मकवानपुर । मकवानपुरकाे हेटौंडामा एसइई – २०८१ मा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थी, विद्यालय, ४ जीपीए ल्याउने विद्यालयलाई सम्मान गरिएकाे छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरले मंगलबार हेटौंडामा एक समारोहका बीच विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । एसइई २०८१ मा मकवानपुर जिल्लाका ४ वटा विद्यालयका ५ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देपकाेटाले ४ जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेका हुन् । यसैगरी संस्थागत र सामुदायिक दुबै विद्यालय र विद्यार्थीलाई सम्मान गरिएकाे प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीकाे अध्यक्षता तथा बागमती प्रदेश प्रमुख देवकोटाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो ।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण’ जनसांगीतिक कार्यक्रम हुने भएको छ ।
नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना एवम् राष्ट्रिय जनसांस्कृतिक महासङ्घ मकवानपुरको व्यवस्थापनमा आगामी साउन ७ गते स्वर समर्पण कार्यक्रम हुन भएकाे हाे । कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघकाे १४ वटा जनवादी गीतहरुको प्रस्तुति रहने बताइएकाे छ । यस्तै अनेरास्ववियु लगायत अन्य जनसंगठनहरुको समेत विशेष प्रस्तुती रहने जनसंगठन समन्वय संयन्त्र प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।
स्वर समर्पण (जनसाङ्गीतिक) साँझले नयाँ पुस्तालाई जनवादी गीत संगीत मार्फत नेपालको कम्युनिस्ट आन्दोलन, समाज र जीवनको बारेमा बुझाउने अपेक्षा आयोजकले दिएकाे छ । पौडेलले कार्यक्रमको तयारी पूरा भएकाे जानकारी दिए । जनसंगठन समन्यव संयन्त्र नेकपा एमालेको भातृ संगठनहरुको समन्वय र परिचालन गर्ने बैधानिक संरचना भएकाेले जनसंगठनहरुको प्रभावकारी परिचालन, बैचारिक राजनितिक प्रशिक्षण, जनतासँग जनसंगठन अभियान संचालन लगायत आधारभुत तहसम्म जनसंगठन बिस्तार र सुदृढीकरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले जानकारी दिए ।
कार्यक्रममा स्वयमसेवक ब्यवस्थापन र परिचालनको जिम्मेवारी पार्टी स्वयंसेवक विभागले लिएकाे छ । स्वयमसेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्सिय स्वयमसेवक ब्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएकाे छ । जनसंगठन समन्वय संयन्त्र र पार्टी जिल्ला स्वयमसेवक विभागको संयुक्त बैठकले संयोजक सहित उपसमितिमा विभागबाट ७ जना र नेकपा एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुई/दुई जना गरी २७ जनालाई चयन गरिएको छ । यसैगरी कार्यक्रम स्थल, डिजिटल प्रचार सामाग्री डिजाईन लगाएत अन्य प्राविधिक तयारीको जिम्मेवारी प्रोग्रेसिभ ईन्जिनियरिङ एशोशियनलाई दिइएकाे छ ।
बैठकमा जनसाँस्कृतिक महासंघका अध्यक्ष राजुराम राउतले साँस्कृतिक कार्यक्रम, जनवादी गीतको तयारीकाे जानकारी गराएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमाले भएको र यसका संस्थापक महासचिव पुष्पलालको योगदानलाई स्मरण गर्दै स्मृति दिवस भव्यताका साथ मनाउन पार्टीले आवश्यक तयारी गरेको एमाले जिल्ला सचिव सिता विष्टले बताइन् ।
१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार समेत स्थापना गरेको छ ।
समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलको सभाध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिव सिता विष्टको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टी जिल्ला सदस्य तथा स्वयमसेवक विभाग प्रमुख शिवहरी दाहाल, जिल्ला सदस्यहरु दिलु घर्ती, आकाश अधिकारी, सुमित्रा चौलागाईं लगायत जनसंगठनका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार जिल्ला विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उनीहरुको साथबाट प्रहरीले ६ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले आइतबार सार्वजनिक गरेकाे हाे । लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
प्रहरीले हेटौंडा–१ का २० वर्षीय सतिस लामा, हेटौंडा–५, सानोपोखराका २० वर्षीय सन्जिव लामा, भिमफेदी गाउँपालिका–२, कालिकाटार बस्ने १९ वर्षीया सन्ध्या पाख्रिन, मकवानपुरगढी गाउँपालिका–२, बाँसपानीकी १९ वर्षीया सन्ध्या घलानको साथबाट लागूऔषध खैरो हेरोइन २ ग्राम २१० मिलिग्राम बरामद गरेको जनाइएको छ । यसैगरी हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट ना ३७ प ६४४९ नम्बरको मोटरसाइकल चालक पर्सा जिल्लाको पोखरिया नगरपालिका–१, बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
