मकवानपुर । मकवानपुरकाे हेटौंडामा सुरु दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगितामा बानेश्वर फ्रेण्डसीप भेट्रान्स र बौद्ध भेट्रान्सले विजयी सुरुवात गरेका छन् ।
हेटौंडा भेट्रान्स क्लबकाे आयोजनामा बिहीबारबाट सुरु प्रतियाेगिताकाे उद्घाटन खेलमा बानेश्वर भेट्रान्सले वीरगंज सिटी भेट्रान्सलाई १–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेकाे हाे । बानेश्वरको तर्फबाट हरिहर थापाले गरेको १ मात्रै गोल निर्णायक बन्यो । उनले खेलकाे अन्तिम समयमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच थापा घोषित भएका थिए ।
यसैगरी बिहीबार नै भएकाे दोस्रो खेलमा बौद्ध भेट्रान्सले वीरगन्ज युथलाई २–० गोल अन्तरले पराजीत गर्यो । बौद्धको तर्फबाट उमन मोक्तान र राजु कोइरालाले समान १/१ गोल गरे । खेलमा कोइराला म्यान अफ द म्याच घोषित भए । यस्तै आजै भएको तेस्रो खेलमा एबीसी भेट्रान्स पोखरा र भुटनदेवी भेट्रान्स भएकाे खेलकाे निर्धारित समय गोल रहित बराबरी भएकाे थियाे । समय अभावका कारण आज विजयीकाे छिनाेफानाे हुन सकेन । उक्त २ टिमबिच शुक्रबार विहान ट्राईब्रेकर मार्फत विजयीकाे घाेषणा हुनेछ ।
यसैगरी प्रतियोगिता अन्तरगत शुक्रबार ४ खेल खेलाइने छ । पहिलो खेल फ्रिडम फाइटर र चितवन भेट्रान्स बिच दिउँसो १ बजे हुने छ भने दोस्रो खेल सिमरा भेट्रान्स र नागस्वती भेट्रान्स हेटौंडा बिच दिउँसो २ बजे हुने तालिका रहेको छ । यस्तै तेस्रो खेल बगर भाईखलक पोखर र एन.जे.जे.भीसी सिमरा बिच दिउँसो ३ बजे तथा चौथो खेल अपराह्न ४ बजे किङकम भेट्रान्स र बुटवल भेट्रान्स बिच हुने आयोजकले जनाएकाे छ ।
प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारकाे समेत व्यवस्था छ । सर्वश्रेष्ठ कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर विधामा पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक मणिराज गौतमले जानकारी दिए । उनका अनुसार विधागत उत्कृष्ठ हुनेलाई जनही ५ हजार रुपैंया नगद प्रदान गरिने छ । यस्तै प्रतियाेगिताकाे म्यान अफ द सिरिजले १० हजार रुपैंया प्राप्त गर्ने छन् ।
प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा हेटौंडा उपमहानगरपालिका रहेको छ भने सह प्रायोजकका रूपमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट रहेको आयोजक क्लब अध्यक्ष रमेश उप्रेतीले बताए । प्रतियोगितामा हेटौंडाकाे २ वटासहित १४ वटा भेट्रान्स क्लबकाे सहभागिता रहेकाे छ । २०७२ सालबाट रोटरी क्लव अफ मकवानपुरसँगको सहकार्यबाट सुरु गरिएको प्रतियोगिता २०७४ साल देखि हेटौंडा भेट्रान्स क्लब आयोजक भई हेटौंडा भेट्रान्स कप ८ ए साईड राष्ट्रिय फुटबल प्रतियोगीता संचालन हुँदै आएकाे संयोजक गौतमले जानकारी दिए ।
पछिल्लो समय फुटबल खेल क्षेत्रमा भेट्रान्स खेलाडीहरुको सक्रियता उत्साहजनक भईरहेको, देशैभर ४० वर्ष माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरु भेट्रान्स खेलमा आकर्षण बढ्दो रुपमा रहेकाे, ४० वर्ष माथि उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिताले देशैभर रौनकता थप्दै आएको अवस्थामा भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरुको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने उदेश्यले यो प्रतियाेगिता आयोजना गरिएकाे उप्रतीले जानकारी दिए ।
यसैबीच हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले भेट्रान्स प्रतियोगिताले पूर्व खेलाडीहरूको सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने बताएकी छिन् । प्रतियाेगिताकाे उद्घाटन गर्दै उनले युवा खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले प्रोत्साहन थप्ने बताइन् ।
बिहान तथा बेलुकाको समय व्यवस्थापन गर्दै खेलमा लगउान सके स्वस्थ्य बन्न सकिने उनले बताइन् । भेट्रान्स खेलले फुटबल खेलको विकासमा योगदान पुर्याउदै आएकाे बत्ताउदै उनले भनिन् ‘खेलाडीहरू बिच सुमधुर सम्बन्ध प्रगाढ बनाउँदै पुरानो सम्बन्धलाई नवीकरण गर्दै आएकाे छ ।’ हेटौडा भेट्रान्सले मकवानपुर जिल्लालाई खेल क्षेत्रबाट चिनाउन भूमिका खेलेको उनले बताइन् ।
प्रतियाेगिता उद्घाटनमा शिक्षाविद् पूरण बहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देललगायतका अन्य वडाका अध्यक्षहरु, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्षहरू बागमती प्रदेश फुटबल संगका महासचिव लवराज ठकुरी, निबर्तामान अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

