मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गत १५ फागुनमा चोरको शंकामा प्रतिकार गर्दा मृत्यु भएका भरथकुमार भ्लोनका आमाबाबुलाई मकवानपुर प्रहरीले हिरासतमा राखेकाे छ ।
मकवानपुर प्रहरीले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवाबारीमा भएकाे उक्त घटनको अनुसन्धानका लागि भरतका बुबा ६४ वर्षीय मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई हिरासतमा राखेकाे जनाएको छ । चोरकाे शंकामा कुटपिटबाट घाइते भएका भरतको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा गत शनिबार मृत्यु भएको थियो ।
उक्त घटनमा घाइते भएका भ्लोन दम्पतीलाई उपचारकाे लागि भक्तपुरस्थित इवा मुरा अस्पताल पठाइएकाे थियाे । उपचारपछि उनीहरुलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको प्रहरी प्रवक्ता डीएसपी श्यामु आर्यलले जानकारी दिए । उनीहरूमाथि आफ्नै ३९ वर्षीय छोरा भरथको हत्या गरेको आरोप लागेको प्रहरीले जनाएकाे छ ।
‘मृतक भरथका आमाबुबालाई ज्यान सम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिइएकाेमा उनीहरुमाथि हिरासतमा राखेर घटनाको बारेमा अनुसन्धान गर्छौं’ डीएसपी अर्यालले भने । प्रहरीका अनुसार गत १५ फागुन बिहीबार राति घरमा चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरथमाथि घरेलु औजारले आक्रमण गर्दा घाइते भएका थिए ।
चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका भरथले खाना खाइरहेकाे आमाबुबाकाे आँखामा खुर्सानीको धुलो छरेको थिए । त्यसपछि उनीहरूबिच केहीबेर घम्साघम्सी भएको थियो । छोराले खुर्सानीको धुलो छरी चोरी गर्न लाग्दा भ्लोन दम्पतीले भान्सामा प्रयोग हुने घरेलु सामानले प्रतिकार गर्दा दुबै पक्षबिच कुटाकुट हुँदा भरथको टाउकोमा चाेट लाग्दा ब्लड जमेकोमा गम्भीर घाइते भएका थिए । उनकाे उपचारको क्रममा १६ फागुनमा मृत्यु भएको थियाे । भ्लोन दम्पती मध्ये मिनबहादुरकाे हात, मुख र टाउकोमा चोट लागेकाेमा अवस्था मध्यम रहेकाे तथा देवीमायाकाे हात र आँखा नजिक चोट लागेकाेमा अवस्था मध्यम रहेकाे थियाे ।

