मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार जिल्ला विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उनीहरुको साथबाट प्रहरीले ६ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले आइतबार सार्वजनिक गरेकाे हाे । लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
प्रहरीले हेटौंडा–१ का २० वर्षीय सतिस लामा, हेटौंडा–५, सानोपोखराका २० वर्षीय सन्जिव लामा, भिमफेदी गाउँपालिका–२, कालिकाटार बस्ने १९ वर्षीया सन्ध्या पाख्रिन, मकवानपुरगढी गाउँपालिका–२, बाँसपानीकी १९ वर्षीया सन्ध्या घलानको साथबाट लागूऔषध खैरो हेरोइन २ ग्राम २१० मिलिग्राम बरामद गरेको जनाइएको छ । यसैगरी हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट ना ३७ प ६४४९ नम्बरको मोटरसाइकल चालक पर्सा जिल्लाको पोखरिया नगरपालिका–१, बनकटवाका २७ वर्षीय अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
यस्तै सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौंडा–९, लामसुरे बस्ने ३६ वर्षीय शैलेन्द्र चौधरी र सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, बनैनिया घर भई हाल जिल्ला हेटौंडा–१० बस्ने ३६ वर्षीय अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ । पक्राउ परेका सातै जनालाई लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट म्याद लिई कारवाही अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।

