मकवानपुर । गजल मञ्च मकवानपुरले शनिबार आयोजना गरेकाे २ सय २६ औं गजल यात्रामा चितवनका गजलकार रामकृष्ण अनायसको गजल सङ्ग्रह ‘अनायस’ काे विमर्श गरिएकाे छ ।
गजल मञ्च चितवनका अध्यक्ष समेत रहेका अनायासकाे गजल संग्रहमाथि झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेल र गजल मञ्च चितवनका पूर्वअध्यक्ष रमेश प्रभातले आफ्नो धारणा राखेका थिए । युवा गजलकार सञ्जेलले रामकृष्णका गजलमा युवावयका कथालाई समेटिएकाे बताए । गजलहरु समसामयिक विषयमा लेखेकाे बताउँदै सञ्जेलले भने अनायासका गजलले बेथितिमाथि प्रहार पनि गरेका छन् । प्रणय रसका साथै समसामयिक राजनीतिलाई कटाक्ष गरिएको छ ।
त्यसैगरी गजल मञ्च चितवनका पूर्व अध्यक्ष एवम् समालोचक रमेश प्रभातले अनायास गजलसङ्ग्रहको सफलताको कामना गर्दै नेपाली गजल लेखन परम्पराको चर्चा गरे । गजल मञ्च चितवनले प्रकाशन गरेको रामकृष्ण अनायसको गजल संग्रहमा ७० वटा गजलहरु समेटिएका छन् । अनायासका यसअघि ‘अनायसका पानाहरु’ इ–गजल संग्रह र ‘धमिलिएका डोबहरु’ सवाल जवाफ गजल संग्रह प्रकाशित भइसकेका छन् ।
गजल यात्रामा चितवनका रामकृष्ण अनायस तथा लेखराम सापकाेटासहित मकवानपुरका देवराज तिवारी, डिबी बर्तौला, सागर तिमल्सिना, अनुसुया खनाल, स्वस्तिका बानियाँ, स्वस्तिका दाहाल, राम कार्की, सागर तिमिल्सिना, मिथिला अधिकारी, मुना अर्याल, सानु खनाल, मनोज मधुरलगायतले गजल वाचन गरेका थिए ।
कार्यक्रममा गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी.बी. बर्ताैलाले चितवन र मकवानपुरबीचको साहित्यिक सम्बन्ध अझ सुदृढ बनाउन यस्ता कार्यक्रमकाे आवश्यकता रहेकाे बताए । मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको अध्यक्षतामा भएकाे गजल यात्राकाे सहजीकरण कमल नेपाल र गौरी कँडेलले गरेका थिए ।

