मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गत १५ फागुनमा चोरको शंकामा प्रतिकार गर्दा मृत्यु भएका भरथकुमार भ्लोनका आमाबाबुलाई मकवानपुर प्रहरीले हिरासतमा राखेकाे छ ।
मकवानपुर प्रहरीले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवाबारीमा भएकाे उक्त घटनको अनुसन्धानका लागि भरतका बुबा ६४ वर्षीय मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई हिरासतमा राखेकाे जनाएको छ । चोरकाे शंकामा कुटपिटबाट घाइते भएका भरतको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा गत शनिबार मृत्यु भएको थियो ।
उक्त घटनमा घाइते भएका भ्लोन दम्पतीलाई उपचारकाे लागि भक्तपुरस्थित इवा मुरा अस्पताल पठाइएकाे थियाे । उपचारपछि उनीहरुलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको प्रहरी प्रवक्ता डीएसपी श्यामु आर्यलले जानकारी दिए । उनीहरूमाथि आफ्नै ३९ वर्षीय छोरा भरथको हत्या गरेको आरोप लागेको प्रहरीले जनाएकाे छ ।
‘मृतक भरथका आमाबुबालाई ज्यान सम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिइएकाेमा उनीहरुमाथि हिरासतमा राखेर घटनाको बारेमा अनुसन्धान गर्छौं’ डीएसपी अर्यालले भने । प्रहरीका अनुसार गत १५ फागुन बिहीबार राति घरमा चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरथमाथि घरेलु औजारले आक्रमण गर्दा घाइते भएका थिए ।
चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका भरथले खाना खाइरहेकाे आमाबुबाकाे आँखामा खुर्सानीको धुलो छरेको थिए । त्यसपछि उनीहरूबिच केहीबेर घम्साघम्सी भएको थियो । छोराले खुर्सानीको धुलो छरी चोरी गर्न लाग्दा भ्लोन दम्पतीले भान्सामा प्रयोग हुने घरेलु सामानले प्रतिकार गर्दा दुबै पक्षबिच कुटाकुट हुँदा भरथको टाउकोमा चाेट लाग्दा ब्लड जमेकोमा गम्भीर घाइते भएका थिए । उनकाे उपचारको क्रममा १६ फागुनमा मृत्यु भएको थियाे । भ्लोन दम्पती मध्ये मिनबहादुरकाे हात, मुख र टाउकोमा चोट लागेकाेमा अवस्था मध्यम रहेकाे तथा देवीमायाकाे हात र आँखा नजिक चोट लागेकाेमा अवस्था मध्यम रहेकाे थियाे ।
मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेशका सबै जिल्लामा रहेका खेलकुद पूर्वाधारहरुकाे सम्पत्ती खोजी गरिरहेकाे बताएका छन् । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास कार्यक्रममा मन्त्री महर्जनले यस्तो बताएका हुन् ।
मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पत्तीकाे आफूले अध्ययन गरिरहेको बताए । ‘हामीले सबै जिल्लाका पूर्वाधार सहितका सम्पत्तीको खोजी गरिरहेका छौं’ उनले भने ‘ति कस्तो अवस्थामा छन् जानकारी समेत लिने काम शुरु भएकाे छ ।’ उनले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना बनाएको बताए ।
हेटौंडा ६ स्थित गौरीटार रंगशाला भित्र निर्माण भएका पुर्वाधारहरुको उचित उपयोग हुन नसकेको प्रति लक्षित गर्दै मन्त्री महर्जनले भने ‘यहाँका खेल पूर्वाधारहरु मनोमानी ढङले बनेका तथा चलेका भन्ने सुनेकाे छु । खेलाडी उत्पादन गर्ने मात्रै ठाउँ हो अरु गर्ने छुट छैन् । ‘विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकुद राखिएकाे भए पनि युवा तथा खेलकुद मन्त्रालय छुट्टै भएकाे छ, अब खेल क्षेत्रकाे व्यवस्थित विकासका लागि काम गर्नु पर्छ’ उनले भने ।
उनले खेलकुद सँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने बताए । जिल्लामा रहेका खेलकुदका भौतिक सम्पत्तीलाई खेलाडी र युवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको उनले जनकारी दिए । उक्त भवनकाे आगामी तीन महिनाभित्रै निर्माण सकिने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक लामाले बताए । ‘खेलकुद परिषद्को युनिक बक्सिङ क्लब भवनको शिलान्यास हुनु हाम्रा लागि खुःशी हो” उनले भने ।
हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैंया लागतमा युनिक बक्सिङ क्लबको भवन निर्माण गर्न लागिएकाे हाे ।
मकवानपुर । मकवानपुरकाे मनहरीमा नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित डम्पिङसाईटमा नवजात शिशु (छोरी) को सालनाल सहितकाे शव फेला परेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
नवजात शिशुकाे शव प्राप्त भएकाे जानकारी इलाका प्रहरी कार्यालय मनहरीमा प्राप्त भएकाेमा प्रहरी निरीक्षक विशाल सापकोटासहितकाे टोली खटिइ अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । ‘शव कस्ले फालेको हो भन्ने खुलेको छैन’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने ‘एक, दुइ दिन अगाडी मात्रै जन्माएर फालेको हुनसक्ने देखिएकाे छ ।’
प्रहरीका अनुसार शिशुको शव सालनाल सहित रहेको तथा थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर । मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका प्रथम भएकाे छ । आइतबारबाट सुरु १५ औं संस्करणको प्रतियोगितामा ५ स्वर्ण, १० रजत र ९ कांस्य पदकसहित हेटौंडा प्रथम भएकाे हाे ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको रनिङ्ग शिल्ड प्रतियाेगितामा १३ स्वर्ण, ५ रजत र १० कांस्य पदक प्राप्त गर्दै बकैया गाउँपालिकाले द्वितीय स्थान हात पारेकाे छ । यसैगरी थाहा नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ६ कांस्य पदक प्राप्त गर्दै तृतीय भएकाे छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय खेलाडीहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु सञ्चालन भएको थियो । इन्द्रसरोवर गाउँपालिका प्रतियोगितामा सहभागी जनाएन ।
गत वर्ष सम्पन्न भएको १४ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि २० स्वर्ण, ७ रजत र १९ कास्य पदक प्राप्त गर्दै हेटौंडा प्रथम भएको थियो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तानको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा मंगलबार पुरस्कार वितरण कार्यक्रम भएको हो ।
मकवानपुर । स्वीस नागरिक टोनी हेगनको अर्धकदको शालिक हेटौँडामा अनावरण गरिएको छ ।
मंगलबार टोनी हेगनकी छोरी डा. क्याट्रिना हेगन, उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा, निवर्तमान नगरप्रमुख हरिबहादुर महतले भुगर्भविद टोनी हेगनको अर्धकदको शालिक अनावरण गरे।
हेटौंडामा मानव वस्तीको परिकल्पना गरेका तथा नेपालविद भनेर चिनिएका डा. हेगनको सम्मानमा हेटौंडा उपमहानगरपालिकाले हेटौँडा–१० मा टोनी हेगन पार्क निर्माण गरेको छ । १ विगाहा ४ कठ्ठा साढे १७ धुर क्षेत्रफल रहेको उक्त पार्कमै अर्धकदको शालिक निर्माण गरिएको हो । टोनी हेगनकी छोरी नेपाल आएको अवसर पारेर शालिक अनावरण गरिएको डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चका अध्यक्ष ईन्द्रप्रसाद नेपालले जानकारी दिए । शालिक हेटौंडा १८ हर्नामाडीका लक्ष्मण भुजेलले निर्माण गरेका हुन् ।
पार्क निर्माणमा हेटौंडा उपमहानगरपालिका, हेटौंडा १० नम्बर वडा कार्यालय, बागमती प्रदेशका मन्त्रालयहरु, संघीय संसदको सांसद विकास कोष, हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड, डिभिजन वन कार्यालयले सहयोग गरेको नेपाल बताउँन ।
अध्यक्ष नेपालका अनुसार ६ लाख रुपैयाँ लागतमा शालिक निर्माण गरिएको हो । टोनी हेगन पार्क निर्माणमा हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको उनले बताए ।