मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयका प्रधानाध्यापकले आफ्नो जन्मदिनमा विद्यालयलाई हस्तान्तरण गरेका छन् । हेटौंडा – १६ स्थित जनप्रिय माध्यमिक विद्यालयका प्रअ भुपेन्द्र चौलागाईंले आफ्नो जन्मदिनमा १ सय ४५ थान पुस्तक विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
अघिल्ला वर्षहरूमा समेत जन्मदिनमा पुस्तक हस्तान्तरण गर्दै आएका चौलागाईंले उक्त पुस्तकहरू जनप्रिय रिडर्स क्लब मातहत रहनेगरी विद्यालयलाई उपलब्ध गराएका हुन् । जनप्रिय रिडर्स क्लबकी अध्यक्ष शिक्षा गौतमलाई प्रअ चौलागाईंले पुस्तक हस्तान्तरण गरेका थिए । हेटौंडा – १६ नम्बर वडा सदस्य गुरूप्रसाद ढकाल, विव्यस अध्यक्ष मोहनप्रसाद बस्ताकोटी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष गीताप्रसाद दुलाल, विभिन्न समितिका सदस्य तथा शिक्षकहरूको उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको हो ।
चौलागाईंले जनप्रियले चालेको अभियानले विद्यार्थीहरूको मानसिक क्षमतामा अभिवृद्धि गर्ने, पठन संस्कृतिले डिजिटल डिभाइसको अति प्रयोगलाई विस्थापन गर्ने, तार्किक क्षमतामा वृद्धि गर्दै वैयक्तिक विकासमा योगदान पुर्याउनेमा विश्वस्त रहेको बताए । अतिरिक्त विभाग संयोजक युक्तलाल विश्वकर्माले पुस्तकले सूचनासहित ज्ञानगुनका कुरा दिने बताउदै भविष्यको मार्गदर्शन गर्ने, विद्यार्थीहरूलाई धेरै सुन्न र थोरै अनि आवश्यक अनुसार बोल्न आग्रह गरे ।
साहित्य तथा बौद्धिक विभाग संयोजक संप्रस पौडेलले पठन संस्कृतिको खास रूप नै कक्षाको लाइब्रेरी रहेकोले पुस्तकहरू कक्षा-कक्षामैं रहनेगरी उपहार प्राप्त हुने क्रम बढ्दै गएको बताए । उनले भने ‘विद्यालयलाई पुस्तक उपहार प्राप्त हुँदा विद्यार्थीहरूमा पढ्ने र त्यसबारे छलफल गर्ने आनिबानीको विकास भएको छ ।’ पढ्ने तथा छलफल गर्ने बानीले निडर भएर बोल्ने क्षमताका साथै लेखनसीपमा सकारात्मक सुधार हुँदै गएको उनले बताए ।
विद्यालयका विभिन्न कक्षाहरूमा रहेको बुक र्याकमा पुस्तक राख्ने उद्देश्यले ‘एक व्यक्ति एक पुस्तक हस्तान्तरण कार्यक्रम’ अन्तर्गत शिक्षक, अभिभावक, विद्यार्थी, साहित्यकार, साहित्यसेवीहरूमार्फत् पुस्तक उपलब्ध भइरहेको विद्यालयले जनाएको छ । पौडेलका अनुसार विद्यार्थीहरूले खाली घण्टीमा अध्ययन गर्ने, घरमा लगी अध्ययन गर्ने गरेका छन् । गत वर्षदेखि पुस्तक पढेपश्चात् त्यसबारे समीक्षा समेत गर्ने गरिएको उनले जानकारी दिए।

