मकवानपुर । मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आइतबार भएकाे दुर्घटनामा स्कुटरमा सवार अर्का एक जान गम्भीर घाइते भएका छन् ।
आइतबार दिउँसो पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर – ७ रमनटारमा ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौडा तर्फ आउँदै बागमती प्रदेश ०३-०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियो । ट्रककाे ठक्करबाट स्कुटर चालक चितवन भरतपुर महानगरपालिका-११ बस्ने ५२ वर्षीय मोति बहादुर क्षेत्रीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा घाइते भएका क्षेत्रीको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हाे । त्यसैगरी स्कुटरमा सवार भरतपुर महानगरपालिका ९ सरतपुरकी ३७ वर्षीय नरमाया गुरूङ घाइते भएकी छिन् । घाइते गुरुङकाे पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेकाे प्रहरीले जनाइएको छ ।
स्कुटरलाई ठक्कर दिने ट्रक र चालक सप्तरी बाेदेबरसाइन नगरपालिका २ बस्ने ३५ वर्यीय अशोक यादव इलाका प्रहरी कार्यालय मनहरीकाे नियन्त्रणमा रहेकाे बताइएकाे छ ।