यस्तै सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौंडा–९, लामसुरे बस्ने ३६ वर्षीय शैलेन्द्र चौधरी र सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, बनैनिया घर भई हाल जिल्ला हेटौंडा–१० बस्ने ३६ वर्षीय अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ । पक्राउ परेका सातै जनालाई लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट म्याद लिई कारवाही अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाले जिल्लास्तरीय शिक्षक नायक गोष्ठी गरेकाे छ । गोष्ठीमा जिल्लाका सामुदायिक तथा संस्थगत गरी ८५ वटा विद्यालयका शिक्षक नायकहरु सहभागी रहेका थिए ।
गोष्ठीले शैक्षिक संस्थामा रेडक्रसलाई अभियानको रूपमा संचालन गरि जुनियर/युवा सर्कल गठन तथा पुनर्गठन गर्ने, रेडक्रस परिचयात्मक गोष्ठी तथा पालिका स्तरीय प्राथमिक उपचार तथा विपद् व्यवस्थापन लगायतका विभिन्न तालिमहरु संचालन गर्ने निर्णय गरेको छ ।
भाद्र १३ र १४ गते अरनिको मावि हेटौंडा – १९ नेवारपानीको आतिथ्यतामा हुने जिल्ला जुनियर/युवा रेडक्रस गोष्ठीमा जिल्लाका सबै शैक्षिक संस्थाले सकृय सहभागीता जनाउने लगायत ६ वटा बिषयमा निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री शिवहरि दाहालले जानकारी दिए ।
गोष्ठीमा अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सन्दर्भमा सुमित्रा काफ्ले, नेपाल रेडक्रस अभियान बारे पिताम्बर बास्तोला, शिक्षक नायकको काम कर्तव्य सम्बन्धमा शिवहरि दाहाल, जुनियर युवा अभियानका विषयमा लक्ष्मण भट्टराईले सहजीकरण गरेका थिए । रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समिति सदस्य शिवहरि दाहालको अध्यक्षता तथा मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यता गोष्ठी भएकाे हाे ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयका प्रधानाध्यापकले आफ्नो जन्मदिनमा विद्यालयलाई हस्तान्तरण गरेका छन् । हेटौंडा – १६ स्थित जनप्रिय माध्यमिक विद्यालयका प्रअ भुपेन्द्र चौलागाईंले आफ्नो जन्मदिनमा १ सय ४५ थान पुस्तक विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
अघिल्ला वर्षहरूमा समेत जन्मदिनमा पुस्तक हस्तान्तरण गर्दै आएका चौलागाईंले उक्त पुस्तकहरू जनप्रिय रिडर्स क्लब मातहत रहनेगरी विद्यालयलाई उपलब्ध गराएका हुन् । जनप्रिय रिडर्स क्लबकी अध्यक्ष शिक्षा गौतमलाई प्रअ चौलागाईंले पुस्तक हस्तान्तरण गरेका थिए । हेटौंडा – १६ नम्बर वडा सदस्य गुरूप्रसाद ढकाल, विव्यस अध्यक्ष मोहनप्रसाद बस्ताकोटी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष गीताप्रसाद दुलाल, विभिन्न समितिका सदस्य तथा शिक्षकहरूको उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको हो ।
चौलागाईंले जनप्रियले चालेको अभियानले विद्यार्थीहरूको मानसिक क्षमतामा अभिवृद्धि गर्ने, पठन संस्कृतिले डिजिटल डिभाइसको अति प्रयोगलाई विस्थापन गर्ने, तार्किक क्षमतामा वृद्धि गर्दै वैयक्तिक विकासमा योगदान पुर्याउनेमा विश्वस्त रहेको बताए । अतिरिक्त विभाग संयोजक युक्तलाल विश्वकर्माले पुस्तकले सूचनासहित ज्ञानगुनका कुरा दिने बताउदै भविष्यको मार्गदर्शन गर्ने, विद्यार्थीहरूलाई धेरै सुन्न र थोरै अनि आवश्यक अनुसार बोल्न आग्रह गरे ।
साहित्य तथा बौद्धिक विभाग संयोजक संप्रस पौडेलले पठन संस्कृतिको खास रूप नै कक्षाको लाइब्रेरी रहेकोले पुस्तकहरू कक्षा-कक्षामैं रहनेगरी उपहार प्राप्त हुने क्रम बढ्दै गएको बताए । उनले भने ‘विद्यालयलाई पुस्तक उपहार प्राप्त हुँदा विद्यार्थीहरूमा पढ्ने र त्यसबारे छलफल गर्ने आनिबानीको विकास भएको छ ।’ पढ्ने तथा छलफल गर्ने बानीले निडर भएर बोल्ने क्षमताका साथै लेखनसीपमा सकारात्मक सुधार हुँदै गएको उनले बताए ।
विद्यालयका विभिन्न कक्षाहरूमा रहेको बुक र्याकमा पुस्तक राख्ने उद्देश्यले ‘एक व्यक्ति एक पुस्तक हस्तान्तरण कार्यक्रम’ अन्तर्गत शिक्षक, अभिभावक, विद्यार्थी, साहित्यकार, साहित्यसेवीहरूमार्फत् पुस्तक उपलब्ध भइरहेको विद्यालयले जनाएको छ । पौडेलका अनुसार विद्यार्थीहरूले खाली घण्टीमा अध्ययन गर्ने, घरमा लगी अध्ययन गर्ने गरेका छन् । गत वर्षदेखि पुस्तक पढेपश्चात् त्यसबारे समीक्षा समेत गर्ने गरिएको उनले जानकारी दिए।