मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने भएकाे छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयकाे प्रवर्धनमा सिस्नुपानी मकवानपुरले उक्त कार्यक्रम ४ भदौमा हेटौंडामा गर्ने भएकाे हाे ।
संस्थाका अध्यक्ष संप्रस पौडेलले समाजमा रहेका बेथिति र विसङ्गतिविरूद्ध साहित्य सिर्जना गर्दै आइरहेको संस्थाले १ दर्जन बढी कलाकारहरूमार्फत् विविध हास्यव्यङ्ग्यात्मक प्रस्तुतिहरू प्रस्तुत गर्ने बताए ।
वडाध्यक्ष नवीन सिग्देलले हास्यव्यङ्ग्य सिर्जनाले कमजोरीहरूलाई सुधार्नका लागि प्रेरणा मिल्ने र जनताको आवाजलाई व्यङ्ग्यका साथसाथै रमाइलो अनि ठट्यौली शैलीमा मुखतरित गर्ने बताए । ‘अघिल्ला वर्ष भएकाे कार्यक्रम उपलब्धी मुलक भएकाेले यो वर्ष समेत निरन्तरता पाएकाे छ’ उनले भने ।
कार्यक्रममा प्यारोडी गायन, व्यङ्ग्य प्रहसन, नाचलगायत विविध हास्यव्यङ्ग्य प्रस्तुतिहरू रहने संस्थाका सचिव सुमार्गी हुमागाईंले बताए ।साहित्यको उन्नयनमा होस्टेमा हैंसे गर्दा समग्र हेटौंडाकै र नेपालको साहित्यमाथि नै लगानी हुने र त्यसले साहित्यिक क्षेत्रमा ठुलो टेवा पुगेको उनले जानकारी दिए ।
४ नम्बर वडाले विगतदेखि नै सिस्नुपानीलगायतका अन्य संस्थाहरूमार्फत् साहित्य लेखन कार्यशाला, रचना वाचन, प्रतियोगिता, साहित्यकार तथा कलाकार सम्मान गरिरहेको छ । वडाले शिक्षामा समेत यथेष्ट लगानी गरिरहेकाेले सर्वाधिक शिक्षित जनसङ्ख्या रहेको वडाका रूपमा परिचित रहेको बताइएकाे छ । साहित्य सिर्जना जोसुकैले गर्न नसक्ने र सिर्जना गर्नेहरूलाई हौसला दिनुपर्ने भन्दै यस्ता काममा अन्य वडाहरूलाई समेत हातेमालो गर्न समेत सिस्नुपानीले आग्रह गरेकाे छ ।
४ नम्बर वडा कार्यालयको प्रवर्धनमा हुने कार्यक्रम हेटौंडा ४ स्थित ओम्याक्स सिनेमा हलमा आयोजना हुने आयोजकले जनाएकाे छ । कार्यक्रममा प्रवेश पासकाे व्यवस्था गरिएकाेले सिस्नुपानी तथा वडा कार्यालयमा सम्पर्क गर्न सकिने वडा सचिव आरपी गुरागाईंले जानकारी दिए ।
यसअघि राष्ट्रव्यापि कविता प्रतियोगिता, हास्यव्यङ्ग्यात्मक गाईजात्रा, देउसीभैलो, कार्टुन प्रदर्शनी, हास्यव्यङ्ग्यकार सम्मान तथा रचना वाचनलगायतका विविध कार्यक्रमहरू गर्दै आइरहेको सिस्नुपानी मकवानपुर सिस्नुपानी नेपाल(केन्द्र) काे पहिलो जिल्ला शाखा हो ।
मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले शुक्रबार कवि रोश्नी चौलागाईंको एकल कविता वाचन एवं विमर्श कार्यक्रम गरेको छ । कवि रोश्नी चौलागाईंले हेटौंडामा भएको कार्यक्रममा दुई चरणमा गरी आधा दर्जन कविता सुनाइन् ।
नवसर्जक साहित्य चौतारी बागमती प्रदेशकी निवर्तमान अध्यक्ष चौलागाईंको कवितामाथि कवि शान्ति प्रियवन्दनाले विमर्श गरेकी थिइन् । मकवानपुरे अग्रज साहित्यकार आर.सी. रिजालले आगामी साहित्यिक यात्राका लागि कवि चौलागाईंलाई शुभकामना दिदैं कविता सुनाएका थिए । नवसर्जक साहित्य चौतारी नेपालका केन्द्रीय सल्लाहकार रमेशमोहन अधिकारीले कवि चौलागाईंको नवसर्जकसँगको यात्रा निरन्तर कायम राख्दै आगामी शैक्षिक र साहित्यिक यात्राको शुभकामना दिएका थिए ।
