मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेशका सबै जिल्लामा रहेका खेलकुद पूर्वाधारहरुकाे सम्पत्ती खोजी गरिरहेकाे बताएका छन् । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास कार्यक्रममा मन्त्री महर्जनले यस्तो बताएका हुन् ।
मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पत्तीकाे आफूले अध्ययन गरिरहेको बताए । ‘हामीले सबै जिल्लाका पूर्वाधार सहितका सम्पत्तीको खोजी गरिरहेका छौं’ उनले भने ‘ति कस्तो अवस्थामा छन् जानकारी समेत लिने काम शुरु भएकाे छ ।’ उनले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना बनाएको बताए ।
हेटौंडा ६ स्थित गौरीटार रंगशाला भित्र निर्माण भएका पुर्वाधारहरुको उचित उपयोग हुन नसकेको प्रति लक्षित गर्दै मन्त्री महर्जनले भने ‘यहाँका खेल पूर्वाधारहरु मनोमानी ढङले बनेका तथा चलेका भन्ने सुनेकाे छु । खेलाडी उत्पादन गर्ने मात्रै ठाउँ हो अरु गर्ने छुट छैन् । ‘विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकुद राखिएकाे भए पनि युवा तथा खेलकुद मन्त्रालय छुट्टै भएकाे छ, अब खेल क्षेत्रकाे व्यवस्थित विकासका लागि काम गर्नु पर्छ’ उनले भने ।
उनले खेलकुद सँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने बताए । जिल्लामा रहेका खेलकुदका भौतिक सम्पत्तीलाई खेलाडी र युवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको उनले जनकारी दिए । उक्त भवनकाे आगामी तीन महिनाभित्रै निर्माण सकिने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक लामाले बताए । ‘खेलकुद परिषद्को युनिक बक्सिङ क्लब भवनको शिलान्यास हुनु हाम्रा लागि खुःशी हो” उनले भने ।
हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैंया लागतमा युनिक बक्सिङ क्लबको भवन निर्माण गर्न लागिएकाे हाे ।

