक्षक मैत्रीपूर्ण भलिवल प्रतियोगिता हुने भएकाे हाे ।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा नगरका १० विद्यालयको सहभागिता रहने बिहीबार आयोजकले पत्रकार भेटघाट गर्दै जानकारी दिएकाे हाे । प्रतियोगितामा हेटौंडाका श्रीकृष्ण आधारभूत विद्यालय, वंश गोपाल मावि, भूटनदेवी मावि, चन्द्रोदय मावि, आधुनिक राष्ट्रिय मावि, त्रिभुवन मावि, प्रगति मावि, जनप्रिय मावि, ज्याेति मावि र सिद्धार्थ माविकाे सहभागी रहने अतिरिक्त क्रियाकलाप संयोजक बालकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अतिरिक्त क्रियाकलाप संयोजक बालकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी १ जनालाई ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।बिहीबार नै प्रतियोगिताकाे खेलतालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेल ज्याेति माध्यमिक विद्यालय हेटौंडा हर्नामाडी र सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा २ बिच हुने भएकाे छ ।
महिला शिक्षकलाई हेर्ने नजर परिवर्तनका साथै सहभागी विद्यालयबिच सम्बन्ध सुमधुर बनfउँदै शैक्षिक सहयाेग आदानप्रदानमा समेत सहकार्यकाे भावना वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएकाे नगरस्तरीय शैक्षिक समन्वय समिति अध्यक्ष भोगेन्द्र लुँइटेलले बताए । ‘शिक्षणमा महिला सहभागिता वृद्धि भइरहेकाे सन्दर्भमा सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षणिक योजनाका अन्तरवस्तुहरुलाई खेल विधिबाट सिकाउन समेत सकिने भएकाेले प्रतियाेगिता आयोजना गरिन लागिएकाे हाे’ उनले भने ।
जिल्ला भलिवल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिता सञ्चालनका लागि ७० हजार खर्च हुने आयोजकको अनुमान छ । नगर शैक्षिक समन्वय समिति हेटौंडा उपमहानगर भित्रका सामुदायिक विद्यालयहरुकाे अध्ययन अध्यापनसँग सम्बन्धित समस्याहरु पहिचान गरी शैक्षिक गतिविधिहरुलाई सञ्चालन गर्ने तथा शैक्षिक गुणस्तर विकास गर्न सहयाेग पुर्याउने छाता संगठनकाे रुपमा २० बैशाख २०५३ मा स्थापना भएकाे संस्था हाे ।
मकवानपुर । मकवानपुर हेटाैंडामा मोटरसाइकलको ठक्करबाट १ जनाकाे मृत्यु भएकाे छ । बुधबार हेटौंडा–६,विजयपथमा रामनगरबाट हात्तिलेटतर्फ जाँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हेटौंडा–६ रामनगरका ६१ वर्षीय कमल बहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका बोहोरालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारकाे लागि चितवन रेफर गरिएको थियो । चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बोहोराको बिहीबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक हेटौंडा–६, हात्तिलेटका ४२ वर्षीय बिदुर सापकोटा फरार रहेकोमा बिहीबार दिउँसो प्रहरीकाे सम्पर्कमा आएकाे बताइएकाे छ ।
थाहानगर । नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा १४ फागुनदेखि थाहा नगरमा नगरस्तरीय शिक्षक रनिङशील्ड भलिवल प्रतियोगिता सुरु भएको छ ।
थाहा नगरपालिका १ कुन्छालस्थित सुनौला माविको पुरानो खेलमैदानमा सुरु भएको खेलमा नगरका १२ वटा विद्यालयहरुले सहभागिता जनाएको छ । पहिलो चरणको खेल औपचारिक उद्घाटन अघि विहान ८ बजेदेखि सुरु भएको थियो । पहिलाे चरणकाे खेल सुरु भएपछि औपचारिक रुपले प्रतियोगिताको उद्घाटन गरिएको छ । नगर समिति अध्यक्ष मनोज लामिछानेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय महासचिव हंस शाहीले शिक्षक मैत्री शिक्षा ऎनको माग गरेर आन्दोलनमा रहेको संगठनले ऎन जारी गराएपछि मात्र विश्राम लिने बताए । कार्यक्रममा विशिष्ट अतिथि संगठनका जिल्ला अध्यक्ष मुकुन्द न्यौपाने, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य सानोभाइ कार्की, महासंघका नगर अध्यक्ष राजाराम कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २५ हजार, द्वितीय हुने विद्यालयलाई १५ हजार र सान्त्वना दुई विद्यालयलाई ५/५ हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका लागि थाहा नगरपालिका, हेटौंडा सिटी कलेज एवं विभिन्न संघसंस्था र वित्तीय संस्थाहरुकाे सहयोग रहेकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा क्याम्पसले ३५ औँ स्थापना दिवस मनाएको छ । हेटौंडा उपमहा नगरपालिका वडा नम्बर ४ मा रहेको क्याम्पसले साताव्यापी कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
क्याम्पसले ३५ औँ स्थापना दिवसका अवसरमा भएको अतिरिक्त क्रियाकलाप सप्ताहका विजयीलाई मङ्गलबार एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण तथा सम्मान गरेको हो । स्थापना दिवसको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य भएको बताए ।
प्रदेश सरकारले सामुदायिक शैक्षिक संस्थाको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोग गरिने प्रतिवद्धता उनले व्यक्त गरे । कार्यक्रममा हेटौंडा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्दराम पराजुलीले हेटौंडा क्याम्पसको जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान रहेको बताए । प्रदेश सरकारले सामुदायिक क्याम्पसमा गरिने लगानीमा वृद्धि आवश्यक भएको उनले बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष नमूना पाण्डे, स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभि मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा प्राथमिक तहतर्फ १ नम्बरमा नाम सिफारिस भएका क्याम्पसका छात्रा एलिषा घिमिरेलाई सम्मान गरिएको थियो ।
क्याम्पसका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मनोज पोखेरेलले साताव्यापी रुपमा भएको भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टन लागयतका प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको जानकारी दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोल सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेका छ ।
आइतबार मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेस्थित चेकपोष्टबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने ९ मिलिमिटरको ३ राउण्ड गोलीसहित उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार र बिहार मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपक कुमार रहेका छन् ।
रौतहटको गौरबाट चितवनतर्फ जान आउँदै गरेकेा गरेको ना. ८ ख ८७७३ नम्बरको बसलाई सुरक्षाजाँच गर्दा धिरज र दीपकको साथबाट एक राउण्ड गोली लोड भएकोे अटो पेस्तोल, थप २ थान गोली गरी ३ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । उनीहरुलाई हातहतियार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।