मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका-५ बुङदलमा मानबहादुर शिवभक्तीले घाँटी थिचेर श्रीमतीकाे हत्या गरेका हुन् ।
माइतीमै बस्दै आएकी ४० वर्षीय दुर्गालक्ष्मी शिवभक्तीलाई शनिबार बिहान ४५ वर्षीय मानबहादुरले हत्या गरेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । दुर्गालक्ष्मी उच्च रक्तचापका कारण प्यारालाइसिस भइ बोल्न समेत नसक्ने अवस्थामा रहेकाे बताइएकाे छ । दुर्गालक्ष्मीको हत्या गरी मानबहादुरले आत्महत्या प्रयास समेत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मानबहादुरले आत्महत्या गर्न प्रयोग गरेको डोरी चुँडिएपछि प्रहरी समक्ष आत्मसमर्पण गरेकाे मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएकाे छ ।

