मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण’ जनसांगीतिक कार्यक्रम हुने भएको छ ।
नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना एवम् राष्ट्रिय जनसांस्कृतिक महासङ्घ मकवानपुरको व्यवस्थापनमा आगामी साउन ७ गते स्वर समर्पण कार्यक्रम हुन भएकाे हाे । कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघकाे १४ वटा जनवादी गीतहरुको प्रस्तुति रहने बताइएकाे छ । यस्तै अनेरास्ववियु लगायत अन्य जनसंगठनहरुको समेत विशेष प्रस्तुती रहने जनसंगठन समन्वय संयन्त्र प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।
स्वर समर्पण (जनसाङ्गीतिक) साँझले नयाँ पुस्तालाई जनवादी गीत संगीत मार्फत नेपालको कम्युनिस्ट आन्दोलन, समाज र जीवनको बारेमा बुझाउने अपेक्षा आयोजकले दिएकाे छ । पौडेलले कार्यक्रमको तयारी पूरा भएकाे जानकारी दिए । जनसंगठन समन्यव संयन्त्र नेकपा एमालेको भातृ संगठनहरुको समन्वय र परिचालन गर्ने बैधानिक संरचना भएकाेले जनसंगठनहरुको प्रभावकारी परिचालन, बैचारिक राजनितिक प्रशिक्षण, जनतासँग जनसंगठन अभियान संचालन लगायत आधारभुत तहसम्म जनसंगठन बिस्तार र सुदृढीकरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले जानकारी दिए ।
कार्यक्रममा स्वयमसेवक ब्यवस्थापन र परिचालनको जिम्मेवारी पार्टी स्वयंसेवक विभागले लिएकाे छ । स्वयमसेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्सिय स्वयमसेवक ब्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएकाे छ । जनसंगठन समन्वय संयन्त्र र पार्टी जिल्ला स्वयमसेवक विभागको संयुक्त बैठकले संयोजक सहित उपसमितिमा विभागबाट ७ जना र नेकपा एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुई/दुई जना गरी २७ जनालाई चयन गरिएको छ । यसैगरी कार्यक्रम स्थल, डिजिटल प्रचार सामाग्री डिजाईन लगाएत अन्य प्राविधिक तयारीको जिम्मेवारी प्रोग्रेसिभ ईन्जिनियरिङ एशोशियनलाई दिइएकाे छ ।
बैठकमा जनसाँस्कृतिक महासंघका अध्यक्ष राजुराम राउतले साँस्कृतिक कार्यक्रम, जनवादी गीतको तयारीकाे जानकारी गराएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमाले भएको र यसका संस्थापक महासचिव पुष्पलालको योगदानलाई स्मरण गर्दै स्मृति दिवस भव्यताका साथ मनाउन पार्टीले आवश्यक तयारी गरेको एमाले जिल्ला सचिव सिता विष्टले बताइन् ।
१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार समेत स्थापना गरेको छ ।
समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलको सभाध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिव सिता विष्टको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टी जिल्ला सदस्य तथा स्वयमसेवक विभाग प्रमुख शिवहरी दाहाल, जिल्ला सदस्यहरु दिलु घर्ती, आकाश अधिकारी, सुमित्रा चौलागाईं लगायत जनसंगठनका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

