मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाले आर्थिक वर्ष २०८१/८२ मा भए गरेका कार्यहरुकाे विवरण सार्वजनिक गरेको छ ।
भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, युवाको क्षमता अभिवृद्धि र सांस्कृतिक प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको सार्वजनिक विवरणमा जनाएकाे छ । संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्य, साथै वडाको आफ्नै पहल र बजेटमार्फत थुप्रै योजना सफलतापूर्वक कार्यान्वयन गरिएकाे सार्वजनिक गरिएकाे छ ।
“हामी काममा विश्वास गर्छौं” भन्ने नारालाई व्यवहारमा उतार्छौं भन्दै वडाध्यक्ष नवीन सिग्देलले सामाजिक संजाल फेसबुक मार्फत आर्थिक वर्ष २०८१/८२ मा वडा मार्फत कार्यान्वयनमा ल्याइएकाे ३२ वटा भौतिक योजना लगायतका काम सफलता पुर्वक सम्पन्न भएकाे जानकारी दिएका हुन् ।
वडाध्यक्षले सार्वजनिक गरेकाे सम्पन्न कार्यहरुमा बुद्धपथ, रजत जयन्ती सडक, हुप्र पूर्वी क्षेत्र, गर्दोही भित्री सडक, गिरी टोल, नगरविकास क्षेत्रलगायत स्थानहरूमा सडक कालोपत्रे, स्तरीकरण, ढल निकास र सडक पेटी निर्माण कार्य रहेका छन्। यसैगरी श्रमिक माविको नयाँ भवन, आधुनिक माविमा पर्खाल र क्यान्टिन निर्माण, श्रमिक पार्क तथा बालउद्यानको स्तरीकरण, नगरविकास क्षेत्रमा टाइल र मार्किङ र भुटनदेवी माविको प्रांगणमा निर्माण गरिएको घरेलु उत्पादन बिक्री तथा प्रदर्शनी भवन यस वर्षका प्रमुख उपलब्धिहरू रहेकाे उनले जनाएका छन् ।
सामाजिक र जनसरोकारका क्षेत्रमा पनि वडाकाे उपस्थिति उल्लेख रहेकाे उनले जानकारी दिए । डेङ्गु रोगविरुद्ध सचेतना कार्यक्रम, निःशुल्क मुटु तथा आँखाको शिविर, लागू औषधविरुद्ध अभियान, साइबर क्राइमसम्बन्धी तालिम, महिला हिंसा विरुद्धको १६ दिने कार्यक्रम, धूप बनाउने सीपमूलक तालिम, जेष्ठ नागरिकको धार्मिक भ्रमणलगायतका कार्यक्रमहरू वडावासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी सञ्चालन गरिएकाे उनकाे भनाइ छ।
शैक्षिक क्षेत्रमा एक महिनासम्म सञ्चालन गरिएको बृहत् वडा स्तरीय खेलकुद महोत्सव वडाले आयोजना गरेको छ । उक्त खेलकुद महाेत्सवमा तीन हजारभन्दा बढी विद्यार्थी सहभागी भएकाे समेत उल्लेख गरिएकाे छ । उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ भने श्रमिक माविकाे छात्रवृत्ति कोषमा पाँच लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। बालमैत्री वडा घोषणा, पाठ्यक्रम प्रवोधीकरण, शैक्षिक अन्तरक्रिया, बुटवल र चित्लाङमा शैक्षिक भ्रमणजस्ता कार्यक्रमहरू पनि प्रभावकारी रूपमा सम्पन्न भएकाे वडाध्यक्षले सिग्देलले जानकारी दिए ।
वडाले कला, साहित्य र संस्कृतिको प्रवर्द्धनमा पनि सहयोग गर्दै आएकाे उनले बताए । गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम, नवसर्जक महोत्सव, गजल र मुक्तक प्रतियोगिता तथा गायक जीवन शर्मा र बद्रि पंगेनी कलाकारहरूको प्रस्तुति आयोजनाले स्थानीय प्रतिभा र साङ्गीतिक चेतनालाई थप उत्साहित बनाएको उनले उल्लेख गरेका छन् । “विकास भनेको केवल भौतिक निर्माण मात्र नभएकाे बताउँदै अध्यक्ष सिग्देलले भने “हामी हेटौंडा-४ लाई समावेशी, आत्मनिर्भर र उदाहरणीय वडा बनाउन तत्पर छौं।”
वडाध्यक्ष सिग्देलले वर्षभरि भएका यी गतिविधिहरूमा सहयोग गर्ने सबै सरकारी निकाय, संघसंस्था, विद्यालय, समुदाय, कर्मचारी र वडावासीप्रति आभार समेत व्यक्त गरेका छन्। आगामी दिनमा वडालाई अझ पारदर्शी, सहभागी र जनमुखी बनाउँदै समावेशी र आत्मनिर्भर मोडलमा विकास गर्ने प्रतिबद्धता अध्यक्ष सिग्देलले जनाएका छन्।