चौतारीकी केन्द्रीय अध्यक्ष कृतिका लौडारीको अध्यक्षता तथा अग्रज साहित्यकार आर.सी. रिजालकाे प्रमुख आतिथ्यमा आयोजना गरिएकाे चौलागाईंको एकल कविता वाचन एवं विमर्श कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका केन्द्रीय सल्लाहकार डी.बी. बर्तौला, साहित्यकार तुलसी घिमिरे, जनार्दन खनाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, हास्यव्यंग्यकार/अग्रज साहित्यकार राजकुमार लामिछाने, साहित्यकारहरु राजुराम राउत, सम्प्रस पौडेल, सानु खनाल, संजित श्रेष्ठ, छवि अनित्य, एस.आर. मन्जरी, सागर तिमल्सिना, भावना सापकोटालगायत मकवानपुरका साहित्यकारहरुको उपस्थितिमा रहेकाे थियाे ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले गोकर्ण लामाकाे विशेष मुक्तक वाचन कार्यक्रम गरेको छ । मञ्चकाे २६ औं शृङ्खलामा लामाले बुधबार हेटौंडामा मुक्तक सुनाएका हुन् ।
मुक्तक मञ्च मकवानपुरका संस्थापक सचिव समेत रहेका लामाले केही प्रेमिल मुक्तक सहित बेरोजगारका पीडा, राजनीतिक व्यङ्ग्य, विदेशमा रहँदाकाे पीडावोध भावका मुक्तक सुनाएका थिए ।
रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका लामा विदामा एक महिना अघि नेपाल आएका हुन् । गोकर्णले विदेशमा रहँदा पनि लेखन कार्यलाई जारी राखेको बताउँदै कार्यक्रममा साहित्य लेखन, पत्रकारिताको अभ्यासको स्मरण समेत गरे ।
लामा नेपाल आउनु भएकाे मौकामा मुक्तक वाचन कार्यक्रम राखिएकाे मञ्च अध्यक्ष सागर तिमल्सिनाले बताए । गोकर्णले वाचन गरेका मुक्तकको साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले समीक्षात्मक टिप्पणी गरेका थिए ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा अग्रज साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा अन्य मुक्तककारले प्रतिनिधि मुक्तक सुनाएका थिए ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका-५ बुङदलमा मानबहादुर शिवभक्तीले घाँटी थिचेर श्रीमतीकाे हत्या गरेका हुन् ।
माइतीमै बस्दै आएकी ४० वर्षीय दुर्गालक्ष्मी शिवभक्तीलाई शनिबार बिहान ४५ वर्षीय मानबहादुरले हत्या गरेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । दुर्गालक्ष्मी उच्च रक्तचापका कारण प्यारालाइसिस भइ बोल्न समेत नसक्ने अवस्थामा रहेकाे बताइएकाे छ । दुर्गालक्ष्मीको हत्या गरी मानबहादुरले आत्महत्या प्रयास समेत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मानबहादुरले आत्महत्या गर्न प्रयोग गरेको डोरी चुँडिएपछि प्रहरी समक्ष आत्मसमर्पण गरेकाे मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएकाे छ ।
मकवानपुर । मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आइतबार भएकाे दुर्घटनामा स्कुटरमा सवार अर्का एक जान गम्भीर घाइते भएका छन् ।
आइतबार दिउँसो पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर – ७ रमनटारमा ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौडा तर्फ आउँदै बागमती प्रदेश ०३-०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियो । ट्रककाे ठक्करबाट स्कुटर चालक चितवन भरतपुर महानगरपालिका-११ बस्ने ५२ वर्षीय मोति बहादुर क्षेत्रीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा घाइते भएका क्षेत्रीको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हाे । त्यसैगरी स्कुटरमा सवार भरतपुर महानगरपालिका ९ सरतपुरकी ३७ वर्षीय नरमाया गुरूङ घाइते भएकी छिन् । घाइते गुरुङकाे पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेकाे प्रहरीले जनाइएको छ ।
स्कुटरलाई ठक्कर दिने ट्रक र चालक सप्तरी बाेदेबरसाइन नगरपालिका २ बस्ने ३५ वर्यीय अशोक यादव इलाका प्रहरी कार्यालय मनहरीकाे नियन्त्रणमा रहेकाे बताइएकाे छ ।